आइतबार, १८ जेठ २०८२
ताजा लोकप्रिय

मिलानमा फेरि फर्किए एलेग्री

शनिबार, १७ जेठ २०८२, १० : २०
शनिबार, १७ जेठ २०८२

समाचार सारांश

  • एसी मिलानले मास्सिमिलियानो एलेग्रीलाई फेरि प्रमुख प्रशिक्षक नियुक्त गरेको छ, जसले २०१०-२०१४ सम्म क्लबको प्रशिक्षण गरेका थिए।
  • एलेग्रीले सर्जियो कोन्सेइसाओको स्थान लिएका हुन्, जसलाई क्लबले ६ महिनामै बर्खास्त गरेको थियो।
  • मिलानले २०२४-२५ सिजन निराशाजनक रूपमा आठौँ स्थान हासिल गरेको थियो र आगामी सिजन युरोपेली प्रतियोगिता खेल्ने छैन।

सान सिरो । एसी मिलानले मास्सिमिलियानो एलेग्रीलाई फेरि प्रमुख प्रशिक्षकको रूपमा नियुक्त गरेको छ। ५७ वर्षीय इटालियन प्रशिक्षकले यसअघि सन् २०१० को जुनदेखि २०१४ को जनवरीसम्म सिरि ए क्लबको प्रशिक्षण गरेका थिए।

एलेग्रीले सर्जियो कोन्सेइसाओको स्थान लिएका हुन्, जसलाई क्लबले जिम्मेवारी सम्हालेको केबल छ महिनापछि बिहीबार बर्खास्त गरेको थियो। ‘क्लबले मास्सिमिलियानो र उनको टोलीलाई न्यानो स्वागत र शुभकामना व्यक्त गर्दछ,’ मिलानको आधिकारिक विज्ञप्तिमा उल्लेख गरिएको छ।

मिलानले २०२४–२५ सिजन निराशाजनक रुपमा आठौँ स्थानमा समाप्त गरेको थियो र कोप्पा इटालियाको फाइनलमा बोलोग्नासँग पराजित भएको थियो । यसको अर्थ उनीहरूले आगामी सिजन कुनै पनि युरोपेली प्रतियोगिता खेल्ने छैनन्।

क्लबले अन्तिम पटक सन् २०२१–२२ मा स्टेफानो पिओलीको नेतृत्वमा आफ्नो १९औँ सिरि ए उपाधि जितेको थियो।

एलेग्रीले मिलानमा आफ्नो पहिलो कार्यकालको पहिलो सिजन (२०१०–११) मै स्कुडेटो (सिरि ए उपाधि) जितेका थिए, जुन क्लबको सन् २००४ यता पहिलो उपाधि थियो। त्यसपछि उनलाई पदबाट हटाइएको थियो।

मिलानपछि उनी युभेन्टसको प्रशिक्षक बने जहाँ सन् २०१४ देखि २०१९ सम्म पाँच लगातार सिरि ए उपाधि जिते। त्यस अवधिमा युभेन्टस दुईपटक च्याम्पियन्स लिगको फाइनलसम्म पुगे पनि दुवैपटक पराजित भएको थियो।

सन् २०१९ मा आपसी समझदारीमा क्लबबाट अलग भएका एलेग्री दुई वर्षको विश्रामपछि सन् २०२१ मा फेरि युभेन्टस फर्किए, तर यो कार्यकाल त्यति सफल भएन । उनले २०२४ मा क्लब छोडेका थिए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप