आइतबार, ३० भदौ २०८१
ताजा लोकप्रिय
सडक सञ्जाल

चाडबाडको मुखमा गण्डकीका सडक बेहाल

बिहीबार, २० भदौ २०८१, ०६ : ४९
बिहीबार, २० भदौ २०८१

पोखरा । नेपालमा चाडबाड नजिकिँदो छ । विशेषगरी तिज, दसैँ, तिहार र छठ लगायत पर्वमा नेपालीहरू बढी यात्रा गर्छन् ।

उनीहरूको प्रमुख चासो सडकको अवस्थाबारे पनि हुन्छ । गण्डकी प्रदेशका राजमार्ग र भित्री मार्गहरूको अवस्था अहिले सामान्य नै छ । जिल्ला सदरमुकामबाट भित्र छिर्ने अधिकांश सडक वर्षा र पहिरोका कारण जीर्ण भएका छन् । वर्षा नरोकिएका कारण सडक मर्मत अघि बढेको छैन । केही पालिकाले आफ्नै खर्चमा मर्मत थालेका छन् ।

प्रदेश ट्राफिक प्रहरी कार्यालयका अनुसार प्रदेशका महत्त्वपूर्ण ११ वटा राजमार्ग र भित्री मार्गमा सडक बिग्रिएको छ । तर आवतजावत अवरुद्ध नभएको ट्राफिक कार्यालयले जनाएको छ ।

गण्डकी प्रदेशमा पृथ्वी राजमार्ग, महेन्द्र राजमार्ग, भूपी शेरचन राजमार्ग, सिद्धार्थ राजमार्ग र मध्यपहाडी लोकमार्ग पर्छ । पाँचवटै राजमार्गको अवस्था औसत रहेको कार्यालयले जनाएको छ । यस्तै, उत्तर दक्षिण राजमार्गको कालिगण्डकी कोरिडोर पनि केही ठाउँ बाहेक अवस्था सामान्य छ ।

अहिले सबैभन्दा धेरै पृथ्वी राजमार्गका विभिन्न खण्डमा समस्या देखिएको छ । पोखरा–मुग्लिन खण्डमा कालोपत्रेको काम चलिरहेको छ । स्तरोन्नतिका लागि भित्तो कटिङ र सडकको लेबलिङ भइरहेकाले पानीका कारण चिप्लिने र गाडी फस्ने अवस्था छ ।

घाँसीकुवामा लेदो सहितको पहिरोको जोखिम छ । मनहरीमा सडक चिप्लिने र दुर्घटना हुने गरेको छ । मौरी ओडारमा पहिरोको उच्च जोखिम रहेको ट्राफिक प्रहरी कार्यालय गण्डकीका प्रवक्ता डीएसपी श्रवणकुमार विकले जानकारी दिए ।

पोखरास्थित विजयपुर क्षेत्रमा वर्षाका कारण सडक बिग्रिएको छ । यस्तै, तनहुँको डम्पिङमा पहिरोका कारण सडक जोखिममा छ । तनहुँकै छिर्कनमा सडक विस्तारका क्रममा कटिङ चलिरहेको छ । जसका कारण ढुङ्गा खसेर दुर्घटनाको जोखिम रहेको प्रहरीले जनाएको छ ।

घाँसीकुवामा लेदो सहितको पहिरोको जोखिम छ । मनहरीमा सडक चिप्लिने र दुर्घटना हुने गरेको छ । मौरी ओडारमा पहिरोको उच्च जोखिम रहेको ट्राफिक प्रहरी कार्यालय गण्डकीका प्रवक्ता डीएसपी श्रवणकुमार विकले जानकारी दिए ।

उनका अनुसार भूपी शेरचन राजमार्गको जौवारीमा वर्षाले सडक बिग्रिएको छ । सडकको मर्मत र निर्माण भइरहेको उनले बताए ।

पूर्व–पश्चिम (महेन्द्र) राजमार्गको नवलपुर स्थित ६९ किलोमिटर सडक खण्डमा पानी पर्ने बित्तिकै यातायात अवरुद्ध हुने अवस्था छ । ‘अहिले अवरोध छैन । तर पानी परेपछि त्यहाँ बढी समस्या देखिन्छ,’ डीएसपी विकले भने, ‘सडक चिप्लिने र केही ठाउँमा पहिरोको जोखिम कायम छ ।’

यहाँ पनि सडक कालोपत्रेको काम चलिरहेको छ । गोरखा, लमजुङ र स्याङ्जाका सदरमुकामबाट भित्री सडकहरू सामान्य पहिरोले अवरुद्ध रहेको र मर्मत भइरहेको विकले जानकारी दिए ।

बागलुङस्थित मध्यपहाडी लोकमार्गको काठेखोला–अक्षेते खण्डमा कालोपत्रेको काम भइरहेको छ । सडक अवरुद्ध नभए पनि सामान्य अवस्था नरहेको र स्तरोन्नतिका लागि केही समय लाग्ने ट्राफिक प्रहरीले जनाएको छ ।

मनाङको मुख्य सडकका ठाउँठाउँमा वर्षाले बाटो बिगारेको छ । तिमाङ झरनामा बनाइएको कल्भर्ट बाढीले बगाएको थियो । अहिले कल्भर्ट बनाएर सडक नियमित सञ्चालन हुन थालिसकेको छ । २०७८ को बाढी पहिरोका कारण बेंसीसहर चामे सडक क्षतविक्षत भएको थियो । पालिका र सडक विभागले अवरुद्ध सडक खुलाउने प्रयास गरिरहेका छन् ।

कालिगण्डकी कोरिडोरको मालढुंगा–बेनी सडक खण्डमा पहिरो झर्ने क्रम रोकिएको छैन । जलजला गाउँपालिका–७, केराबारीमा पहिरो र माथिबाट ढुङ्गा झरेर पटकपटक अवरोध हुने गरेको विकको भनाइ छ ।

बेनीदेखि जोमसोम जोड्ने सडकको विभिन्न ठाउँमा मर्मतको काम चलिरहेको छ । रघुगंगा गाउँपालिका २ बैसरी, अन्नपूर्ण गाउँपालिका ७ महभिर, अन्नपूर्ण ३ सुकेभिर लगायत ठाउँमा पहिरो झर्ने क्रम जारी छ ।

मनाङको मुख्य सडकका ठाउँठाउँमा वर्षाले बाटो बिगारेको छ । तिमाङ झरनामा बनाइएको कल्भर्ट बाढीले बगाएको थियो । अहिले कल्भर्ट बनाएर सडक नियमित सञ्चालन हुन थालिसकेको छ । २०७८ को बाढी पहिरोका कारण बेंसीसहर चामे सडक क्षतविक्षत भएको थियो । पालिका र सडक विभागले अवरुद्ध सडक खुलाउने प्रयास गरिरहेका छन् ।

सडक अवरुद्ध हुने बित्तिकै पालिका र सडक विभागसँगको समन्वयमा तत्कालै खुला गर्नेगरी काम गर्ने गरिएको मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जानकारी दिए । ‘बर्खाले बाटो बिगारेको छ । चाडबाडलाई लक्षित गरेर जतिसक्दो छिटो सबै मार्गहरू सञ्चालन गर्न प्रदेशले पहल गरेको छ,’ उनले भने, ‘कतिपय ठाउँमा प्रदेशले नै लगानी गरेर सडक खुला गर्ने प्रयास गरेको छ । कतिपय ठाउँमा पालिकासँग पनि समन्वय गरिएको छ ।’

झरी रोकिएमा तत्कालै सडक मर्मत गर्ने मुख्यमन्त्री पाण्डेले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रकाश ढकाल
प्रकाश ढकाल
लेखकबाट थप