मङ्गलबार, ०४ असार २०८१
ताजा लोकप्रिय

टी–२० विश्वकप : नामिबियाविरुद्धको अभ्यास खेलमा अस्ट्रेलियासँग केवल नौ खेलाडी

प्रशिक्षण टोलीका सदस्यलाई फिल्डिङका लागि मैदानमा ओराल्ने सम्भावना
सोमबार, १४ जेठ २०८१, १४ : ५८
सोमबार, १४ जेठ २०८१

काठमाडौँ । अस्ट्रेलियन टोली पनि अहिले आईसीसी टी–२० विश्वकपको अन्तिम तयारीमा जुटेको छ । अस्ट्रेलियन टोलीका अधिकांश खेलाडी वेस्ट इन्डिज पुगिसकेका छन् । तर, केही खेलाडी अझै वेस्ट इन्डिज पुग्न बाँकी छ ।

टी–२० विश्वकपको नवौँ संस्करण जुन १ देखि २९ तारिखसम्म अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रूपमा आयोजना हुँदैछ । विश्वकप सुरु हुनुअघि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले प्रत्येक टोलीका लागि दुई–दुईवटा अभ्यास खेल खेल्ने तालिका सार्वजनिक गरेको छ ।

यसै क्रममा अस्ट्रेलियाले आफ्नो पहिलो अभ्यास खेल मे २९ तारिखमा नामिबियासँग खेल्नेछ । उक्त खेल क्यारेबियन राष्ट्र ट्रिनिडाडको पोर्ट अफ स्पेनस्थित क्विन्स पार्क ओभलमा खेलिने छ । तर, त्यो अभ्यास खेलका लागि अस्ट्रेलियन टोलीमा आवश्यक खेलाडीको सङ्ख्या नै नपुग्ने देखिएको छ ।

कतिपय अस्ट्रेलियन खेलाडी सोमबारसम्म भारतमै छन् । उनीहरू इन्डियन प्रिमियर लिग (आईपीएल) को फाइनल खेल्न भारतमा रहेका हुन् । आईपीएलको फाइनल खेल आइतबार राति सकिएको छ । फाइनलमा कोलकाता नाइट राइडर्सले सनराइजर्स हैदराबादलाई हराएको थियो ।

त्यसपछि भारतमा रहेका अस्ट्रेलियन खेलाडी स्वदेश फर्कनेछन् । क्रिकेट अस्ट्रेलियाले विश्वकप सुरु हुनुअघि आईपीएलमा सहभागी आफ्ना खेलाडीलाई परिवारसँग केही समय बिताउन बिदा दिएको छ । उनीहरू विश्वकप सुरु हुनुभन्दा ठिकअघि मात्र वेस्ट इन्डिज पुग्ने क्रिकेट अस्ट्रेलियाले जनाएको छ ।

त्यसैले नामिबियाविरुद्धको पहिलो अभ्यास खेलमा अस्ट्रेलियन टोलीमा नौजना खेलाडी मात्र उपस्थित हुनेछन् । जबकि क्रिकेट खेलमा ११ जना खेलाडी आवश्यक पर्छ । आईपीएलका क्रममा ह्यामस्ट्रिङ समस्याबाट पीडित भएका टोलीका कप्तान मिचेल मार्श पनि अझै स्वस्थ भइसकेका छैनन् ।

प्याट कमिन्स, ट्राभिस हेड र मिचेल स्टार्कले आइतबार राति आईपीएलको फाइनल खेलेका थिए । ग्लेन म्याक्सवेल र क्यामरन ग्रिनले पनि रोयल च्यालेन्जर्स बैंगलुरुको तर्फबाट आईपीएलको प्ले–अफ चरणको खेल खेलेका थिए । यसका अतिरिक्त मार्कस स्टोइनिस पनि अझै वेस्ट इन्डिज पुगेका छैनन् ।

यी सबै खेलाडी अब अस्ट्रेलिया फर्किएर केही समय आफ्नो परिवारसँग बिताउने छन् । त्यसपछि विश्वकप यात्रामा होमिन ओमानविरुद्धको खेलअघि मात्र उनीहरू वेस्ट इन्डिज पुग्नेछन् । विश्वकपमा अस्ट्रेलियाले आफ्नो पहिलो खेल जुन ५ तारिखमा ओमानसँग खेल्नेछ ।

त्यसैले नामिबियाविरुद्धको अभ्यास खेलमा अस्ट्रेलियासँग खेलाडीको अभाव हुनेछ । मिचेल मार्श भन्छन्, ‘हामीले लगातार दुई महिनादेखि आईपीएल खेलेका खेलाडीलाई केही समयका लागि आराम दिने निर्णय गरेका छौँ । खेलाडीका लागि यो आवश्यक पनि छ । त्यसैले पहिलो अभ्यास खेलमा हामीसँग केही खेलाडीको अभाव हुनेछ ।’

यस्तो स्थितिमा अस्ट्रेलियाले नामिबियाविरुद्धको अभ्यास खेलमा आफ्नो प्रशिक्षण टोलीका केही सदस्यलाई मैदानमा उतार्नु पर्ने सम्भावना देखिन्छ । हाल अस्ट्रेलियाको प्रशिक्षण टोलीमा रहेका ब्राड हज र प्रमुख प्रशिक्षक एन्डङ्यू म्याकडोनल्ड फिल्डरको भूमिकामा मैदानमा ओर्लने सम्भावना छ ।

हाल अस्ट्रेलियन टोलीका मुख्य छनोटकर्ता जर्ज बेली र सहायक प्रशिक्षक आन्द्रे बोरोवेक पनि वेस्ट इन्डिजमै छन् । उनीहरू पनि नामिबियाविरुद्धको खेलमा फिल्डिङमा ओर्लने सम्भावना देखिन्छ ।

ड्यानियल भेट्टोरी पनि अहिले अस्ट्रेलियाको प्रशिक्षण टोलीमा छन् । तर, उनी अस्ट्रेलियन नागरिक नभएका कारण अभ्यास खेलमा सहभागी हुन पाउने छैनन् । अस्ट्रेलियाले आफ्नो दोस्रो अभ्यास खेल मे ३१ तारिखमा आयोजक राष्ट्र वेस्ट इन्डिजसँग खेल्ने कार्यक्रम छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप