सोमबार, २६ कात्तिक २०८१
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

१० बजे, १० समाचार

बुधबार, १९ भदौ २०८१, २२ : ००
बुधबार, १९ भदौ २०८१

आज २०८१ भदौ १९ गते बुधबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘रात्रिकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौँ–

  • पोलिटब्युरो बैठक

नेकपा एमालेले सरकार गठन भएको डेढ महिनाको अवधिमा पुँजीबजारमा उत्साहजनक वृद्धि, लामो समयदेखि अवरुद्ध सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकमा सहमतिले जनतामा आशाको सञ्चार भएको उल्लेख गरेको छ । मंगलबारदेखि सुरु भएको एमाले पोलिटब्युरो बैठकले १३ बुँदे प्रस्ताव पारित गर्दै यस्तो उल्लेख गरेको हो । 

  • संसदीय सुनुवाइ

विभिन्न देशका लागि प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ भदौ २४ गतेसम्मका लागि स्थगित भएको छ । एक साताभित्र प्रस्तावित राजदूतहरूको सुनुवाइ सक्ने भनिए पनि समितिको अर्को बैठक २४ गते पुगेपछि सुनुवाइ पनि लम्बिएको हो । राजदूतहरूको सुनुवाइ आइतबारबाट सुरु भएको थियो । 

  • पलेशालाई सम्मान

पारा ओलम्पिकमा नेपाललाई पदक दिलाउने पलेशा गोवर्धनलाई सरकारले पुरस्कारसहित सम्मान गर्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पलेशालाई ६५ लाख पुरस्कारसहित सम्मान गरिने जानकारी दिएका हुन् । प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘पलेशालाई रु ६५ लाख पुरस्कारसहित सम्मान गरिने छ ! पारा ओलम्पिकमा पलेशा गोवर्धनले नेपाललाई खुसी दिनु भयो । नेपाललाई पहिलो पटक ओलम्पिक पदक दिलाउने पलेशालाई हार्दिक बधाई !’  

  • माओवादी परामर्श बैठक

साढे तीन दशकदेखि पार्टीको नेतृत्व गर्दै आएका पुष्पकमल दाहाल ‘प्रचण्ड’ अझै पार्टीमा ‘निर्विकल्प’ देखिएका छन् । नेकपा माओवादी केन्द्रको प्रदेशमा जारी केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीको संयुक्त परामर्श बैठकमा अध्यक्ष प्रचण्डको विकल्प खोज्ने बेला नभएको मत नेताहरूले राखेका छन् ।

  • सीआरबीटी रकम

नेपाल टेलिकमबाट गीत–सङ्गीतका निर्माता (गीतमा पैसा लगानी गर्ने, स्रष्टा, गायक–गायिका, गीतकार, सङ्गीतकार)ले लामो समयदेखि सीआरबीटी (कलर रिङ ब्याक टोन)को रकम नपाएको पाइएको छ ।

  • बेलगाम बोली

यति बेला संसद्को दुई ठुला दल नेपाली कांग्रेस र नेकपा एमाले मिलेर सरकार बनेको छ । प्रधानमन्त्रीमा केपी शर्मा ओली छन् । तर, विगतमा आफ्नो अभिव्यक्ति, उखान टुक्का र घोचपेचका कारण छुट्टै पहिचान बनाएका ओली यस पटक भने सन्तुलित अभिव्यक्ति दिँदै हिँडेका छन् ।

  • काठमाडौँको सीडीओ

काठमाडौँमा कार्यरत प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले आफ्नो कार्यकाल पुरा गरेका छन् । २०८० असार २१ मा जिल्ला प्रशासन कार्यालय काठमाडौँको प्रजिअ भएका बस्नेतलाई १४ महिनापछि गृह मन्त्रालयले सरुवा गर्दैछ ।

  • विवाद

काठमाडौँ महागरको केही महिना अघि सामाजिक विकास विभागले बालबालिकाको क्षेत्रमा काम गर्न इन्टर्न विद्यार्थी मागेको थियो । सोही क्रममा ३१ जना छनोट भएका थिए । उनीहरूलाई बाल अधिकार, बाल संरक्षण, बाल श्रम लगायतका क्षेत्रमा कामका लागि खटाइयो ।

  • कालोबजारी

सरकारले चाडपर्वमा खाद्यान्नको कालोबजारी रोक्न सरकारी निकायलाई सक्रिय बनाएको छ । निजी क्षेत्रले मात्रै आयात गर्दा खाद्यान्नको अत्यधिक माग हुनेबेला कालोबजारी बढ्ने भन्दै सरकारले खाद्य संस्थान, साल्ट ट्रेडिङ जस्ता संस्थानलाई आयात अनुमति दिएको छ ।

  • सरुवामा राजनीतिकरण

कर्णालीमा एक वरिष्ठ कन्सलटेन्ट जनरल सर्जनलाई विशेषज्ञ डाक्टरको दरबन्दी नै नभएको स्थानमा सरुवा गरिएको छ । कर्णाली प्रदेश अस्पतालमा दरबन्दी भएका र हाल मेहलकुना अस्पतालको प्रमुख रहेका वरिष्ठ कन्सलटेन्ट जनरल सर्जन डाक्टर सोजन सापकोटालाई मानव संशाधन विकास केन्द्रमा सरुवा गरिएको हो । मानव संशाधन केन्द्रले डाक्टरलाई तालिम दिने काम गर्दछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप