शनिबार, १० जेठ २०८२
ताजा लोकप्रिय
राजनीति

देउवाको बैंकक भ्रमणकै कारण ढल्छ त ओली नेतृत्वको सरकार ?

बिहीबार, ११ वैशाख २०८२, १३ : २१
बिहीबार, ११ वैशाख २०८२

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बैंकक भ्रमणमा गएसँगै नेपालको राजनीति तरङ्गित भएको छ । उनको भ्रमणलाई कतिपयले सरकार परिवर्तन हुने कडीका रूपमा अर्थ्याउन थालेका छन् ।

प्रतिनिधि सभाका दुई ठुला दल नेपाली कांग्रेस र नेकपा एमालेबिच सहकार्य रहुन्जेलसम्म वर्तमान सरकारको स्थायित्वमा कुनै खतरा देखिँदैन । यद्यपि, कांग्रेस सभापति देउवाको बैंकक भ्रमणलाई कतिपयले राजनीतिक उद्देश्यसँग जोडेर व्याख्या गरिरहेका छन् ।

त्यसो त, पूर्वप्रधानमन्त्री देउवा स्वास्थ्य परीक्षणका लागि बैंकक गएका हुन् । २०७० देखि आफ्नो आँखा र पेटको उपचार सिंगापुरमा गराउँदै आएका उनी ‘फलोअप’का लागि भने बैंकक गएका हुन् । यसअघि २०८० जेठ ३० गते उनी फलोअपका लागि सिंगापुर नै गएका थिए ।

झन्डै दुई वर्षपछि देउवा फलोअपकै लागि सिंगापुर नभएर बैंकक जानु आफैँमा अनौठो भएको छ । देउवा वैशाख ७ गते बैंकक प्रस्थान गरेका हुन् । सभापति देउवाका सचिवालयका सदस्यहरूले सिंगापुरमा उपचार गरेका डाक्टर यतिखेर बैंककमा भएको कारण फलोअपका लागि बैंकक जानु परेको बताउँदै आएका छन् । 

यही विषयलाई कतिपयले आशंकाका रूपमा हेरेका हुन् । बैंककमा उनले अन्तर्राष्ट्रिय समुदायका विभिन्न शक्तिकेन्द्रसँग छलफलका लागि देउवा गएको उनीहरूको आकलन छ । प्रधानमन्त्री केपी शर्मा ओलीले नै यसबारे प्रतिक्रिया दिएपछि देउवाको बैंकक भ्रमणबारे अझ बढी चासो बढाएको हो ।

प्रधानमन्त्री ओलीले कांग्रेस सभापति देउवा उपचारका लागि बैंकक जानुलाई पनि सत्तासँग जोडेर हेरिएकोमा असन्तुष्टि जनाए । उनले सोमवार एउटा कार्यक्रममा भनेका थिए, ‘कांग्रेसका सभापति शेरबहादुर देउवा स्वास्थ्य परीक्षणका लागि बैंकक गएको सन्दर्भलाई पनि सरकार ढल्छ भन्ने खालका हल्लासँग जोड्न खोजियो ।’

प्रधानमन्त्री ओलीले अबको १५ महिनापछि आफूले कांग्रेस सभापति देउवालाई सरकारको नेतृत्व हस्तान्तरण गर्ने दोहोर्‍याए । 

त्यसो त, कांग्रेसकै कतिपय नेता वर्तमान सरकारप्रति असन्तुष्ट देखिएका छन् । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, इतर पक्षका नेता डा. शेखर कोइराला लगायतले सार्वजनिक रूपमै सरकारको आलोचना गरेका छन् ।

एमालेले वैशाख १ गते सचिवालय बैठक बोलाएर त्यसको बारेमा समीक्षामात्र गरेन, वैशाख २ गते प्रधानमन्त्री ओली र सभापति देउवाबिच छलफल पनि भयो । छलफलपछि वैशाख ३ गतेका लागि सरकारी संयन्त्रको बैठक नै बोलाए । तर सो बैठकमा संयन्त्रका सदस्यद्वय गगन थापा र पूर्णबहादुर खड्का अनुपस्थित भए । 

वैशाख ३ गतेका लागि बोलाएको बैठककै दिन गगन थापा पार्टीको कार्यक्रमका लागि बारा गएका थिए । उनकै कारण साँझका लागि बैठक बोलाएको थियो । तर उनी काठमाडौँ फर्के पनि बालुवाटारमा बसेको संयन्त्रको बैठकमा गएनन् । उनलाई बालुवाटारबाट फोन सम्पर्क गरेपछि मोबाइल स्विच अफ गरेर बसेका थिए । 

बैठक बस्न नसकेर विभिन्न आशंका उब्जिरहेको बेला गृहमन्त्री एवं कांग्रेसका नेता रमेश लेखकले भनेका थिए, ‘सरकार तथा गठबन्धनमा कुनै समस्या छैन । कसैले केही बोलिरहेका छन् भने त्यसको व्यक्तिगत कुरा हो ।’

वैशाख ३ गते नै गगन थापाले बारामा भनेका थिए, ‘यो गठबन्धन ०८४ सम्म जान्छ तर सरकारले आफ्नो कार्यशैली सुधार गर्नुपर्छ ।’ अर्का महामन्त्री विश्वप्रकाश शर्माले पनि आफ्नो फेसबुकमा गठबन्धन कायम रहे पनि सरकारको कार्यशैली फेर्नुपर्नेमा जोड दिएका छन् ।

संयन्त्रका बैठकमा थापा र खड्का उपस्थित नभएपछि सभापति देउवाले वैशाख ४ गते पदाधिकारी तथा मन्त्रीहरूलाई बुढानीलकण्ठमा बोलाएर छलफल गरेका थिए । छलफलमा पनि सरकारकै आलोचना भएको थियो । सरकारले आफ्नो कार्यशैली परिवर्तन गरेर जनअपेक्षा अनुसार काम गर्नुपर्ने धारणा अधिकांश नेताले राखेको बैठकमा सहभागी एक नेताले बताए । 

कतिपय नेताको बुझाइ अनुसार सभापति देउवा बैंकक जानुअघि प्रधानमन्त्री ओली, प्रतिपक्षी दलका नेता प्रचण्ड तथा आफ्नै पार्टीका नेता तथा मन्त्रीहरूसँग वर्तमान राजनीतिक अवस्थाको बारेमा जानकारी लिएका छन् । 

प्रतिपक्षी दल माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पछिल्लो समय लगातार सरकारमाथि प्रहार गर्दै आएका छन् । उनले वर्तमान सरकार ढाल्न आफूहरूलाई चासो नभएको तर गठबन्धन भित्रकै विभिन्न समस्याका कारण कुनै पनि बेला सरकार ढल्न सक्ने बताउँदै आएका छन् । 

वैशाख ५ गते प्रचण्डले कपिलवस्तुमा भनेका थिए, ‘यो वर्तमान सरकार आफ्नै कारणले ढल्दैछ ।’ त्यही दिन चितवनमा रहेका प्रधानमन्त्री ओलीले भनेका थिए, ‘ढुक्क भएर काम गर्नुस्, यो सरकार ढल्दैन ।’

त्यसकै भोलिपल्ट अर्थात् वैशाख ६ गते प्रधानमन्त्री ओली, कांग्रेसका सभापति देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबिच बालुवाटारमा भेटघाट भएको थियो । संघीयता र लोकतन्त्रका लागि एक ढिक्का रहने सहमति तीन जना अध्यक्षले गरेका थिए । 

त्यसको भोलिपल्ट अर्थात् वैशाख ७ गते सभापति देउवा बैंकक उडे । नेपालमा विकसित राजनीतिक घटनाक्रम हेर्दा सभापति देउवाको बैंकक भ्रमणमा संशय उत्पन्न भएको बताइन्छ । 

तर परराष्ट्र सचिव रहिसकेका मधुरमण आचार्य भन्छन्, ‘सरकार बैंककबाट परिवर्तन हुन्छ कि नेपालबाट ? नेपालमा जुन कुरालाई लम्ब्याउने चलन भएको कारण यो अवस्था आएको हो ।’ 

पूर्वराजदूत निलाम्बर आचार्यले पनि सभापति देउवाको बैंकक भ्रमणले नेपालको राजनीतिमा केही फरक नपर्ने बताए । त्यहाँ कसैसँग भेटघाट हुँदैन भनेर ग्यारेन्टी लिन नसकिने तर त्यस्तो भेटघाटले यहाँको राजनीतिलाई प्रभाव पार्छ भन्नेमा आफूलाई विश्वास नलागेको उनको भनाइ छ ।

‘समस्या जहाँ छ, त्यही समाधान गर्नुपर्छ,’ उनले भने, ‘राजनीतिक दलहरू आपसमा मिलेर समस्या समाधान गर्नुपर्छ ।’ नेपालको राजनीति ठिक बाटोमा हिँडे पनि सरकारले जनतालाई डेलिभरी दिन नसकेको उनले बताए ।

परराष्ट्र विज्ञ अरुण सुवेदीले नेपालको सत्ता परिवर्तन गर्नका लागि बैंकक जाने अवस्था नरहेको बताए । उनले भने, ‘नेपालको सत्ता परिवर्तन गर्नका लागि बैंकक जानुपर्ने हो र ? यहाँ बसेर पनि गर्न सकिन्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप

छुटाउनुभयो कि ?