शनिबार, २२ मङ्सिर २०८१
ताजा लोकप्रिय
चलचित्र

नेपाली फिल्म निर्माण : थपिँदै नयाँ, हराउँदै पुराना

नयाँ निर्माता भित्रिनु सकारात्मक : फिल्मकर्मी
शनिबार, ०८ असार २०८१, १२ : १३
शनिबार, ०८ असार २०८१

काठमाडौँ । नेपालमा बर्सेनि औसतमा ५० देखि १०० का हाराहारीमा फिल्म बन्ने गरेका छन् ।  यसरी निर्माण हुने धेरै फिल्मका निर्माता नयाँ रहने गरेको चलचित्र निर्माता सङ्घको तथ्याङ्कले देखाउँछ । 

फिल्म निर्माण अगाडि चलचित्र विकास बोर्डबाट निर्माण इजाजत (दर्ता) लिनुपर्ने हुन्छ । इजाजतका लागि चलचित्र निर्माता सङ्घको सिफारिस आवश्यक पर्छ ।

सोही सिफारिस तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७९/०८० मा ८८ निर्माताले नयाँ फिल्म दर्ताका लागि सङ्घबाट सिफारिस लिएका थिए । 

चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा सिफारिस लिनेको सङ्ख्या ६१ मात्र पुगेको छ । जसमा २६ जना पुराना (पहिले फिल्म बनाएका) निर्माता छन् भने बाँकी ३५ नयाँ भित्रिने निर्माता रहेका छन् ।

हालसम्मको तथ्याङ‍्कअनुसार चलचित्र निर्माता सङ्घमा कायम ८९५ जना सदस्यमध्ये करिब ७ प्रतिशतले मात्र यो वर्ष फिल्म निर्माण गर्ने देखिन्छ । बाँकी ९३ प्रतिशत निर्माण बाहिर छन् ।

कोरोना, आर्थिक मन्दी, देशको राजनीतिक अस्थिरता लगायत कारणले धेरै निर्माता फिल्म निर्माणबाट टाढा रहँदै आएको चलचित्र निर्माता सङ्घका अध्यक्ष नबल खड्का बताउँछन् ।

‘कतिपय निर्माता व्यवसायीक घाटाको कारण ऋणमा डुबेर निर्माण भन्दा बाहिर छन्’, खड्काले भने, ‘धेरै देश र फिल्म क्षेत्रको अवस्थाले आँट गर्न सक्ने अवस्थामा छैनन् ।’ कतिपय फिल्म क्षेत्रको अवस्था राम्रो भएपछि मात्र बनाउने भनेर पर्ख र हेरको अवस्थामा रहेको समेत उनको भनाइ छ । 

जो फेरि निर्माणमा ?

पछिल्लो समय रिलिज भएका धेरै फिल्मको लगानी बालुवामा पानी भएको छ । त्यसले धेरै निर्मातालाई डुबाएको छ । फिल्मको व्यवसाय नाफा वा घाटा जे भए पनि केही निर्माता भने निर्माणमा सक्रिय नै छन् ।

चालु आर्थिक वर्षमा फिल्म निर्माणका लागि सिफारिस लिनेमा शङ्कर घिमिरे, श्रीदेव बिएल, सुदर्शन थापा, रुपेन्द्र खड्गी, बिराज भट्ट, किरण नेपाली, हिमाल कडरिया, जीवन थापा, केवल तामाङ, थमनसिंह भण्डारी, विल्सन विक्रम राई, हरि मल्ल ठकुरी, कृषा चौलागाई, निश्चल बस्नेत, रौनक विक्रम कँडेल, आकाश अधिकारी, दीपेन्द्र के खनाल, आरएल महर्जन, अञ्जन पुडासैनी, कपिल खत्री, मनोज अधिकारी, रुपेश तामाङ र सुधन धिताल रहेका छन् ।

film

यी निर्माताले चाडै फर्की आऊ, ग्याल्बो राजा, फिरफिरे, कपिल खत्रीको राजा, जदौ, कैँची, भेलुलेस लाइफ, मेयर, एक एक एघार, ऐरी, गाउँ नै रमाइलो, अर्ग्यानिक माया, मायाका रङ्गहरू, ईश्वर, एक्टर, लाहुरे एन्ड दाउरे,  रुमानी रङ्ग, पीताम्बर, बेहुली फ्रम मेघौली, फेरि रेशम फिलिलि, दुई नम्बरी २, दुखी आत्मा, १२ गाउँ, डा. कृति, रावयण, जय नेपाल र तेल भिसा नामक फिल्मका लागि निर्माण सिफारिस लिएको देखिन्छ ।

को–को भित्रिए नयाँ निर्माता ?

