बसन्त कुँवरले चैत ५ मा अवकाश पाउने, आईजीपीको प्रतिस्पर्धामा ३ एआईजी
काठमाडौँ । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले चैत ५ मा अवकाश पाउँदै छन् । २०७९ चैत १० मा प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्त भएका उनी ३० वर्षे सेवा अवधि पूरा गरेर अवकाशमा जान लागेका हुन् । करिब दुई वर्षसम्म ८९ हजार फौजको कमाण्ड गरेर उनी बिदा हुन लागेका हुन् ।
कुँवरको अवकाश मिति नजिकिएसँगै नेपाल प्रहरीको ३१ औँ आईजीपी को हुन्छ भन्नेबारे आम चासो छ । पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको तत्कालीन सरकारले कुँवरलाई वरीयताको आधारमा आईजीपी नियुक्त गरेको थियो । कुँवर वरीयता सूचीको १ नम्बरमा थिए ।
कुँवरसँगै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) भएका टेकप्रसाद राई पनि अवकाशमा जाँदै छन् । श्यामलाल ज्ञवाली र किरण बज्राचार्यले अवकाश पाइसकेका छन् । अहिले बहालमा रहेका एआईजीहरू बुद्धिराज गुरुङ, दुर्गा सिंह, कुवेर कडायत र प्रस्तावित एआईजी जनक भट्टराई पनि सँगै अवकाशमा जाँदै छन् ।
प्रहरीको ३१ औँ आईजीपी बन्न तीन जना अतिरिक्त महानिरीक्षक प्रतिस्पर्धामा छन् । प्रहरी अतिरिक्त महानिरीक्षकहरू दीपक थापा, सुदिप गिरी र टेक बहादुर तामाङ आईजीपीका लागि प्रतिस्पर्धी हुन् । थापा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का प्रमुख हुन् । गिरी राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान र तामाङ उपत्यका प्रहरी कार्यालयमा कार्यरत छन् ।
२०५२ भदौ १९ मा प्रहरी सेवामा प्रवेश गरेका उनीहरूमध्ये दीपक थापा २०७९ चैत ६ मा बसन्त कुँवरसँगै एआईजीमा बढुवा भएका थिए । पछि कुँवर आईजीपी भए । सुदीप गिरी र टेकबहादुर तामाङ २०७९ चैत २४ मा एआईजीमा बढुवा भएका हुन् । उनीहरू १८ दिन ढिला बढुवा भएका थिए । वरीयता सूची अनुसार पहिलो नम्बरमा थापा, दोस्रोमा गिरी र तेस्रोमा तामाङ छन् । मन्त्रिपरिषद्ले मेरिट अनुसार नियुक्ति गरेमा थापा प्रहरी प्रमुख हुने सम्भावना उच्च छ ।
- को कस्ता ?
