युएईबाट साढे ५ केजी सुन ल्याउने योजनाकार चिनियाँ, म्यानमारका दुई जना ‘भरिया’
काठमाडौँ । युएईको शारजहाबाट स्पिकरमा लुकाएर ल्याएको सुनसहित मङ्गलवार साँझ ३ जना विदेशी नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परे । त्रिभुवन विमानस्थल भन्सार कार्यालयका अधिकृत किरण विष्ट र सशस्त्र प्रहरीका इन्स्पेक्टर नेतृत्वको टोलीले ५ केजी ७ सय ग्राम सुन बरामद गरेका हुन् ।
सुन ओसारपसारमा संलग्न चिनियाँ नागरिक चियान चाङ, म्यानमार घर भएका साट नेइङ टन र ई नेगोनी फो लाई त्रिभुवन विमानस्थल भन्सार कार्यालयले थुनामा राखेर अनुसन्धान गरिरहेको छ ।
सुन ल्याउने मुख्य योजनाकार चिनियाँ चाङ रहेको भन्सारले गरेको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । सेप्टेम्बर २६ (असोज १०) मा काठमाडौँ आएर त्यसैदिन फर्केका चिनियाँ चाङ प्रहरीको पनि निगरानीमा थिए । उनले म्यानमारका दुई जनालाई प्रतिव्यक्ति ७ सय दिराम (२५ हजार भन्दा बढी नेपाली रुपैयाँ) दिने सर्तमा सुन लुकाएको स्पिकर सहितको दुई वटा लगेर बोकाएर काठमाडौँमा ल्याएको अनुसन्धानमा संलग्न भन्सार कार्यालयका अधिकृतहरू बताउँछन् ।
शारजहामा उनीहरूलाई पाकिस्तानी नागरिकले चिनजान गराइदिएका हुन् । म्यानमारका दुई जनाले अनुसन्धान अधिकृतहरूसँग भनेका छन्, ‘७ सय दिराम आउँछ भनेपछि हामी एक–एकवटा लगेज काठमाडौँसम्म ल्याउन सहमत भएका थियौँ, त्यहाँ सुन लुकाएको थाहा थिएन ।’
चिनियाँले दुवै लगेजमा म्यानमारकी ई नेगोनी फो को नाम लेखेका थिए । उनले दुवै लगेज आफ्नो भनेर स्विकारेका छैनन् । दुई वटा लगेजमा ६ वटाको दरले स्पिकर प्याक गरिएको थियो ।
एक्स-रे मेशिनले स्पिकरमा चुम्बक रहेको सङ्केत गरेपछि फुटाएर हेर्दा १२ वटामा ४८ वटा रिङ आकारको सुन फिट गरेको भेटिएको अनुसन्धानमा संलग्न अधिकृतले जानकारी दिए । उनले भने, ‘शङ्का लागेर फुटाउँदा सुन भेटिएको हो ।’
म्यानमारका दुई जनालाई भरियाको रूपमा प्रयोग गरेर चिनियाँले सुन ल्याएको भन्सार कार्यालयको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अब हरेक सोमबार चलचित्रको बक्स अफिस रिपोर्ट सार्वजनिक हुने
-
सशस्त्रको हेडक्वार्टरमा आगलागी भएको घटना छानबिन गर्न डीआईजीको नेतृत्वमा समिति गठन
-
चेक अनादर मुद्दामा सर्वोच्चको फैसला : बाउन्स भएको चेकको रकम र ब्याज दुवै भराउनुपर्ने
-
विदेशबाट फर्किपछि माछापालनः मनग्य आम्दानी गर्दै विजयकुमार
-
गर्मी बढ्दै जाँदा ‘लू’ को उच्च जोखिम : के हुन् लक्षण र कसरी बच्ने?
-
तिला गाउँपालिमा भौतिक पूर्वाधार निर्माणमा प्रगति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण