आइतबार, ०१ असार २०८२
ताजा लोकप्रिय
राजनीति

वाईसीएलको कर्णाली प्रदेश अध्यक्षमा शर्मा पक्षधर ओली चयन

बिहीबार, ०१ जेठ २०८२, १७ : १७
बिहीबार, ०१ जेठ २०८२

समाचार सारांश

  • वाइसीएल कर्णाली प्रदेशको अध्यक्षमा रुकुम पश्चिमका लक्ष्मण ओली चयन भएका छन्। उनी ७१ सदस्यीय समितिको नेतृत्व गर्नेछन्।
  • अध्यक्षका लागि रुकुमका ओलीसँगै जाजरकोटका विकास ओली र लोकेन्द्र राना आकांक्षी थिए, तर अन्ततः ओलीले बाजी मारे।

सुर्खेत । नेकपा (माओवादी केन्द्र) निकट योङ कम्युनिस्ट लिग (वाईसीएल) कर्णाली प्रदेशको अध्यक्षमा रुकुम पश्चिमका लक्ष्मण ओली चयन भएका छन् ।

लामो रस्साकस्सीबिच अन्तमा उनको नेतृत्वमा ७१ सदस्यीय समिति सर्वसम्मत गरिएको हो ।

सोमबारदेखि सुरु भएको वाईसीएलको प्रथम सम्मेलन मङ्गलवार सम्पन्न गर्ने तयारी थियो । तर नेतृत्वमा रस्साकस्सी चलेपछि बिहीबार मात्रै सर्वसम्मत भएको हो ।

अध्यक्षमा रुकुमका ओलीसँगै सुर्खेतका विकास ओली, जाजरकोटका लोकेन्द्र राना आकाङ्क्षी थिए । विकास ओली र लक्ष्मण ओलीमध्ये एकको पक्षमा सर्वसम्मत गराउने गरी नेताहरूले छलफल चलाएका थिए । तर दुवै जना पछि हट्न नचाहेपछि रानालाई पनि दाबेदारका रूपमा अगाडि सारिएको थियो । 

तीन जनाबिच चुनावै हुने स्थिति आएको थियो । त्यसका पछाडि नेताहरूबिच आफ्नो मान्छे नेतृत्वमा ल्याउनका लागि प्रतिष्ठाको लडाइँ नै चलेको एक नेताले बताए । तर पार्टी हेडक्वाटरबाट जसरी पनि सर्वसम्मत गराउनुपर्ने निर्देशन अनुसार अन्तमा रुकुम पश्चिमका ओलीलाई नै अध्यक्ष चुनिएको ती नेता बताउँछन् । 

कर्णालीमा माओवादी उपमहासचि जनार्दन शर्माको दबदबा छ । पछिल्लो पटक विद्यार्थीको चुनावपछि धेरै नेताहरूले गुट बदलेको चर्चा छ । अध्यक्षका दाबेदार अन्य दुई जना हेडक्वार्टर अर्थात् कर्णालीका शक्ति बस्नेत लाइनका चिनिन्छन् । रुकुमका ओली भने जनार्दन शर्मा निकट हुन् । 

यस्तै उपाध्यक्षमा प्रतिमा वली, हंस बस्नेत, विशाल रोकाय, सचिवमा लोकेन्द्र राना, सहसचिव प्रेमबहादुर नेपाली, दीपक विष्ट, कृष्णा शाही, रमेश बुढाथोकी, प्रयागराज दाहाल, हरिकृष्ण रावत, सूर्य फडेरा चयन भएका छन् ।  यस्तै कोषाध्यक्षमा तिलक पाण्डे चयन भएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप