सोमबार, ०३ असार २०८१
ताजा लोकप्रिय

जीर्ण पुल बनाउन स्थानीय सरकार उदासीन, गाउँले चिन्तित

शनिबार, १२ जेठ २०८१, ११ : ३०
शनिबार, १२ जेठ २०८१
  • दान बहादुर बुढा

मुगु । मुगुको सोरु गाउँपालिका कुलाहास्थित झोलुङ्गे पुल लामो समयदेखि जीर्ण रहँदा स्थानीयले सास्ती खेप्दै आएका छन् ।  पुल जीर्ण रहँदा कालैया, खनाया, जिमा, पुरुमुरुका साथै सोरु गाउँपालिकाका बासिन्दा जोखिम मोलेरै धराप पुलबाट वारपार गर्न बाध्य छन् । 

मुगुको कर्णाली नदीमाथि जिमा र कालैया जोड्ने पुल २०३९ सालमा निर्माण गरिएको हो । चार दशक पुरानो पुलमा जोखिम बढेकै तीन वर्ष भैसकेको छ । तर यसबारे तीनै तहका सरकार बेखबर जस्तै देखिन्छन् । 

सोरु गाउँपालिकाको केन्द्र पुग्न यसै पुलमार्फत स्थानीय आउजाउ गर्छन् । हिउँदमा जसोतसो नदी पार गर्न सकिने भए पनि बर्खा याममा कसरी घाँस दाउरा गर्ने भन्ने चिन्ता परेको सुनाउँछिन् कालै गाउँकी ताल्मा नेपाली ।

ताल्माले भनिन्, ‘‘टाढाबाटै हेर्दा पुल डरलाग्दो छ । एकजनाभन्दा बढीले एकैपटक पुल तर्न सकिँदैन। हिँडाइको सन्तुलन मिलेन भने नदीमा खसिने डर । खेतबारी पारिपट्टि छन्, सधैँ घाँसदाउरा गर्नुपर्छ । भारी बोकेर आउँदा मनमा चिसो पसिरहन्छ । यो बर्खा कसो गरी कटाउने हुन् ।”

पुल जीर्ण भएकै कारण गाइवस्तु चराउन समस्या हुने गरेको उनको भनाई छ । पुलमा बिछ्याइएका पाता धेरैजसो उप्किएकाले त्यसमा बालबालिका अल्झेलान् भन्ने त्रासले स्थानीयलाई सधैँ सताउने गरेको नेपालीले सुनाइन् । 

सोरु गाँउपालिका वडा नम्बर– ६ का मान प्रसाद भट्ट पनि पुल जीर्ण बन्दा सास्ती खेप्नुपरेको सुनाउँछन् । 

‘जिमा र कालै जोड्ने एकमात्र पुलको अवस्था यस्तो जोखिमपूर्ण छ । यी दुवै ठाउँका स्थानीयलाई यही एउटा पुलले जोडेको छ । हिउँदमा जीर्ण पुलको प्रयोग गर्न स्थानीय र गाईवस्तुलाई डर कम भए पनि अब बर्खा सुरु भएपछि कहालीलाग्दो हुन्छ । कर्णाली नदीको बहाव बढ्दा पनि जोखिम मोलेर तीन वर्षदेखि यही पुलबाट आवतजावत गरिरहेका छौँ । कसैले सुन्दैनन् हाम्रा समस्या,’ भट्टले दुखेसो पोखे । 

स्थानीय सोरु गाउँपालिकाको केन्द्र जाने मुख्य सेतु नै यही हो । पालिकाको सेवा लिन, बैंकको काम गर्न देखि वृद्धाभत्ता लिन जाने ज्येष्ठ नागरिकले समेत पुलकै कारण सास्ती खेप्नुपरेको छ । तर, छेउमै रहेको स्थानीय सरकारले नागरिकको समस्या देखेर पनि नदेखे झैँ गरिरहेको स्थानीय धर्मराज चौलागाँईले गुनासो गरे । 

जीर्ण पुल मर्मतका लागि प्रदेश सरकार देखि स्थानीय तह सम्मको ध्यानाकर्षण गराए पनि पुल निर्माणमा कसैको चासो नगएको उनले बताए । 

तर, आँगनको समस्या समाधान गर्नमा भन्दा स्थानीयलाई नयाँ पुलको आशा देखाएर स्थानीय सरकार समस्याप्रति बेखबर जस्तै बनेको छ । पालिकाले नयाँ पुल निर्माण आफ्नो चासोमा रहेको उल्लेख गरी जनतालाई आश्वासन मात्रै दिने गरेको स्थानीय बताउँछन् ।  

सोरु गाउँपालिकाले उक्त पुलको मर्मत सम्भार गर्न नसकिने निष्कर्ष निकालेको छ । तर, जोखिमपूर्ण यात्रा गर्न स्थानीय बाध्य छन् । गाउँपालिकाले सोही पुलको आसपास नयाँ पुल निर्माण गर्न सर्वे गरी सकिएको बताए पनि निर्माणका लागि बजेट छुट्याएको छैन । 

‘यो पुललाई मर्मत गर्न हामी सबैको चासो भएकै कारण प्राविधिक परीक्षण र अध्ययन गराएका थियौँ । परीक्षणबाट प्राविधिक टोलीले पुल मर्मत गरी सञ्चालन गर्न नहुने ठहर गर्दै प्रतिवेदन बझायो,’ सोरु गाउँपालिका उपाध्यक्ष केशर जङ्ग शाहीले बताए । 

उनले थपे, ‘पुल महाशाखाबाट यही पुलको आसपास अर्को नयाँ पुल निर्माण गर्न सर्वे गराइसकिएको छ । यो जीर्ण पुललाई मर्मत गरी सञ्चालनमा ल्याउने सम्भावना छैन। त्यसैले नयाँ पुल निर्माण गर्ने विषयलाई पालिकाले सोचिरहेको छ ।’

जिल्लाभर कतिपय पञ्चायतकालमा र कतिपय त्यसपछि निर्माण भएका साना ठुला गरी ६५ झोलुङ्गेपुल निर्माण भएका छन् । २ वर्ष पहिला असोज महिनामा परेको अविरल वर्षाका कारण मुगु जिल्लामा रहेका चारै स्थानीय तहमा १३ झोलुङ्गे पुलमा क्षति पुर्‍याएको थियो । 

बर्खायाममा आउने बाढी र पहिरोका कारण कतिपय पुलहरूमा क्षति पुग्दा समेत सरोकारवालाले मर्मतमा ध्यान नदिएकै कारण पुल झन् जीर्ण बन्दै गएको जिल्ला समन्वय समितिका मुगुका समन्वय प्रमुख मञ्जन बहादुर कार्की बताउँछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप