१३ वर्ष, ५ सय खेल र २ सय गोल

समाचार सारांश
- जेमी भार्डीले लेस्टर सिटीका लागि १३ वर्ष बिताए, क्लबलाई प्रिमियर लिगको उपाधि दिलाए।
- भार्डीले लेस्टरका लागि आफ्नो अन्तिम खेलमा गोल गरे र क्लबका लागि २०० गोल पूरा गरे।
- लेस्टर सिटीबाट बिदा हुँदा भार्डीले क्लबको उज्ज्वल भविष्यको कामना गरे र समर्थकहरूप्रति आभार व्यक्त गरे।
काठमाडौँ । लेस्टर सिटीले इङ्ल्यान्डका प्रभावशाली स्ट्राइकर जेमी भार्डीका लागि फ्लिटउड टाउनलाई १० लाख पाउण्ड तिरेको पनि १३ वर्ष बितिसकेको छ । सात वर्षअघि नै इङ्ल्यान्डको राष्ट्रिय टोलीबाट बिदा लिए पनि भार्डी आइतबार रातिसम्म लेस्टर सिटीका लागि मैदानमा सँघर्ष गरिरहेका थिए ।
पक्कै पनि यति लामो समय एउटै क्लबमा बिताउनु कुनै पनि खेलाडीका लागि महत्त्वपूर्ण उपलब्धि हो । समयको यो कालखण्डले कुनै खेलाडी सम्बन्धित क्लबका कति महत्त्वपूर्ण थिए भन्ने पनि स्पष्ट पार्छ । ठोस योगदान बिना कुनै पनि क्लबले खेलाडीलाई यति लामो समय साँचेर राख्दैन ।
वास्तबमै भार्डी लेस्टर सिटीका महत्त्वपूर्ण सम्पत्ति थिए । त्यसैले नै उनले जीवनको १३ वर्ष यो क्लबमा बिताउने अवसर पाए । यसबिचमा, यी प्रभावशाली स्ट्राइकरले आफ्नो छुट्टै पहिचान स्थापित गराउन निरन्तर संघर्ष गरिरहेको लेस्टर सिटीलाई प्रिमियर लिगको उपाधिसमेत चुमाए ।
भार्डीले सन् २०१५–१६ सिजनमा लेस्टर सिटीलाई प्रिमियर लिगको उपाधि दिलाएका थिए । एक सय ४१ वर्ष लामो इतिहास बोकेको लेस्टर सिटीले जितेको त्यो पहिलो प्रिमियर लिग उपाधि थियो । लेस्टरको ऐतिहासिक उपलब्धिमा जोडिने भाग्यशाली खेलाडीमध्ये भार्डी पनि एक थिए ।
लामो सहकार्यपछि भार्डीले आइतबार राति लेस्टर सिटीका लागि अन्तिम खेल खेले । तर, आफ्नो अन्तिम खेललाई पनि भार्डीले अविस्मरणीय बनाए । घरेलु मैदानमा खेलिएको ईप्सविच टाउनविरुद्धको खेलमा लेस्टर २–० गोलले विजयी भएको थियो ।
त्यो खेलमा ३८ वर्षीय भार्डीले पनि एक गोल गरेका थिए । लेस्टरका लागि भार्डीले गरेको यो दुई सयौँ गोल थियो । यस अर्थमा, भार्डीले लेस्टरको जर्सी लगाएर मैदानमा अन्तिम पटक खुसीयाली मनाए । घरेलु समर्थकमाझ भार्डीले मनाएको खुसीयाली पनि हेर्न लायक थियो ।
गोल गरेलगत्तै उनी कर्नर प्रहारका लागि झण्डा गाडिएको स्थानतर्फ दौडिए । उनले हातको औँला ओठमा राखेका थिए । त्यसपछि उनले मैदानको सीमामा गाडिएको झण्डा उखेलेर त्यसलाई विजयी भावमा हावामा फहर्याए ।
‘आजको दिन मेरो स्मरणमा सधैँ ताजा रहनेछ । मैले यो क्लबमा जीवनको ऊर्जाशील समय खर्चिएको छु । क्लबबाट पनि बिर्सनै नसक्ने माया पाएको छु । अझ समर्थकहरूले देखाएको स्नेहलाई त कहिल्यै भुल्न सक्दिन,’ खेल सकिएपछि सबैप्रति आभार प्रकट गर्दै उनले भनेका छन् ।
तर, लेस्टरसँगै भार्डीका लागि पनि प्रिमियर लिगको यो सिजन दुःखद रह्यो । लेस्टर सिटी यो सिजन प्रिमियर लिगबाट रेलिगेसनमा पर्यो । त्यसैले मनको कुनै कुनामा एउटा दुःखद अनुभूति लिएर उनी क्लबबाट बाहिरिइए ।
उनले एक दशकभन्दा लामो बसाइमा लेस्टर सिटीका लागि पाँच सय खेल खेले । यसबिचमा उनले क्लबलाई प्रिमियर लिगमात्र होइन, प्रतिष्ठित एफए कपको उपाधि पनि चुमाए । लेस्टरले सन् २०२०–२१ सिजनमा एफए कपको उपाधि जितेको थियो ।
यसका अतिरिक्त, उनले एकपटक लेस्टरलाई युरोपेली क्लब फुटबलकै सबैभन्दा ठुलो प्रतियोगिता च्याम्पियन्स लिगको क्वार्टरफाइनलसम्म पनि डोर्याएका थिए । भार्डीकै उत्कृष्ट प्रदर्शनमा लेस्टर सिटी एकपटक युरोपा कन्फरेन्स लिगको सेमिफाइनलसम्म पुगेको थियो ।
यसैगरी भार्डीले लेस्टरलाई दुईपटक च्याम्पियनसिपको उपाधि उचाल्न पनि महत्त्वपूर्ण योगदान गरेका थिए । यी सबै उपलब्धिले जेमी भार्डीलाई लेस्टर सिटीको इतिहासकै सर्वाधिक सफल खेलाडीको सूचीमा उभ्याउँछ ।
‘धेरै उतार–चढाव देखियो । पछाडि फर्केर हेर्दा कथाजस्तै लाग्छ । क्लबसँग जोडिएका थुप्रै सुखद र दुःखद अनुभुतिहरु संगाल्दै बिदा हुँदैछु । यस्तो स्मृतिहरुले भावुक बनाउँदो रैछ,’ लेस्टरका लागि अन्तिम खेल खेलेपछि भार्डीले भने ।
लेस्टरबाट बाहिरिँदै गर्दा उनले क्लबको उज्ज्वल भविष्यको कामना पनि गरेका छन् । ‘पक्कै पनि अगाडि बढ्नेछ । अझ थुप्रै उपलब्धि हासिल गर्न बाँकी छ,’ उनको अनुपस्थितिलाई क्लबको भविष्यसँग जोडेर सोधिएको एक प्रश्नको जवाफमा भार्डीले भनेका छन् ।
अन्तिम खेलपछि क्लबका खेलाडी, प्रशिक्षक र पदाधिकारीहरूले भार्डीको भव्य बिदाइ गरेका थिए । उनलाई गार्ड अफ अनर पनि प्रदान गरिएको थियो ।
‘कुनै खेलाडीले एउटै क्लबका लागि पाँच सय खेल खेलेर दुई सय गोल गर्छ भने त्यस्ता खेलाडीको प्रशंसाका लागि शब्दको आवश्यकता पर्दैन । तथ्यांकले नै उसको महानताको प्रमाण दिन्छ,’ लेस्टरका प्रशिक्षक रुड भान निस्टेलरोय भन्छन् ।