प्रतिस्पर्धाको पहिलो नम्बरमा रहेका थापा फिल्ड कमाण्डमा अनुभवी मानिन्छन् । इन्स्पेक्टर हुँदा उनले बनेपा र गरुडाको कमाण्ड गरेका थिए । माओवादी युद्धकालमा इलाका प्रहरी कार्यालय मैकोटमा बसेका थापाले डीएसपी भएर दुई वर्ष खोटाङ जिल्लाको कमाण्ड गरे । प्रधानमन्त्रीको व्यक्तिगत सुरक्षा अधिकृत भएर काम गरेका उनले प्रहरी वृत्त महाराजगञ्जको पनि कमाण्ड गरेका थिए ।
एसपी हुँदा थापाले चितवन जिल्लाको कमाण्ड गरे । प्रहरी प्रधान कार्यालयभित्र महत्त्वपूर्ण मानिने कर्मचारी प्रशासन शाखा र आर्थिक प्रशासन महाशाखामा काम गरेका थापाले अपराध महाशाखा (हाल काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय) को पनि कमाण्ड गरेका छन् । उनी २०७७ मा अपराध महाशाखाको प्रमुख भएका थिए ।
डीआईजीमा प्रबन्ध निर्देशनालय र बागमती प्रदेश प्रहरी कार्यालयको कमाण्ड गरेको अनुभव पनि थापासँग छ । एआईजीमा उनले प्रशासन विभागको प्रमुख, उपत्यका प्रहरी कार्यालय रानीपोखरी र सीआईबीको कमाण्ड गरेका छन् ।
वरीयताको दुई नम्बरमा रहेका गिरी सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश केदार गिरीका छोरा हुन् । कमाण्डो तालिम गरेका गिरीले डीएसपी हुँदा प्रहरी वृत्त कालिमाटीको कमाण्ड गरेका थिए ।
एसपी हुँदा गिरीले पर्सा र कैलालीको कमाण्ड गरे । एसएसपी भएपछि उनले जिल्ला प्रहरी परिसर काठमाडौँको कमाण्ड गरे । डीआईजीमा बढुवा भएसँगै कोशी प्रदेश प्रहरी कार्यालयको प्रमुख भएका गिरीसँग विशेष ब्यूरोमा लामो समय काम गरेको अनुभव छ ।
टेक बहादुर तामाङले इन्स्पेक्टर हुँदा गजुरी, सानेपा र लैनचौरमा बसेर काम गरेका थिए । डीएसपीमा उनले जिल्ला प्रहरी कार्यालय अर्घाखाँची र खोटाङको कमाण्ड गरे । उनले प्रहरी वृत्त कालिमाटीको पनि कमाण्ड गरेका थिए ।
एसपीमा बढुवा भएपछि उनले जिल्ला प्रहरी कार्यालय बाँकेको कमाण्ड गरे । डीआईजीमा बढुवा भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रहरी महाशाखामा काम गरेका तामाङले एआईजीमा लामो समय अपराध अनुसन्धान विभागमा बसेर काम गरे । हाल उनी उपत्यका प्रहरी कार्यालय, रानीपोखरीको प्रमुख हुन् ।
- तीनै जना दौडधुपमा
आईजीपी हुन तीनै जना दौडधुपमा लागेका छन् । भक्तपुरका स्थानीय दीपक थापाको उच्च तहका राजनीतिक नेतृत्वसँग राम्रो सम्बन्ध छ । वरीयतामा पहिलो नम्बर र नेतृत्वसँगको सम्बन्धका कारण उनी आईजीपी हुने सम्भावना रहेको धेरैको आकलन छ ।
प्रतिस्पर्धामा रहेका सुदिप गिरी पूर्वप्रधानन्यायाधीशका छोरा हुन् । उनी नेपाली कांग्रेस निकट भनेर चिनिन्छन् । उनलाई आईजीपी बनाउन कांग्रेस नेताद्वय पूर्ण बहादुर खड्का र बालकृष्ण खाँणले लबिङ गरेको चर्चा छ ।
अर्का प्रतिस्पर्धी टेक बहादुर तामाङले पनि झापाका नेताहरूमार्फत लबिङ गरिरहेका छन् । झापाको दमक ससुराली भएका उनी पूर्वडीआईजी देवीलाल तामाङका ज्वाइँ हुन् । अख्तियार प्रमुख प्रेम कुमार राईसँग निकट सम्बन्ध रहेका तामाङ प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘कन्भिन्स’ गर्ने प्रयासमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद
-
‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता
-
स्वास्थ्यमन्त्रीले गरिन् खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन
-
रसुवा भन्सारबाट तानिएका यी हुन् ६ कर्मचारी, राजेन्द्र ढुङ्गाना नयाँ प्रमुख
-
संविधान संशोधनबारे पूर्वराष्ट्रपति यादव र भण्डारीकाे सुझाव : राष्ट्रिय सहमति, समावेशिता र प्रणाली सुधारमा जोड
-
एमालेको ठहरः जनतासँग दूरी बढ्नुको कारण नेताहरूको विलासी जीवनशैली
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण