बिहीबार, २२ जेठ २०८२
ताजा लोकप्रिय

साहिन शाह अफरिदीको कप्तानीमा लाहोर कलन्दर्सले तेस्रोपटक चुम्यो उपाधि

सोमबार, १२ जेठ २०८२, ११ : ०४
सोमबार, १२ जेठ २०८२

समाचार सारांश

  • लाहोर कलन्दर्सले पाकिस्तान सुपर लिग (पीएसएल) क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ, क्वेटा ग्लाडिएटर्सलाई ६ विकेटले हराउँदै।
  • लाहोर कलन्दर्सका कुशल परेराले अविजित ६२ रन बनाए र प्लेयर अफ द म्याच घोषित भए। हसन नवाजले उत्कृष्ट प्रदर्शन गर्दै प्लेयर अफ द सिरिजको पुरस्कार जिते।
  • लाहोर कलन्दर्सले पछिल्लो चार वर्षमा तेस्रो पटक पीएसएल उपाधि जितेको हो, र विजेताले ५ लाख अमेरिकी डलर पुरस्कार पाए।

काठमाडौँ । पाकिस्तान सुपर लिग (पीएसएल) क्रिकेट प्रतियोगिताको उपाधि लाहोर कलन्दर्सले जितेको छ । लाहोर कलन्दर्सले आइतबार राति लाहोरस्थित गद्दाफी स्टेडियममा खेलिएको फाइनल खेलमा क्वेटा ग्लाडिएटर्सलाई ६ विकेटले हराउँदै उपाधि चुमेको हो । 

टस जिही पहिले ब्याटिङको निर्णय लिएको क्वेटा ग्लाडिएटर्सले निर्धारित ओभरमा नौ विकेट गुमाएर दुई सय एक रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको लाहोर कलन्दर्सले १९.५ ओभरमा चार विकेट गुमाएर दुई सय चार रन बनाउँदै विजयलक्ष्य पार गरयो ।

 लाहोर कलन्दर्स साहिन शाह अफरिदीको कप्तानीमा रहेको टोली हो । लाहोर कलन्दर्सको जितमा कुशल परेराले उत्कृष्ट अर्धशतकीय पाली खेले । चौथो नम्बरमा क्रिज समाल्न आएका उनले अविजित ६२ रन बनाए । यसक्रममा उनले केवल ३१ बलको सामना गरी चार छक्का र पाँच चौका हिर्काए । 

मोहम्मद नइमले पनि टोलीका लागि ४६ रन बनाए । आक्रामक रुपमा प्रस्तुत भएका ओपनर ब्याट्सम्यान नइमले केवल २७ बलमा ६ छक्का र एक चौका प्रहार गरे । तेस्रो नम्बरका ब्याट्सम्यान अब्दुल्लाह सफिकले पनि केवल २८ बलमा एक छक्का र चार चौकाको मद्दतले ४१ रन बनाए ।

सिकन्दर राजा २२ रनमा अविजित रहे । उनले केवल सात बलमा दुई छक्का दुई चौका पनि हिर्काए । त्यसअघि क्वेटा ग्लाडिएटर्सका लागि हसन नवाजले उत्कृष्ट अर्धशतकीय पाली खेलेका थिए । उनले ७६ रन बनाए । यसक्रममा उनले केवल ४३ बलको सामना गरी चार छक्का र आठ चौका हिर्काए । 

अभिषका फर्नान्डोले २९, फाहिम असरफले २८, रिली रोसुले २२ र दिनेश चण्डिमलले पनि २२ रन बनाए । लाहोर कलन्दर्सका बलर साहिन शाह अफरिदीले तीन विकेट लिए । सलमान मिर्चा र ह्यारिस रउफले पनि दुई–दुई विकेट हात पारे । 

कुशल परेरा फाइनलको प्लेयर अफ दि म्याच घोषित भए । हसन नवाजले प्लेयर अफ दि सिरिजको पुरस्कार पाए । हसन नवाजले १२ खेलमा कुल तीन सय ९९ रन बनाए । सर्वोत्कृष्ट बलको पुरस्कार अबरार अहमदले पाए । उनले १२ खेलमा १७ विकेट लिए ।

लाहोर कलन्दर्सले पछिल्लो चार वर्षमा तेस्रोपटक पीएसएल उपाधि जितेको हो । लाहोर कलन्दर्सका अतिरिक्त इस्लामाबाद युनाइटेडले मात्र तीनपटक पीएसएलको उपाधि जित्न सकेको छ । 

विजेता टोली लाहोर कलन्दर्सले पाँच लाख अमेरिकी डलर नगद पुरस्कार पायो । उविजेता टोली क्वेटा ग्लाडिएटर्सले दुई लाख अमेरिकी डलर पुरस्कार पायो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप

छुटाउनुभयो कि ?