बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
स्वास्थ्य

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति रिक्त, सर्च कमिटी नै बन्न सकेन

प्रतिष्ठान भित्रबाटै ५ जना आकाङ्क्षी
बुधबार, ०३ वैशाख २०८२, १६ : ००
बुधबार, ०३ वैशाख २०८२

काठमाडौँ । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति पदका लागि पाँच जना आकाङ्क्षी देखिएका छन् । हालका उपकुलपति प्राडा राजेश नाथ गोंगलको चार वर्षे कार्यकाल गत चैत २७ गते सकिएको थियो ।

उनको कार्यकाल सकिएसँगै नयाँ उपकुलपतिका लागि प्रतिष्ठानभित्रै कार्यरत पाँच जना आकाङ्क्षी देखिएका हुन् । जसमा हालका सेवा आयोगका अध्यक्ष प्राडा केदार बराल, हालका रजिस्ट्रार प्राडा पारस कुमार आचार्य, त्यस्तै प्राडा विष्णु शर्मा, प्राडा बुद्धि पौडेल र प्राडा सिर्जना श्रेष्ठ उपकुलपतिका लागि आकाङ्क्षी देखिएका हुन् ।

स्वास्थ्य तथा जनसंख्यामन्त्रीको संयोजकत्वमा तीन सदस्यीय सर्च कमिटी बनाउनुपर्ने हुन्छ । उक्त सर्च कमिटीले गरेको सिफारिसका आधारमा कुलपति तथा प्रधानमन्त्रीले एक जनालाई उपकुलपति नियुक्त गर्नुपर्ने हुन्छ । तर, अहिलेसम्म सर्च कमिटी नै बन्न सकेको छैन ।

विगतदेखि नै प्रतिष्ठानभित्रबाट नै उपकुलपति बन्दै आएका छन् । एक पटक सरकारले संगीता भण्डारीलाई बाहिरबाट उपकुलपति नियुक्त गरेको थियो । त्यसपछि कर्मचारीहरूले आन्दोलन गरेर उनलाई प्रवेश निषेध गरेका थिए ।

अहिले पनि प्रतिष्ठानभित्रबाट नै उपकुलपति बनाउनुपर्ने माग उठ्दै आएको छ । त्यसका लागि प्रतिष्ठानका केही अधिकारीहरूले स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेललाई भेटेका थिए । भेटको क्रममा प्रतिष्ठानभित्रबाट नै यथाशीघ्र उपकुलपति नियुक्त गर्नुपर्ने माग राखेका थिए ।

त्यसैले, प्रतिष्ठानभित्रै कार्यरत पाँच जना अहिले उपकुलपतिका लागि आकाङ्क्षा देखाएका हुन् ।

आकाङ्क्षीमध्ये केदार बराल हाल सेवा आयोगको अध्यक्ष छन् । उनको तीन वर्षे कार्यकाल बाँकी नै छ । प्रधानमन्त्री केपी शर्मा ओली नजिकको भएकाले उनी बलियो उम्मेदवार देखिएका छन् ।

प्रतिष्ठानमै हुँदा उनी रेक्टर भएका थिए । रेक्टरबाट रिटायर्ड भए । त्यसपछि उनी सेवा आयोगको अध्यक्षमा नियुक्त भए । सेवा आयोगको चार वर्षे अध्यक्षको कार्यकाल पूरा गरिसकेपछि उनी पुनः अध्यक्ष भए । अब उनको तीन वर्षे कार्यकाल बाँकी छ ।

त्यस्तै अर्का आकाङ्क्षी देखिएका पारस कुमार आचार्य कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको पूर्व उपकुलपति हुन् । कांग्रेसी कोटाबाट कर्णालीको उपकुलपति बनेका उनी चार वर्षे कार्यकाल सकिएपछि पुनः पाटनमा आएर रजिस्ट्रार बनेका थिए ।

पाटनमा समेत चार वर्षे कार्यकाल सकिएपछि पुनः रजिस्ट्रार भए । अब उनको २ वर्षे कार्यकाल बाँकी छ ।

त्यस्तै एमालेको एक पक्षले विष्णु शर्मालाई उपकुलपतिको सम्भावित उम्मेदवारका उठाइरहेको छ । उनी डेन्टल हस्पिटल डाइरेक्टर थिए ।

त्यस्तै एमालेकै अर्को समूहले प्राडा बुद्धि पौडेललाई समातेको छ । त्यस्तै २ पटक डीन भइसकेकी सिर्जना श्रेष्ठ समेत उपकुलपतिको लागि आकाङ्क्षी देखिएकी छन् ।

उनी रेक्टर बन्ने बेला राजनीतिक आस्थाका आधारमा प्राडा शर्मालाई रेक्टर बनाइएको थियो । जसले गर्दा उनी रेक्टर बन्न पाएकी थिइनन् । अहिले उनी समेत उपकुलपतिका लागि दाबेदार देखिएकी हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप