एउटै वडामा तीन जलविद्युत् आयोजनाको निर्माण सुरु

बेनी । म्याग्दीको धौलागिरि गाउँपालिका–४ मुदीमा तीनवटा जलविद्युत् आयोजना निर्माण सुरु भएको छ । धैलागिरि हिमालको फेदीबाट बग्ने म्याग्दी नदीबाट एक सय ५५ मेगावाट क्षमताको तीन जलविद्युत् आयोजना निर्माण सुरु भएका हुन् ।
ऊर्जा डेभलपर्स प्रालिअन्तर्गत म्याग्दी हाइड्रोपावर लिमिटेड प्रवर्द्धक रहेको ५३ दशमलव पाँच मेगावाट क्षमताको अपर म्याग्दी–१ जलविद्युत् आयोजनाले पूर्वाधार सुरु गरेको छ भने हाइड्रो भिलेज प्रवर्द्धक रहेको ६५ मेगावाट क्षमताको म्याग्दीखोला जलविद्युत् आयोजनाले पहुँचमार्ग निर्माणलाई तीव्रता दिएको छ ।
त्यसैगरी हाइड्रो इम्पायर प्रालि प्रवर्द्धक रहेको ३७ मेगावाट क्षमताको अपर म्याग्दी जलविद्युत् आयोजनाले समेत सुरुङ निर्माणको तयारी गरेको छ । म्याग्दी नदीसँगै यसका सहायक गुर्जाखोला र मुदी खोलामा विभिन्न आठ वटा जलविद्युत् आयोजना दर्ता भएकोमध्ये तीन वटा आयोजनाको निर्माण काम अघि बढेको धौलागिरि गाउँपालिका अध्यक्ष प्रेमप्रसाद पुनले बताए ।
“जलविद्युत् आयोजनाको निर्माण कार्य अघि बढेसँगै दुर्गम बस्तीमा सडकको पहुँच विस्तारमा समेत सघाउ पुगेको छ, हामीले आयोजनामा स्थानीय जनशक्तिलाई समेत प्राथमिकता दिएर काममा अवसर दिन र सामाजिक क्षेत्रमा गर्नुपर्ने उत्तरदायित्वका कार्यलाई प्रभावकारी बनाउन आग्रह गरेका छौँ”, गाउँपालिका अध्यक्ष पुनले भने ।
मुदीको खाम्लामा बाँध र मालिका गाउँपालिका–७ भारवाङमा विद्युत्गृह रहने अपर म्याग्दी–१ जलविद्युत् आयोजनाले पहुँचमार्ग निर्माण सकेर सुरुङ र बाँधतर्फका पूर्वाधार निर्माण सुरु गरेको छ । विसं २०८१ वैशाख २८ गतेदेखि पुर्वाधार निर्माण गर्न सुरु गरेको आयोजनाले कूल पाँच किलोमिटर सात सय मिटर सुरूङमध्ये पाँच सय ३० मिटर सुरुङ निर्माण सकिएको आयोजना प्रमुख ज्योतिकुमार केसीले बताए ।
उनका अनुसार, दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको यस आयोजनाको बाँध, सुरुङ र विद्युत्गृहतर्फ अहिलेसम्म करिब १७ प्रतिशत निर्माण कार्य पूरा भएको छ । मुदीकै दोभानमा बाँध र जेल्टुङमा विद्युत्गृह रहने ६५ मेगावाट क्षमताको म्याग्दीखोला जलविद्युत् आयोजनाले विद्युत् गृहको पहुँचमार्ग निर्माण गरेको छ । नाउरादेखि छ किलोमिटर दूरीमा पर्ने जेल्टुङमा विद्युत् गृहको लागि पूर्वाधार बनाउने र सुरुङ निर्माणको तयारी गरिएको छ । सुरुङ निर्माण र विद्युत् गृहदेखि बाँधतर्फको ११ किलोमिटर सडकको पहुँच विस्तारको काम एकैसाथ अघि बढाउने तयारी गरिएको आयोजना प्रमुख केसीले बताए ।
मुदीमै निर्माण हुन लागेको ३७ मेगावाट क्षमताको अपर म्याग्दी जलविद्युत् आयोजनाले समेत पहुँच मार्ग निर्माण सकेर सुरुङ निर्माणको तयारी गरेको आयोजनाका प्रबन्ध निर्देशक जितबहादुर घर्तिले जानकारी दिए । आयोजनाका अनुसार, पहुँचमार्ग, क्याम्प साइटलगायतका पूर्वाधार निर्माण सकिएको र बगर गाउँको पुछारमा रहने बाँध र नाउरामा रहने विद्युत्गृहबाट सुरुङ खन्ने तयारी गरिएको छ । जलविद्युत् आयोजना भित्रिएसँगै दुर्गम बस्तीको रूपमा रहेका खाम्ला, नाउरा, खिबाङ बगरलगायतका बस्तीमा सडकको पहुँच पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘मानवतालाई जीवित राखौँ’ भन्ने नाराका साथ रेडक्रस दिवस मनाइँदै
-
मन्त्रिपरिषद् बैठक बस्दै, के छन् छलफलका एजेन्डा ?
-
प्रतिनिधिसभा बैठक बस्दै, नीति तथा कार्यक्रममाथिको छलफल जारी रहने
-
‘वर्ड रिजर्भ’ क्षेत्रमै चरालाई सङ्कट
-
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
-
गभर्नर नियुक्ति प्रकरण : पन्छिएका उम्मेदवार फेरि रेसमा