बुधबार, ०७ जेठ २०८२
ताजा लोकप्रिय

जातीय विभेदमुक्त विश्वका लागि ग्लोबल सम्मेलनको तयारी पूरा

मङ्गलबार, ०६ जेठ २०८२, २० : २४
मङ्गलबार, ०६ जेठ २०८२

समाचार सारांश

  • टोरन्टोमा ग्लोबल सम्मेलन २०२५ को तयारी, जातीय विभेदमुक्त विश्वका लागि आयोजना हुँदै। जेठ ११-१३ मा हुने सम्मेलनमा 'समता, सामाजिक न्याय र जातीय व्यवस्था अन्त्यतर्फ ऐक्यबद्धता निर्माण' मुख्य विषयवस्तु रहनेछ।
  • सम्मेलनमा सरकार, नीति निर्माता, अभियन्ता, नागरिक समाज लगायतका व्यक्तिहरू सहभागी हुनेछन्, ज्ञान आदानप्रदान र ऐक्यबद्धता जुटाउने लक्ष्य राखिएको छ।
  • प्रो. फर्नान्ड दे वारनेसले उद्घाटन गर्ने सम्मेलनमा डा. मदन परियार, ओमप्रकाश गहतराजलगायत विशिष्ट वक्ताहरूले सम्बोधन गर्नेछन्, जसमा जातीय विभेदबारे अनुभव र पहलहरू प्रस्तुत हुनेछन्।

टोरन्टो । जातीय विभेदमुक्त विश्वका लागि ग्लोबल सम्मेलन २०२५ को तयारी योजना अनुसार पूरा भएको आयोजकहरूले मंगलबार बताएका छन्।

क्यानडामा दर्ता भई कार्यरत संस्था सहयात्रा इन्टरनेशनल एलायन्स फर सोसल जस्टिस -क्यानडाले दक्षिण एसिया र उत्तर अमेरिकास्थित विभिन्न साझेदार संस्थाहरूको सहकार्यमा जेठ ११-१३ (मे २५ देखि मे २७) सम्म टोरन्टोमा यस सम्मेलनको आयोजना गर्न लागेको हो। सम्मेलनको मुख्य विषयवस्तु "समता, सामाजिक न्याय र जातीय व्यवस्था अन्त्यतर्फ ऐक्यबद्धता निर्माण" रहेको छ।

उक्त सम्मेलनले सरकारका निकाय, नीति निर्माताहरू, सामाजिक अभियन्ता, नागरिक समाज, सङ्घसंस्थाका प्रतिनिधि, व्यवसायी, अनुसन्धानकर्ता, विश्वविद्यालयका प्राध्यापक तथा विद्यार्थीहरूलाई एक साझा मञ्चमा ल्याउने लक्ष्य राखेको छ, जहाँ ज्ञान आदान–प्रदान गर्न सकिनेछ। सम्मेलनको उद्देश्य जातीय व्यवस्था तथा अन्य दमनकारी अभ्यासहरूको अन्त्यका लागि सामाजिक न्याय र समता प्रवर्द्धनमा विश्वव्यापी ऐक्यबद्धता जुटाउनु हो।

सम्मेलनमा अन्तर्राष्ट्रिय तथा राष्ट्रिय स्तरका अभियन्ता, नीति निर्माता, मानवअधिकारकर्मी, नागरिक समाजका प्रतिनिधि, व्यवसायी, शैक्षिक तथा अनुसन्धानकर्ता, पत्रकार, पेशेवर तथा विभेद विरुद्धका अभियानमा संलग्न सामाजिक कार्यकर्ताहरूले सम्बोधन गर्नेछन्। संयुक्त राष्ट्र सङ्घका अल्पसङ्ख्यक मामिलाका पूर्व विशेष प्रतिनिधि प्रो. फर्नान्ड दे वारनेसले उद्घाटन सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

विशिष्ट वक्ताहरूमा नेपालका संवैधानिक राज्य पुन:संरचना आयोग २०११ का अध्यक्ष तथा जलवायु परिवर्तन विज्ञ डा. मदन परियार, दलित इतिहासकार तथा जीवनी लेखक ओमप्रकाश गहतराज, अग्रज दलित नारी अधिकारकर्मी दुर्गा सोब, अमेरिकास्थित ब्रानडाइस विश्वविद्यालयका आलोचनात्मक जातीय अध्ययन प्राध्यापक राजेश सम्पथ, वेक फरेस्ट विश्वविद्यालयका दलित अनुसन्धान प्राध्यापक स्टिभ फोल्मार, क्यानडाको ब्रिटिस कोलम्बिया विश्वविद्यालयका प्रवासी जातीय इतिहास अनुसन्धानकर्ता प्रो. एन मर्फी, युवा दलित अनुसन्धानकर्ता सुरज येंग्दे, संरचनात्मक जातीय विभेदसम्बन्धी  अनुसन्धानकर्ता द्रोण  रसाली, नेपालका स्थानीय दलित कला र सम्पदा विज्ञ प्रा  मान विश्वकर्मा, मोर्गन स्टेट विश्वविद्यालयका उच्च शिक्षामा अल्पसङ्ख्यक प्रतिनिधित्व अध्ययन गर्ने प्राध्यापक उत्तम गौली, बञ्जामिन वेल्स लगायतले प्राज्ञिक कार्यपत्र प्रस्तुत गर्नेछन्।

“१८ जना मुख्य तथा विशिष्ट वक्ता र २० जना कार्यपत्र प्रस्तुतिकर्ताको सहभागिता पक्का भइसकेको छ। हामी आशावादी छौँ कि यो सम्मेलन जातीय विभेद, विशेषतः नेपालमा विद्यमान विभेदबारे अनुभव, विचार र पहलहरू प्रस्तुत गर्ने साझा मञ्च बन्नेछ,” सम्मेलन आयोजक समितिका प्रमुख संयोजक सन्तोष विश्वकर्माले बताए। साथै, सम्मेलनले विभेदविरुद्ध अन्तर्राष्ट्रिय ऐक्यबद्धता निर्माण गर्ने लक्ष्य पनि लिएको उनले जनाए।  

सम्मेलनमा प्रणालीगत जातीय विभेदका प्रभाव, पीडितहरूको व्यक्तिगत अनुभव, केस स्टडी, अन्तर्राष्ट्रिय कानुनहरूको समीक्षा तथा कार्यान्वयन, विभेद अन्त्यका लागि विश्वस्तरमा भइरहेको प्रयास, ज्ञान आदान–प्रदान, दलितसम्बन्धी अनुसन्धान, जलवायु परिवर्तनसँग सम्बन्धित विभेदका असर, समाधान र सफल अभ्यासहरूका विषयमा छलफल हुनेछ। साथै, सङ्गठनात्मक विकास, भावी रणनीति र समान र सामाजिक न्याययुक्त समाज निर्माणका उपायहरूमा पनि केन्द्रित हुने आयोजकहरूले जनाएका छन्।

सम्मेलन क्यानडाको ब्राम्पटनस्थित कन्वेन्सन सेन्टरमा आयोजना गरिनेछ, जहाँ करिब ४०० सहभागीहरू विश्वभरबाट आउने अपेक्षा गरिएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप