शुक्रबार, १८ असोज २०८१
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

१० बजे, १० समाचार

शुक्रबार, २८ भदौ २०८१, २२ : ००
शुक्रबार, २८ भदौ २०८१

आज मिति २०८१ भदौ महिनाको २८ गते शुक्रबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’ लिएर उपस्थित भएका छौँ–

१. संवैधानिक परिषद्को बैठक निष्कर्षविहीन

संवैधानिक परिषद् बैठक निष्कर्षविहीन भएको छ । शुक्रबारको बैठकमा प्रधानन्यायाधीश सिफारिसका लागि माथिल्लो वरियतामा रहेका ८ जना न्यायाधीशहरुको नाममाथि छलफल भएपनि कुनै निर्णय नभएको उपसभामुख इन्दिरा राना मगरले जानकारी दिइन् ।

प्रधानन्यायाधीशमा पहिलो नम्बरमा रहेका न्यायाधीश प्रकाशमान सिंहको नाममाथि छलफल बढी केन्द्रीय बनेको रानाले बताइन् । ‘उहाँको नाममा लगभग सहमति छ । तर, आजै हतारमा निर्णय नगरौं भन्ने सल्लाह भयो । दुई दिनपछि फेरि बैठक बसेर निर्णय हुन्छ,’ उनले भनिन् ।

२. पल्सर स्पोर्ट्स अवार्ड

‘एनएसजेएफ पल्सर स्पोट्र्स अवार्ड–२०८०’ शुक्रबार विभिन्न विधामा अवार्ड वितरण गर्दै सम्पन्न भएको छ ।  काठमाडौँको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा भएको कार्यक्रममा वर्षको सर्वोत्कृष्ट पुरुष खेलाडीको अवार्ड नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले जितेको आयोजक नेपाल खेलकुद पत्रकार मञ्चले जनाएको छ । उनले पल्सर एनएस २०० मोटरसाइकल पुरस्कार पाए ।

२०८० सालमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा गरेको उत्कृष्ट प्रदर्शन र नतिजाका आधारमा उनी वर्षको सर्वोत्कृष्ट खेलाडी घोषित भएका हुन् ।

विस्तृतमा समाचार हेर्नुहोस्

३. माओवादी बैठक

नेकपा माओवादी केन्द्रले जनयुद्धलाई अपमानित गर्ने ढङ्गले एमालेका सांसदहरू संसदमा बोलेको अभिव्यक्तिको विषयमा समाधान नभएसम्म संसद् अवरोध जारी राख्ने निर्णय गरेको छ । 

शुक्रबार संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको दलको बैठकले जनयुद्धलाई एमालेले अपमानित गरेको भन्दै त्यसको सशक्त प्रतिवाद गर्न समेत निर्णय भएको प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए ।

 

४. एमाले बैठक

 नेकपा एमालेले निर्णायक शक्ति बनाउने वार्षिक कार्य योजना पारित गरेको छ ।  शुक्रवार बसेको एमाले सचिवालयको ३६ औँ बैठकले पार्टीको वार्षिक कार्यायोजना पारित गरेको महासचिव शङ्कर पोखरेलले जानकारी दिए ।

नेकपा एकीकृत समाजवादीका उपमहासचिव मेटमणि चौधरीले केही दिन पहिला आफूले एक टेलिभिजनमा चुच्चे नक्साका सन्दर्भमा गरेको टिप्पणीलाई केही सेकेन्डको भिडियोलाई मात्र काटेर सामाजिक सञ्जालमार्फत दुष्प्रचार गरिएको भन्दै स्पष्टीकरण दिएका छन् ।

शुक्रवार विज्ञप्ति जारी गर्दै चौधरीले आफूले बोलेको विषयलाई जबरजस्ती विवादित बनाउन खोजिएको आरोप समेत लगाएका छन् ।

५. जनमत र लोसपाको तयारी

जनमत पार्टीले जिल्ला कार्यसमिति घोषणा गर्ने तयारी गरेको छ । स्थानीय तहमा साधारणसभा गरेर समिति गठन भएसँगै पार्टीले जिल्ला समिति घोषणाको तयारी गरेको हो ।

जिल्ला समिति घोषणाको तयारी अन्तिम चरणमा रहेको जनमत पार्टीका उपाध्यक्ष ई।दीपक साहले बताए । वडा तहदेखि पालिकाका विभिन्न समितिले सिफारिस गरेको व्यक्ति जिल्ला समन्वय समितिको सदस्य हुनेछन् ।

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल वैशाखमा गर्ने तय भएको पहिलो महाधिवेशनको तयारीमा जुटेको छ । हाल निष्क्रिय जस्तै रहेको लोसपाले वैशाख २६ गतेका लागि महाधिवेशनको मिति तय गरेपछि पार्टीका नेताहरू अहिले सक्रिय भएका हुन् ।

राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति क्रान्तिले राष्ट्रिय समितिको बैठक बोलाएको छ । असोज १ गतेदेखि ३ गतेसम्मका लागि बोलाएको समितिको बैठकमा पार्टी निर्माणका लागि छलफल हुने राष्ट्रिय मुक्ति क्रान्तिका संयोजक राजेन्द्र महतोले बताए । कात्तिकमा गोलमेच सम्मेलन गरेर पार्टी घोषणा गर्ने उनको तयारी छ ।

६. कोशीमा कांग्रेस सरकारमा

कांग्रेस–एमालेबिच बनेको सत्ता गठबन्धनको अढाई महिनापछि नेपाली कांग्रेस कोशी प्रदेश सरकारमा सहभागी भएको छ । आज कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कांग्रेसका तर्फबाट तीन मन्त्री र एक जना राज्यमन्त्री नियुक्त गरेका हुन् । यद्यपि अझै एक मन्त्रालय भने खाली राखिएको छ ।

 

७. विवादमा लेखा समितिका सभापति

‘केही भ्रष्ट र बिचौलियाहरूले, केही सञ्चार माध्यमको प्रयोग गरी अमुक सहकारीसँग जोडी इमानको चरित्र हत्या गर्न गरिएको भ्रामक दुष्प्रचारप्रति खेद व्यक्त गर्दछु,’ संघीय संसद् अन्तर्गत सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले बिहीबार सामाजिक सञ्जालमा आक्रोश व्यक्त गरे ।

उनले स्टाटस लेख्नुपर्ने कारण हो– उमागौरी कृषि सहकारी संस्थामा भएको अनियमितता काण्डमा उनलाई जोडेर समाचार आउनु ।

मोरङको धनपालनाथ गाउँपालिका–४, कर्सिया बजारमा उमागौरी कृषि सहकारी संस्था छ । २०६८ सालमा स्थापना भएको यो सहकारी अहिले सङ्कटग्रस्त छ । सहकारीमा १२ करोड रुपैयाँ हिनामिना भएको छ ।

प्रदेशका थप समाचार

८. सुनको मूल्यमा नयाँ कीर्तिमान

नेपाली बजारमा शुक्रबार सुनको मूल्यले नयाँ कीर्तिमान बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा छापावाल सुनको मूल्य तोलामा ३ हजार रुपैयाँ बढ्दै १ लाख ५६ हजार ३०० रुपैयाँ पुगेको हो ।

९. जापानीज इन्सेफ्लाइटिसको संक्रमण

नेपालमा जापानीज इन्सेफलाइटिसको सङ्क्रमणबाट १४ जनाको मृत्यु भएको छ । परिवार कल्याण महाशाखाका अनुसार देशभरका ६१ जना जापानीज इन्सेफलाइटिसका  सङ्क्रमितमध्ये १४ जनाको मृत्यु भएको हो ।

१०. सभामुखमाथि प्रश्न

प्रचलित मान्यता छ– सरकार सत्तापक्षको, सदन प्रतिपक्षको । यो मान्यता र व्यावहारिक पक्षलाई समेत हेर्दा सदनमा प्रतिपक्षको आवाजले उचित स्थान पाउनुपर्ने हुन्छ ।

तर, सभामुख देवराज घिमिरेमाथि पक्षपातको आरोप लाग्दै आएको छ । प्रमुख प्रतिपक्ष माओवादी केन्द्रले मात्र होइन, नेपाली कांग्रेस प्रमुख प्रतिपक्षको भूमिकामा रहँदा पनि सभामुख घिमिरेको भूमिकालाई लिएर प्रश्न उठेको थियो । प्रतिपक्षको आवाज दबाएर सत्ता पक्षको इसारामा संसद चलाउने गरेको आरोप सभामुख घिमिरेमाथि लाग्ने गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप