कविता
कुन पार्टीलाई भोट दिऊँ
शनिबार, १३ पुस २०८१, ११ : ४५

आफ्नै देशमा काम पाए
काम बमोजिम दाम पाए
मलाई अब साउदी गएर
ताता घाममा सडक लिप्नु छैन
लौ भन्नुस् त आउने चुनावमा
कुन पार्टीलाई भोट दिऊँ
आफ्नै देशमा सुविधा सम्पन्न
गुणस्तरीय उच्चशिक्षा पाए
मलाई अब अमेरिका गएर
मास्टर र पिएचडी गर्नु छैन
लौ भन्नुस् त आउने चुनावमा
कुन पार्टीलाई भोट दिऊँ
सेवा सम्पन्न अस्पताल भए
औषधी सस्तो सुलभ भए
मलाई अब उपचार गर्न
एपोलो मेदान्त जानु छैन
लौ भन्नुस् त आउने चुनावमा
कुन पार्टीलाई भोट दिऊँ
देश र नेपालीको घरघरमा
उन्नति र विकाश देख्न पाए
टेक्नोलोजी र ट्रान्सपोर्टेशन हेर्न
सिंगापुर र जापान जानु छैन
लौ भन्नुस् त आउने चुनावमा
कुन पार्टीलाई भोट दिऊँ
हरेक क्षेत्रमा सुशासन छाए
घूस र भ्रष्टाचार निर्मूल भए
सेवा सुरक्षा अधिकारको लागि
नारा जुलुस गर्नु छैन
लौ भन्नुस् त आउने चुनावमा
कुन पार्टीलाई भोट दिऊँ