आइतबार, २३ मङ्सिर २०८१
ताजा लोकप्रिय

वर्ष दिनमा एउटा चार्टर उडानमा रमाइरहेको पोखरा विमानस्थल, नियमित उडान भर्न पोखरेलीको माग

शनिबार, २४ कात्तिक २०८१, २० : ०४
शनिबार, २४ कात्तिक २०८१

पोखरा । अन्तिम पटक अघिल्लो वर्षको नोभेम्बर २३ मा हिमालय एयरले चार्टर उडान भरेपछि पोखरा विमानस्थलमा अन्तर्राष्ट्रिय जहाज आउजाउ भएन । करिब १ वर्षपछि बिहीबार सिचुवान एयरलाइन्सले अर्को चार्टर उडान भर्‍यो ।

२०२३ को जनवरी १ तारिकमा भव्य समारोहका बिच उद्घाटन गरिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट हालसम्म ८ वटा मात्रै चार्टर जहाज आउजाउ गरेका छन् । बिहीबार क्रस कन्ट्रीमा भाग लिन आएका खेलाडी लिएर जहाज पोखरा अवतरण गरेको हो । सिचुवानको न्यारोबडी एयरबस–३१९ दोस्रो पटक पोखरा अवतरण गरिएको हो । तिब्बतको कुनमिन सहरबाट उडेको जहाजमा जहाँ १ सय २० जना यात्रु थिए ।

चीनको एक्जिम बैंकको ऋण सहयोगमा सीएएमसी इन्जिनियरिङ कम्पनीले विमानस्थल २२ अर्ब ६१ करोडमा निर्माण गरेको हो । त्यसबाहेक मुआब्जा र अन्य कामका लागि मात्रै थप ४ अर्ब भन्दा बढी लगानी भएको छ ।

चीनबाट लिएको ऋण भुक्तानी प्रारम्भ भैसकेको छ । तर विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान हुने छाँटकाँट छैन । अहिले काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मर्मत र स्तरोन्नतीको चरणमा छ । काठमाडौँमा ल्यान्ड हुँदै आएका जहाज भैरहवा डाइभर्ट गरिएको छ । पोखरेलीको आशा थियो, ‘पोखरामा पनि अन्तर्राष्ट्रिय एयरपोर्ट छ, केही जहाज पोखरा डाइभर्ट हुन्छन् ।’ नागरिक उड्डयन प्राधिकरणले पोखराको फ्लाइट सेड्युल दिएन । अहिले पोखरेली निराश छन् ।

पोखराबाट अन्तर्राष्ट्रिय फ्लाइट गराउन पोखरेलीको अनुनय छ । तर सरकारले सुनेको छैन । आन्तरिक उडानमार्फत पोखरा झरेका पर्यटन मन्त्री बद्री पाण्डेलाई यहाँका पर्यटन व्यवसायीहरूले भेटेर विमानस्थल सञ्चालनको माग राखे ।

पोखरा पर्यटन परिषद् र होटेल सङ्घले छुट्टाछुट्टै ज्ञापन पत्र मार्फत पोखराबाट अन्तर्राष्ट्रिय उडान भर्न आग्रह गरेका हुन् । होटेल सङ्घले हवाई र स्थल मार्गबाट हुने कनेक्टिभिटी पर्यटनमा महत्त्वपूर्ण हुने भएकोले सरकार गम्भीर हुन आग्रह गरेको छ ।

 ‘पर्यटनमा कनेक्टिभिटी महत्त्वपूर्ण हुन्छ । पोखरा पर्यटनको राजधानी हो,’ अध्यक्ष लक्ष्मण सुवेदी भन्छन्, ‘पोखरा आउने न राजमार्ग राम्रो छ, न जहाज भरपर्दो छ । पर्यटकले सास्ती पाए । हाम्रो लगानी डुब्ने खतरा भयो ।’

पोखराको पर्यटनमा मात्रै ६ खर्ब भन्दा बढीको लगानी छ । विमानस्थल सञ्चालन नभएका कारण लगानी डुब्ने चिन्तामा व्यवसायी छन् । व्यवसायीहरूले होटललाई उद्योग सरह मान्यता दिनुपर्ने, कृषि र ऊर्जा क्षेत्रमा दिइएको सहुलियत उपलब्ध गराउनुपर्ने जस्ता माग पनि राखे ।

अन्तर्राष्ट्रिय उडानसँगै आन्तरिक पर्यटकलाई लक्षित गरी सातै प्रदेश जोड्ने हवाई सेवा विस्तार गर्न उनीहरूको आग्रह छ । रात्रिकालीन व्यवसाय लक्षित ४२ बुँदे आचारसंहिता कार्यान्वयन हुन नसकेकोमा व्यवसायीहरूको चिन्ता छ । केही समयअघिको कार्यक्रममा रात्रिकालीन व्यवसायका कारण रातको समयमा पोखरा असुरक्षित भएको विज्ञहरूले नै बताइरहेका थिए ।

छुट्टै ज्ञापन पत्र बुझाएको पर्यटन परिषद्ले पनि पोखराबाट नियमित अन्तर्राष्ट्रिय उडानको माग गरेको छ । अध्यक्ष तारानाथ पहारीले नेपालकै ध्वजावाहक जहाजलाई भए पनि पोखराबाट नियमित अन्तर्राष्ट्रिय उडान गर्नुपर्ने बताए ।

 ‘ठिक छ अहिले विदेशी कम्पनी आएनन् होला । तर नेपाली ध्वजावाहकलाई त उडाउन सकिन्छ नि,’ उनले भने, ‘सरकार यस विषयमा गम्भीर हुनुपर्छ । पर्यटनको राजधानी झर्न पर्यटकले जहाज नपाउने भन्ने कुरा लज्जास्पद हो ।’ 

पर्यटन मन्त्री बद्रीप्रसाद पाण्डे भने विदेशी कम्पनीहरू पोखरामा उडान भर्न अनिच्छुक देखिएका बताए । विमानस्थलको पछिल्लो तथ्याङ्क अनुसार सन् २०२३ मा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट ९ लाख ८ हजार जना यात्रुले हवाई सेवा लिएका छन् । ती सबैजसो आन्तरिक यात्रु छन् ।

गतवर्ष मात्रै पोखरा विमानस्थलबाट ४० करोड आम्दानी भएको छ । तर अन्तर्राष्ट्रिय उडान नहुने हो भने विमानस्थल बनाउन लिइएको ऋण चुक्ता गर्न सक्ने अवस्था छैन । आन्तरिकसँगै ३ वटा अन्तर्राष्ट्रिय फ्लाइट नियमित गर्न सके वर्षमा १ अर्ब रुपैयाँ हाराहारी कमाइ हुने विमानस्थलको प्रक्षेपण छ ।

पोखरेलीको गुनासो सुनेपछि मन्त्री पाण्डेले भने, ‘सरकारले विभिन्न सहुलियत दिएको छ । विदेशी जहाज कम्पनीलाई आकर्षित गर्न सरकार हर सम्भव प्रयास गरिरहेको छ । तर पनि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित अन्तर्राष्ट्रिय उडान नहुनुको कारण जहाज उडान सम्बन्धी प्राविधिक कारण हो वा अन्य त्यो मन्त्रालयले प्राविधिक टोलीसँग बुझ्दै छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप

छुटाउनुभयो कि ?