१० बजे, १० समाचार
आज मिति २०८१ साल कात्तिक महिनाको २३ गते शुक्रबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’ लिएर उपस्थित भएका छौँ–
१. मानव तस्करी प्रकरण
मानव तस्करीको आरोप लागेका कोशी प्रदेशका निवर्तमान आन्तरिक मामिला तथा कानुनमन्त्री लीलाबल्लभ अधिकारीले छानबिन नहुँदासम्म पार्टीको जिम्मेवारीबाट मुक्त गर्न निवेदन दिएका छन् । अधिकारीले स्पष्टीकरणसहित पार्टी जिम्मेवारीबाट मुक्त गर्न निवेदन दिएको नेकपा एमाले कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडाले जानकारी दिए । अधिकारी एमाले कोशी प्रदेश सदस्य हुन् ।
२. उपनिर्वाचनमा दलहरुको रणनीति
प्रमुख राजनीतिक दलहरू आगामी मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचन केन्द्रित आन्तरिक रणनीति बनाउन व्यस्त छन् ।
त्यसका लागि उनीहरूले मातहतका कमिटीहरूमार्फत आन्तरिक रिपोर्ट मगाएर मतदाताको अवस्था, तालमेल र विपक्षीका उम्मेदवारबारे समेत विश्लेषण गरिरहेका छन् ।
उपनिर्वाचनका लागि निर्वाचन आयोगले तोकेको मंसिर २ गतेको उम्मेदवारी दर्ताको समयलाई मध्यनजर गरेर प्रतिस्पर्धीको रणनीतिसमेत बुझ्दै र आफ्ना दलका उम्मेदवार छनोटको काम भइरहेको प्रमुख दलका नेताहरूको भनाइ छ ।
३. न्यायाधीशको संसदीय सुनुवाइ
सर्वोच्च अदालतका लागि प्रस्तावित दुई न्यायाधीश नृपध्वज निरौला र नित्यानन्द पाण्डे संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएका छन् । शुक्रबार सिंहदरबारस्थित संसद् सचिवालयमा भएको सुनुवाइका क्रममा निरौला र पाण्डेले आफ्नो भावी कार्ययोजना प्रस्तुत गरेका थिए । उनीहरूको कार्य योजनामाथि प्रश्न गर्दै सांसदहरूले प्राप्त उजुरीबारे पनि सांसदहरूले प्रश्न उठाएका थिए ।
४. हवाइ टिकटमा कालोबजारी
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल शुक्रबारदेखि दैनिक १० घण्टा बन्द भएको छ । विमानस्थलको रन–वे र ट्याक्सी–वे मर्मतका लागि विमानस्थल राति १० बजेदेखि बिहान ८ बजेसम्म बन्द सुरु गरिएको हो । यसअघि विमानस्थल दैनिक तीन घण्टा अर्थात् राति १ बजेदेखि बिहान ४ बजेसम्म बन्द हुँदै आएको थियो । यससँगै हवाइ टिकटमा पनि कालोबजारी सुरु भएको छ ।
५. भ्याकेटको निवेदन
राष्ट्रिय परिचयपत्र वितरणका सम्बन्धमा सर्वोच्च अदालतले जारी गरेको अन्तरिम आदेशका कारण सरकारलाई काम गर्न अप्ठ्यारो परेको भन्दै सर्वोच्च अदालतमा भ्याकेटको निवेदन दर्ता भएको छ। सरकारका तर्फबाट राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागका तर्फबाट शुक्रवार सर्वोच्चमा भ्याकेटको निवेदन दर्ता गरिएको हो ।
६. मनाङेको विज्ञप्ति
