पहिलो टेस्ट क्रिकेट : घरेलु मैदानमै न्युजिल्यान्डसामु निरीह बन्यो भारत
काठमाडौँ । घरेलु टोली भारतले न्युजिल्यान्डविरुद्धको पहिलो टेस्ट क्रिकेटमा निराशाजनक प्रदर्शन गरेको छ । पहिलो टेस्टको दोस्रो दिन बिहीबार भारतीय टोली आफ्नो पहिलो पालीमा केवल ४६ रन बनाउँदै अलआउट भएको छ ।
भारतीय टोली पहिलो पालीमा ३१.२ ओभर मात्र क्रिजमा टिक्न सक्यो । भारतीय टोलीले टेस्ट क्रिकेटको एक पालीमा बनाएको यो तेस्रो सबैभन्दा कम योगफल हो । पहिलो पालीमा भारतका कुनै पनि ब्याट्सम्यान लामो समय क्रिजमा टिक्न सकेनन् ।
बेंगलुरुमा जारी उक्त टेस्टमा टस जिती पहिले ब्याटिङको निर्णय लिएको भारतीय टोलीका लागि दुई ब्याट्सम्यानले मात्र दोहोरो अंकमा रन बनाउन सके । विकेटकिपर ब्याट्सम्यान ऋषभ पन्तले सर्वाधिक २० रन बनाए । उनले ४९ बलमा दुई चौका पनि हिर्काए ।
ओपनर ब्याट्सम्यान यशस्वी जैसवालले टोलीको खातामा १३ रन थपे । उनले ६३ बलमा एक चौका हिर्काए । सबैभन्दा लामो समय क्रिजमा टिकेका ब्याट्सम्यान जैसवाल नै हुन् । कप्तान रोहित शर्मा दुई र अनुभवी ब्याट्सम्यान विराट कोहली शून्य रनमै पेभेलियन फर्किए ।
भारतका पाँच ब्याट्सम्यानले त खातासम्म खोल्न सकेनन् । सरफराज खानले पनि खाता खोल्न सकेका थिएनन् । केएल राहुल, रविन्द्र जडेजा र रविचन्द्रन आश्विनले पनि खाता खोल्न सकेनन् । खेल अवधिभर भारतीय ब्याट्सम्यानहरु क्रिज समाल्न आउने र लगत्तै फर्कनेक्रम जारी रह्यो ।
किविज टोलीका बलर म्याट हेनरी एक्लैले पाँच विकेट लिए । विलियम ओ’रुर्कले पनि चार विकेट हात पारे । हेनरीले १३.२ ओभरमा तीन मेडनसहित केवल १५ रन खर्चिए । विलियमले पनि १२ ओभरमा ६ मेडनसहित केवल २२ रन खर्चिए । टिम साउथीले पनि एक विकेट हात पारे ।
टेस्ट क्रिकेटको इतिहासमा एक पालीमा भारतले बनाएको सबैभन्दा कम रन भने ३६ हो । भारतीय टोली सन् २०२० को डिसेम्बर १७ तारिखमा एडिलेडमा खेलिएको अस्ट्रेलियाविरुद्धको टेस्टमा केवल ३६ रन बनाउँदै अलआउट भएको थियो ।
टेस्ट क्रिकेटमा भारतले बनाएको दोस्रो कम योगफल भने ४२ रन हो । भारतीय टोली सन् १९७४ को जुन २० तारिखमा लर्डसमा खेलिएको इङ्ल्यान्डविरुद्धको टेस्टमा केवल ४२ रनमा अलआउट भएको थियो ।
पहिलो टेस्टको पहिलो दिन बुधबारको खेल वर्षाका कारण सुरु नै हुन सकेको थिएन । दोस्रो दिनको खेल पनि समय–समयमा अवरुद्ध हुँदै अगाडि बढेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अभिनेत्री स्वस्तिमा खड्का ‘लिभोन’ को ब्रान्ड एम्बासडर नियुक्त
-
लिवियामा नेपाली शान्ति सैनिकको अदलीबदली, ४२ जनाको टोली प्रस्थान
-
इजरायलद्वारा वेस्ट ब्याङ्क क्षेत्रबाट १६ जना प्यालेस्टिनी पक्राउ
-
‘झुट बोल्ने प्रधानमन्त्री चाहिँदैन’ भन्दै माइतीघरमा विरोध प्रदर्शन
-
अर्जेन्टिनामा लैङ्गिक हिंसाविरुद्ध विशाल प्रदर्शन, किशोरीको बलात्कार र हत्यापछि देशभर उर्लियो जनआक्रोश
-
महोत्तरीका १६ कामदार भारतमा बन्धक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
Indian Premier League 2026