बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय
बागमती प्रदेश सभा

बागमती प्रदेशसभा : बजेटमाथिको छलफलमा प्रतिपक्ष आक्रामक

कम्युनिस्टलाई मार्क्सवाद पढाउँदै कांग्रेस
मङ्गलबार, ११ असार २०८१, २० : ३५
मङ्गलबार, ११ असार २०८१

मकवानपुर । बागमती प्रदेश सरकारको बजेट माथिको छलफलका क्रममा प्रतिपक्षी दलहरू आलोचनासहित आक्रामक रूपमा प्रस्तुत भएका छन् । प्रतिपक्षी दलका सांसदहरूले सरकारको बजेटमाथि खरो टिप्पणी गरेका हुन् ।

सरकारको बजेट सन्तुलित नभएको र नागरिक लक्षित कार्यक्रम ल्याउन नसकेको भन्दै उनीहरूले आलोचना गरेका थिए । उनीहरूले राज्य व्यवस्थालाई नै कमजोर पार्ने गरी सरकारले बजेट कार्यक्रममा हालीमुहाली गरेको बताए । 

बजेट प्रदेशका मन्त्रीहरूको निर्वाचन क्षेत्र केन्द्रित हुँदा नागरिकको अपेक्षा र प्रदेशका आवश्यकताका विषयहरू छुटेको उनीहरूको भनाई छ । उनीहरूले बजेट मन्त्रीमुखी भएको आरोप लगाए ।

  • संसद्बाट कम्युनिस्टलाई मार्क्सवाद पढाउँदै कांग्रेस

बैठकमा बजेट माथिको छलफलमा भाग लिँदै कांग्रेस सांसद रामकुमार पहाडीले मार्क्सवादको वकालत गर्ने कम्युनिस्ट पार्टीहरूले नै समाजमा वर्ग निर्माण गरिरहेको बताए । मार्क्सवादले समाज वर्गविहीन हुने सिद्धान्त लिए पनि कम्युनिस्टहरूले त्यसको सामान्य मूल्य समेत राख्न नसकेको उनले टिप्पणी गरे ।

उनले संविधान विपरीत गएर सरकारले काम गरिरहेको आरोप लगाए । सरकारको बजेट पिछडिएको क्षेत्र, भूगोलमा केन्द्रित गर्नुपर्ने संवैधानिक प्रावधान विपरीत गएर काम गरेको उनको भनाई छ ।

कांग्रेस सांसद कुन्दनराज काफ्लेले प्रदेश सरकारले बजेटलाई पार्टीगत बनाएको आरोप लगाए । दिगो विकास र प्रदेशको समृद्धिका योजनामा बजेट केन्द्रित गर्न सरकार असक्षम भएको उनको भनाई छ । प्रदेश सरकारको कारण संस्थागतको लयमा रहेको संघीयता सुधार गृहमा पुर्‍याउने काम भइरहेको उनले बताए । सरकारको गतिविधि र बजेट कार्यक्रम व्यवस्था बलियो बनाउने तर्फकेन्द्रित गरिनु पर्ने सांसद काफ्लेले बताए ।

बैठकमा कांग्रेस सांसद श्याम खड्काले नेपाल सरकार टाट पल्टने अवस्थामा रहेको टिप्पणी गरे । नेपाल सरकारको कूल बजेटभन्दा वैदेशिक ऋण बढिरहेको उनले बताए । सांसद खड्काले नेपाल सरकारको बजेट १८ खर्ब रहेको र वैदेशिक ऋण २४ खर्ब रहेको बताए । यथास्थिति रहेको खण्डमा सरकार आर्थिक रूपमा टाट पल्टने निश्चित रहेको उनको भनाई छ ।

‘सरकारको बजेट अनुत्पादक क्षेत्रमा खर्च भइरहेको छ । देशमा ऋणको भार थपिँदै गएको छ । सरकारको आय छैन, व्यय मात्र बढिरहेको छ । उत्पादनमुखी कार्यक्रम ल्याउन सरकार असक्षम बनेको छ ।’ उनले भने, ‘बागमती प्रदेश सरकारको बजेट बालुवामा पानी खनाए सरह रहेको छ । सरकारको बजेटमा स्पष्ट कार्यक्रम छैन । सरकारको बजेट उपलब्धिहीन क्षेत्रमा लगानी भइरहेको छ ।’