गण्डकी प्रदेश सभा सदस्य एवं पूर्वमन्त्री दीपक मनाङेले आफू सम्पर्कविहीन भएको भन्ने समाचार असत्य रहेको बताएका छन् । शुक्रबार एक विज्ञप्ति जारी गर्दै प्रदेशसभा सदस्य मनाङेले आफू सम्पर्कविहीन भएको भन्ने समाचारप्रति आपत्ति जनाएका हुन् ।
केही दिनअघि सर्वोच्च अदालतबाट दोषी ठहर भएसँगै उनी सम्पर्कविहीन भएको समाचार बाहिर आएको थियो ।
७. दुर्घटना अपडेट
शुक्रबार दिउँसो दैलेख–सुर्खेत सिमाना रातानाङ्लामा भएको फोर्स गाडी दुर्घटनामा चार जनाको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन् । दैलेखबाट सुर्खेत आउँदै गरेको ०२००ख०९९८ नम्बरको फोर्स गाडी वीरेन्द्रनगर नगरपालिका–१४ रातानाङ्ला नजिकै दुर्घटना भएको हो ।
नारायणगढ–मुग्लिन सडकखण्डको सत्र किलोमा आज बिहान भएको दुर्घटनामा ज्यान गुमाउनेको संख्या पाँच पुगेको छ । अन्य पाँच जना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ ।
८. आवेदन आह्वान
बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरूपण तथा मेलमिलाप आयोगका अध्यक्ष र सदस्यहरूको नियुक्तिका लागि नाम सिफारिस गर्न गठित उच्चस्तरीय समितिले दुवै आयोगको लागि अध्यक्ष तथा सदस्य पदका लागि आवेदन आह्वान गरेको छ ।
९. रेड नोटिस
मितेरी बचत तथा ऋण सहकारीको रकम अपचलनमा संलग्न ज्योति गुरुङ र ज्योति बहादुर भण्डारीविरुद्ध इन्टरपोलबाट रेड नोटिस जारी भएको छ । ज्योति गुरुङ नेपाली कांग्रेसका उप–सभापति धनराज गुरुङकी पूर्वपत्नी हुन् ।
१०. राजश्व चुहावट नियन्त्रणमा सरकार
राजश्व चुहावटसम्बन्धी अनुगमन गर्न सरकारले उच्च स्तरका दुई छुट्टाछुट्टै संयन्त्र बनाएको छ । शुक्रबार मुख्यसचिव एकनारायण अर्यालको नेतृत्वमा सरकार, नेपाल प्रहरी र सशस्त्र प्रहरीका उच्चपदस्थ कर्मचारीको बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
थप आर्थिक समाचार
यो पनि...
उदाउँदो सूर्यलाई अघ्र्य दिँदै छठ पर्व सम्पन्न भएको छ । चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने यस पर्वको चौथो दिन आज बिहान जलाशयबाट उदाउँदो सूर्यलाई अघ्र्य अर्पन गर्दै धूमधामका साथ छठ पर्व सम्पन्न भएको हो ।
यही कार्तिक ३० गतेलाई प्रदर्शन मिति घोषणा गरेको चलचित्र ‘मिसिङः केटी हराएको सूचना’को प्रदर्शन स्थगित गरिएको छ । शुक्रबार निर्माण कम्पनी ट्राई सिटी पिक्चर्सले विज्ञप्ति जारी गर्दै फिल्मको प्रदर्शन मिति स्थगित गरेको जानकारी दिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेपलका सीईओलाई ट्रम्पले दिए नियुक्ति
-
इङ्ल्यान्डविरुद्धको दोस्रो टेस्ट क्रिकेटमा घरेलु टोली न्युजिल्यान्ड दबाबमा
-
भुटानी राजा जिग्मे खेसार स्वयम्भूमा, तस्बिरहरू
-
माघ ५ मा तोकियो फिल्म ‘एक्टर’ को प्रदर्शन मिति
-
सहज रूपमा मागपत्र प्रमाणीकरण गरिदिए युरोपको रोजगारी बढ्छ
-
अधिकांश ठुला पूर्वाधारमा बजेटको समस्या छ : विनोद कुमार शाह