बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
राप्रपाको प्रदर्शन

राप्रपाका प्रदर्शनकारी बिजुलीबजारमा भेला हुने, पार्टी कार्यालयमा रणनीतिक बैठक

शनिबार, ०६ वैशाख २०८२, २० : ३१
शनिबार, ०६ वैशाख २०८२

काठमाडौँ । राजावादी पार्टी राप्रपाले आइतबार राजधानीमा वर्तमान व्यवस्थाविरुद्ध प्रदर्शन कार्यक्रम तय गरेको छ । उक्त प्रदर्शनका लागि राजावादीहरूलाई पार्टीले बिजुलीबजारमा भेला हुन अनुरोध गरेको छ।

पार्टी प्रवक्ता मोहन श्रेष्ठले आइतबार मध्याह्न १२ बजे बिजुलीबजार पुलमा भेला भएर अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा शान्तिपूर्ण प्रदर्शन गर्ने बताए । 

यसअघि लिङ्देनले भने निषेधित क्षेत्रमा प्रदर्शन गर्ने बताएका थिए । राप्रपाका नेताहरूका अनुसार प्रदर्शनअघि आइतबार बिहान नेताहरूलाई रणनीतिक बैठकका लागि पार्टी कार्यालय धुम्बाराहीमा बोलाइएको छ । 

उक्त बैठकबाट आइतबार हुने आन्दोलनका लागि तीन जना कमाण्डर तोक्ने सम्भावना रहेको एक नेताले बताए । बिजुली बजारमा प्रदर्शनकारीको नेतृत्व अध्यक्ष लिङ्देनले नै गर्ने तयारी छ । लिङ्देन नेतृत्वको प्रदर्शनकारी बानेश्वर पुगेर निषेधित क्षेत्र तोड्न प्रयासमा हुने बताइएको छ । 

यस्तै थप दुई कमाण्डर एउटा बालुवाटार र अर्को भद्रकाली गएर निषेधित क्षेत्र तोड्ने प्रयासमा हुने बताइएको छ । सोहीअनुसार आइतबार बिहानको बैठकले रणनीति तय गर्ने बताइएको छ । 

उसो त प्रदर्शनमा जगमान गुरुङ कार्यबाहक संयोजक रहेको संयुक्त आन्दोलन समितिले पनि साथ दिने भएको छ । गुरुङले शनिबार जारी गरेको विज्ञप्तिमा संवैधानिक राजसंस्था, सनातन हिन्दु अधिराज्य, संघीयताको खारेजी, भ्रष्टाचारको अन्त्य एवं सुशासनको पक्षमा क्रियाशील रहेर आइतबारदेखि राप्रपा लगायत सबै देशभक्त, राष्ट्रवादी दल, समूह, अभियानहरूबाट आयोजना हुने कार्यक्रमहरूमा संयुक्त जनआन्दोलन समितिको पूर्ण साथ, सहयोग रहने उल्लेख छ । 

उनले ती कार्यक्रमहरूमा सहभागी हुन समेत अनुरोध गरेका छन् । 

तर, गृह मन्त्रालयले  शनिबार एक विज्ञप्ति जारी गर्दै निषेधित क्षेत्रमा प्रदर्शन गरे कानुनी कारबाही गर्ने चेतावनी दिएको छ । 

राप्रपाले प्रहरी हिरासतमा रहेका नेता कार्यकर्ताहरूको रिहाइका लागि राजनैतिक र कानुनी लडाइँ जारी राख्ने वैशाख ४ को केन्द्रीय कार्यसम्पादन समितिले निर्णय गरेको थियो । चैत १५ मा राजावादी समूहले गरेको प्रदर्शन हिंसात्मक भएसँगै सोही पार्टीका नेताहरू धवलशमशेर राणा र रवीन्द्र मिश्रलगायत पक्राउ परेका थिए । 

उनीहरूको रिहाइका साथै  चैत्र १५ गते तिनकुनेमा भएको घटनाको निष्पक्ष न्यायिक आयोग गठन गर्न दबाब दिन समेत निषेधित क्षेत्रमा प्रदर्शन गर्न लागेको प्रवक्ता श्रेष्ठको भनाइ छ । यस्तै संवैधानिक राजसंस्था हिन्दु राष्ट्रको पुनःस्थापना, संघीयताको खारेजी लगायतका मुद्दाहरूमा समर्थन जुटाउन सबै पक्षसँग छलफल र अन्तरक्रियाका कार्यक्रमहरू सञ्चालन गर्नेलगायतका निर्णय समेत गरेको छ । सोहीअनुसार राप्रपाले आन्दोलनका कार्यक्रमलाई सशक्त बनाउँदै लगेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप