रियलको जितमा एन्ड्रिकको गोल, एम्बाप्पे चुके
सोमबार, १० भदौ २०८१, ०५ : ५३

स्यान्टियागो बर्नेबेउ । युवा खेलाडी एन्ड्रिकले ला लिगाको डेब्यूमा गोल गर्दा रियल मड्रिडले ला लिगाको नयाँ सिजनमा पहिलो जित हात पारेको छ । साबिक विजेता टोलीले घरेलु मैदानमा रियल भालाडोलिडलाई ३–० गोलले हराएको हो ।
खेलको लामो समय भालाडोलिडले रियलको किलियान एम्बाप्पे, भिनिसियस जुनियर र रोड्रिगोको आक्रमणलाई रोक्न सफल भएको थियो । तर, दोस्रो हाफको सुरुवातमा फेडेरिको भालभर्डेले गोल गरेपछि खेल खुला बनेको थियो ।
सब्सिटिट्युट ब्राहिम डियाजले ८८ औँ मिनेटमा टोलीको अग्रता दोब्बर बनाए भने । १८ वर्षीय एन्ड्रिकले इन्जुरी समयमा टोलीका लागि तेस्रो गोल थपे । उता, घरेलु मैदानमा डेब्यू गरेका एम्बाप्पे भने गोल गर्नबाट चुकेका थिए ।
पहिलो खेलमा मायोर्कासँग १–१ को बराबरीमा रोकिएको रियलले अब बिहीबार लास पालमासको सामना गर्नेछ ।