चालु आर्थिक वर्षमा सिफारिस लिनेमध्ये नयाँ निर्मातामा ३५ जना रहेका छन् । 

जसमा सविन घिमिरे, प्रमोद लामिछाने, अदिति श्रेष्ठ, दिलीप केसी, शैलेन्द्र नाल्बो, केदार श्रेष्ठ, रमेश क्षेत्री, ज्ञानबहादर प्रधान, यमुना राई, प्रेविल कँडेल, यस बहादर गुरुङ, दिवस कुवर,  धनबहादुर लोहनी, शिव रकाल ठकुरी, सौभव चौधरी, प्रकाश विक सपुत, निमेष श्रेष्ठ, अजय कुमार पटेल, चुमन जंग शाही, सुरेश चौधरी, रामकृष्ण खरेल, अभिनय मानसिंह बस्नेत, आशिष राज महर्जन, बोल बहादर थापा, राजकुमार राई,  शेखर लामा, विनोद पौडेल, सुभाष भुसाल, राजु तामाङ, सुरेश गुरुङ, नेत्र तामाङ, प्रवीण रोकाया लगायत छन् । 

यी निर्माताले सानी, हब्बा, पापी मन, मोदी बेनी, सेमेवा, जिग्री, एलो, यो मन त मेरो नेपाली हो, निम्तो तिमिलाई, कोशेढुङ्गा, राजमहल, संस्कार, जर्नी अफ द हार्ट, तिमि भए पुग्छ, सोफी, खेल, लाकुरी, गुण्डागर्दी, लुसु, पुर्णबहादुरको सारङ्गी, पूजार सार्की, हाम्रो त बाजेको पालामा, रुखान, कडी, जसगिना, दमिनी लगायतका लागि सिफारिस पाएको सङ्घले जनाएको छ । 

फिल्म निर्माणमा पुराना निर्माता हराउनु चिन्ताको विषय भए पनि नयाँ निर्माता भित्रिनु सकारात्मक रहेको फिल्मकर्मीहरू बताउँछन् । नयाँ निर्माताले लगानीको साथसाथै नयाँ सोच पनि भित्र्याउने उनीहरूको धारणा छ ।

nawelचलचित्र निर्माता सङ्घका अध्यक्ष खड्का फिल्म निर्माणमा नयाँ निर्माण बढ्नु राम्रो सङ्केत भएको बताउँछन् । ‘नयाँ निर्माता भित्रिनु भनेको पुस्तान्तरण हुनु पनि हो । यसले उद्योगलाई राम्रो गर्छ’, खड्काले भने ‘नयाँ पुस्ता पनि उद्योग हाँक्न तयार भएका छन् भन्ने सङ्केत पनि हो ।’ 

नयाँ पुस्ताको आगमनले अग्रजको लाइन सही र ठिक थियो भन्ने देखिने खड्काको धारणा छ ।

‘नयाँ भित्रिनेमा उद्योगी, व्यवसायी पनि आउनुपर्थ्यो त्यो देख्न पाइएको छैन । यो चाहिँ दुखद कुरो हो’, खड्काले थपे ‘एक दिन उद्योग व्यवसायीको पनि राम्रो प्रवेश हुने सङ्केत भने यो हो ।’ नयाँ भित्रिनेमा उद्योग व्यवसायी, ठुलो घरानाका कम भएको नबलको भनाइ छ । उनले भने, ‘कतिपय रहरले पनि भित्रिएका छन् । लगानी हेर्दा त्यस्ताले पनि राम्रो गर्न सकिने अनुमान गर्न सकिन्छ ।’

फिल्म बनाउने निर्माता हरेक वर्ष पुराना भन्दा नयाँ भित्रिने बढी हुने गरेको कलाकार, निर्माता तथा निर्देशक अशोक शर्मा पनि बताउँछन् । 

‘वर्षमा ५० फिल्म बन्यो भने ५/७ वटा पुराना निर्माता रिपिट भएर बनाएका हुन्छन्’, शर्माले भने, ‘नयाँ आउनु राम्रो हो । त्यसमा पनि बुझेर आएको झनै राम्रो ।’ धेरै जसो बुझेर भित्रिने नगरेको कारण समस्या थपिँदै गएको शर्मा सुनाउँछन् ।

‘पुरानो हराउनु दुखद कुरा हो’, शर्माले भने, ‘यसले धेरै कुरोको अनुमान लगाउन सकिन्छ ।’ पुरानो निर्माता नदोहोरिनुको मुख्य कारण व्यवसायिक असफलता रहने गरेको उनी खुलाउँछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप

छुटाउनुभयो कि ?