उनले बागमती सरकारको खर्च गर्ने सामर्थ्य नरहेको बताए । प्रदेश सरकारले हरेक वर्ष ६६ प्रतिशत मात्र बजेट खर्च गर्दै आएको उनको भनाई छ ।

छलफलका क्रममा बोल्दै कांग्रेस संसदीय दलका उपनेता रामकृष्ण चित्रकारले सरकार प्रदेशसभा प्रति जिम्मेवार बन्न नसकेको आरोप लगाए । प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ७ अर्ब घाटाको बजेट ल्याएको उनले बताए ।

प्रदेशका मन्त्रीहरूका कारण नागरिकले बजेटमाथि गरेको अपेक्षा व्यर्थ भएको र हाट बजारमा तरकारी किन्दा हुने बार्गेनिङ जस्तो प्रदेश सरकारको बजेटमा आएको उनले बताए ।  प्रदेशका नागरिकहरूले बजेटमार्फत दिगो आर्थिक विकास खोजेको उनले बताए । नागरिकको अपेक्षा विपरीत सरकारले बजेट ल्याएर प्रदेशको समृद्धि गुमाएको उनको भनाई छ ।

उनका अनुसार बजेटमा प्रतिपक्षले उठाएको सबल अर्थतन्त्रको लागि रोजगारी सृजना गर्न, उत्पादन र उत्पादकत्व वृद्धि, राजस्व वृद्धिको मोडल रहेको भएपनि सरकार त्यस विषयमा जिम्मेवार बन्न सकेको छैन । सरकारले आर्थिक समृद्धि, रोजगारी सृजना, उत्पादन वृद्धिका विषय बजेटमा समेट्न नसकेको उनको भनाई छ ।

  • सांसद र मन्त्रीहरू ठेकेदार बने : राप्रपा

बागमती प्रदेशसभा सदस्य एवम् राप्रपा बागमती प्रदेश संसदीय दलका उपनेता गिरबहादुर तामाङले सांसद र मन्त्रीहरू ठेकेदार बनिरहेको बताए  उनले संसदीय भूमिका छोडेर बजेटको हिसाब किताब र भागबन्डामा केन्द्रित भएको आरोप लगाए ।

सरकार र मन्त्रीहरूले नागरिकलाई डिप्रेसनमा पुग्ने गरी टर्चर दिइरहेको उनले बताए । उनले सांसदहरूलाई सर्कसको जोकरसँग तुलना गरे । संसदीय भूमिकामा रहने सांसदहरू बजेट कार्यक्रममा मात्र केन्द्रित भएको उनको भनाई छ । सांसदहरूले बजेट मात्र ध्यान दिएर नहुने भन्दै उनले नीति कानुन निर्माणमा सांसदको ध्यान दिन आग्रह गरे ।

राप्रपा बागमती प्रदेश संसदीय दलका नेता उद्धव थापाले बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेट पक्षपाती ढङ्गबाट आएको बताए । उनले बजेटले नागरिकहरूको अपेक्षालाई समेट्न नसकेको र मन्त्रीको मनोमानी ढङ्गबाट कार्यक्रमहरू समावेश गरिएको बताए ।

उनका अनुसार समानुपातिक र समावेशीका आधारमा बजेट नल्याएर प्रदेश सरकारले अहिलेको बजेट धादिङ, चितवन, मकवानपुर र सिन्धुपाल्चोकमा मात्र बढी केन्द्रित भएको छ । उनले स्वदेशमा रोजगारी सिर्जना गर्ने खालको बजेट नआएको बताए ।

बैठकमा बोल्दै राप्रपा संसदीय दलकी प्रमुख सचेतक कुमारी तामाङले बजेट असन्तुलितसँगै अनियमितता समेत भएको बताइन् । सो विषयका छानबिन गरी अनियमितता गर्नेहरूलाई कारबाहीको दायरामा ल्याउन उनले माग गरिने । उनका अनुसार सरकार अबण्डामा पैसा राखेर कार्यकर्तालाई अनुदान बाँड्न सक्रिय भएको आरोप लगाइन् ।

नेमकिपा संसदीय दलका नेता सुरेन्द्रराज गोसाईंले प्रदेश सरकारको बजेटले जनताको आकाङ्क्षा पुरा गर्न नसक्ने बताए । सरकारको बजेट समाजवादउन्मुख र प्रगतिशील नभएको उनको भनाई छ । बजेटको आधारमा सरकार अपारदर्शी, पक्षपाती भएको उनले बताए ।  

नेमकिपा सांसद गीता काफ्लेले सरकारको बजेटमा बिचौलिया पसेको बताइन् । उनले नागरिक लक्षित प्रदेशको समृद्धिको योजना भन्दा बिचौलिया पाल्ने बजेट ल्याएको उनले बताइन् ।

  • सत्तापक्षका सांसद रक्षात्मक

माओवादी केन्द्रका सांसद ठाकुर प्रसाद ढकालले प्रदेश सरकारको बजेटले कृषि, शिक्षा र स्वास्थ्य क्षेत्रमा परिवर्तनको आशा छरेको बताए । शिक्षाको गुणस्तर, स्वास्थ्य सेवा प्रवाहको स्तरियता र उत्पादन वृद्धिमा सरकारले नयाँ ढङ्गको कार्यक्रम ल्याएको र सोबाट प्रदेशको समृद्धिमा फड्को मार्न सकिने उनको भनाई छ । उनले पर्यटन प्रवर्द्धनमा सरकारले ल्याएको बजेटले नयाँ ढङ्गको विकासको लय समातेको बताए ।

युवराज चौलागाईले नीति कार्यक्रमलाई बजेटले सम्बोधन गर्न नसक्नु सरकारको कमजोरी रहेको बताए । उनले सरकारको बजेट आम नागरिकको हितमा रहनु पर्ने बताए । बजेटले भौगोलिक सन्तुलन कायम गर्न नसकेको र विगतका सरकार कै लयमा अहिलेका मन्त्रीहरूले बजेट कार्यक्रम केन्द्रित गरेको उनको भनाई छ । आर्थिक अवस्थाको कारण सरकारको बजेटमा चुनौती रहेको उनले जिकिर गरे ।

‘वर्ग विहीनताको सिद्धान्त बोकेर वर्ग निर्माण गरिएको छ । यो हिपोक्रेसीबाट अलग हुनुपर्छ ।’ उनले भने, ‘आर्थिक वृद्धि कमजोर छ । राजस्वको अवस्था न्यून रहेको छ । पुँजीगत खर्चको अवस्था कम रहेको छ । अन्यको तुलनामा प्रदेश सरकारले केही नयाँ कार्यक्रमलाई प्राथमिकतामा राखेको छ । टुक्रे बजेटलाई निरुत्साहित गर्ने प्रयत्न रहेको छ ।’

नेकपा माओवादी केन्द्र संसदीय दलका मुख्य सचेतक रत्न प्रसाद ढकालले प्रदेश सरकारले विकासको स्पष्ट नीति निर्माण गर्नुपर्ने बताए । उनले प्रदेश आयोजना बैंक निर्माण गरी योजना छनौटको प्रणाली विकास नीतिगत रूपमा व्यवस्था गर्न काम गर्नुपर्ने बताए । प्रदेशको आवश्यकता र भौगोलिक अवस्थाको विषयमा प्रदेशसभामा छलफल हुन जरुरी रहेको उनको भनाई छ ।

प्रदेश सरकारले बजेटबाट केही विषयहरू सरकारले सुधार गर्ने प्रयत्न रहेको उनले बताए । प्रदेश सरकारको स्रोत र साधनको अधीनमा रहेर बजेट बनाएको उनको भनाई छ । उनका अनुसार नागरिकको अपेक्षा संघमा भन्दा प्रदेश सरकारसँग बढी रहेको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश दुलाल
गणेश दुलाल
लेखकबाट थप