यी बेलायतीले तोडे सगरमाथा आरोहणको आफ्नै रेकर्ड
सोमबार, ०५ जेठ २०८२, १० : ४४

समाचार सारांश
- बेलायती पर्वतारोही केन्टन कुलले १९ पटक सगरमाथाको सफल आरोहण गरे। उनी गैर-शेर्पा मध्ये सबैभन्दा धेरै पटक सगरमाथा चढ्ने व्यक्ति हुन्।
- केन्टन कुलले २००४ देखि हरेक वर्ष सगरमाथा आरोहण गर्दै आएका छन्। यसपटक दोर्जे ग्याल्जेन शेर्पाले २३ औं पटक सगरमाथा चढे।
- सगरमाथा आरोहणको कीर्तिमान कामीरिता शेर्पाको नाममा छ, जसले ३० पटक सगरमाथा चढिसकेका छन्।
काठमाडौँ । संसारको सर्वोच्च र र चढ्न कठिन चुचुरोमध्ये एक हो सगरमाथा । यहाँ एक पटक त मुस्किल छ, तर एक बेलायती पर्वतारोहीले १९ पटक सगरमाथा चढेका छन् । गाइड तथा पर्वतारोही केन्टन कुल सबैभन्दा धेरै पटक सगरमाथा आरोहण गर्ने गैर-शेर्पा हुन् ।
दक्षिण–पश्चिम इङ्गल्यान्डका बासिन्दा ५१ वर्षीय केन्टन कुलले आइतबार स्थानीय समयअनुसार बिहान ११ बजे अन्य केही पर्वतारोहीहरूसँगै ८,८४९ मिटर अग्लो चुचुरोमा पुगेका थिए ।
कुलले पहिलो पटक २००४ मा सगरमाथा आरोहण गरेका थिए र त्यसबेलादेखि लगभग हरेक वर्ष उनले यो उपलब्धि दोहोर्याउँदै आएका छन् । आइतबार, उनको साथमा दोर्जे ग्याल्जेन शेर्पाले पनि सगरमाथा चढेका थिए ।
योसँगै दोर्जेले २३ औँ पटक सगरमाथा आरोहण गरेका छन् । सबैभन्दा धेरै पटक सगरमाथा चढ्ने व्यक्ति कामीरिता शेर्पा हुन् । उनले ३० पटक सगरमाथा चढिसकेका छन् ।