मङ्गलबार, २० जेठ २०८२
ताजा लोकप्रिय
राजावादी प्रदर्शन

आन्दोलनको ४ दिनमा सरकार–राजावादीबिच तनाव बढ्यो

आइतबार, १८ जेठ २०८२, २० : ४१
आइतबार, १८ जेठ २०८२

समाचार सारांश

  • आन्दोलनको चौथो दिनमा राजावादी समूहका ८ जना पक्राउ परे, जसमा कमल थापा पनि थिए, तर उनलाई राति नै रिहा गरियो।
  • सरकार र राजावादीबीच तनाव बढ्दै जाँदा, उपत्यकामा बन्दको घोषणा गरियो भने प्रशासनले प्रदर्शनमा रोक लगायो।
  • प्रचण्डले राजावादीहरूको गतिविधिलाई लिएर आक्रोश व्यक्त गर्दै वाईसीएललाई उनीहरूलाई नछोड्न निर्देशन दिए।

काठमाडौँ । आन्दोलनको ४ दिनमा सरकार–राजावादीबिच तनाव बढेको छ । वर्तमान व्यवस्था नै उल्ट्याउने खतरनाक उद्देश्यसहित बिहीबारदेखि सडकमा आएका राजावादी समूहको आन्दोलनको चौथो दिन आइतबार ८ जना पक्राउ परे ।

 जसमा राप्रपा नेपालका अध्यक्ष तथा पूर्वगृहमन्त्री कमल थापा र राप्रपाका सांसद कमल थापा समेत छन् ।  थापासहित ७ जना प्रदर्शनकारीलाई राजधानीको नारायणचौर क्षेत्रमा भएको प्रदर्शनका क्रममा आइतबार प्रहरीले नियन्त्रणमा लिएको हो । यस्तै थापालाई राखिएको जिल्ला प्रहरी परिसर काठमाडौँमा भेट्न पुगेका सिंहलाई प्रहरीले त्यही नियन्त्रणमा लिएको हो । प्रहरीले आइतबार राति नै थापा र सिंहसहित ७ जनालाई रिहा गरिसकेको छ । तर डा राजिब झालाई हिरासतमै राखिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

तनाव बढ्दै जाँदा समितिका संयोजक नवराज सुवेदीले आइतबार साँझ विज्ञप्ति जारी गर्दै सरकारको दमनको विरुद्ध आन्दोलनको स्वरूप परिवर्तन गर्न बाध्य भएको  प्रतिक्रिया दिएका छन् । 

उनले सोमबार उपत्यका बन्दको घोषणा गरिएको समेत विज्ञप्तिमा उल्लेख गरेका छन् । बिना कारण नेताहरूलाई पक्राउ गरिनु सरकारको लोकतान्त्रिक आस्था र संवैधानिक मूल्यप्रति अपमान भएको आफूहरूको बुझाइ रहेको  संयोजक नवराज सुवेदीको भनाइ छ । 

यस्तै राप्रपा र राप्रपा नेपालले पनि विज्ञप्तिमार्फत प्रहरी धरपकडको विरोध गरेका छन् । राप्रपाको त प्रहरी दमनको घटनापछि केन्द्रीय कार्यसम्पादन समितिको आकस्मिक बैठक नै बसेको थियो । 

बैठकपछि प्रवक्ता मोहन श्रेष्ठले जारी गरेको विज्ञप्तिमा आन्दोलनमा प्रशासनको हस्तक्षेपप्रति कडा विरोध जनाइएको छ ।  

यता राजावादीहरूले चार दिनसम्म आन्दोलन गर्दा सरकारले अब कडा रूपमा प्रस्तुत हुने छनक देखाएको छ । सोहीअनुसार आइतबार नै जिल्ला प्रशासन कार्यालय काठमाडौँले राजावादीको प्रदर्शनलाई कडाइ गर्ने योजनाका साथ महत्त्वपूर्ण कदम चालेको छ । 

जसअनुसार राजधानीको विभिन्न क्षेत्रमा प्रदर्शन गर्न प्रतिबन्ध लगाएको छ। जसअनुसार जेठ १९ गतेदेखि लागू हुने गरी चक्रपथ भित्रका मुख्य सार्वजनिक स्थानहरूमा धर्ना, अनशन, जुलुस, सभा तथा विरोधका कार्यक्रमहरू गर्न पाइने छैन । 

स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा (३क) बमोजिम प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले जारी गरेको निषेधाज्ञा आदेशमा सिफल चौर, कोटेश्वर आकाशे पुलदेखि बालकुमारीसम्मको क्षेत्र तथा बल्खु क्षेत्रमाबाहेक अन्यत्र प्रतिबन्ध लागु हुने उल्लेख गरिएको छ।

 चक्रपथ भित्रका स्थानहरूमा विरोध कार्यक्रम गर्दा सार्वजनिक सेवा र यातायातमा अवरोध पुगेको जनगुनासोका आधारमा सो निर्णय गरिएको प्रशासनको भनाइ छ । 

प्रशासनले अत्यावश्यक सेवा, सार्वजनिक सम्पत्ति र समग्र शान्ति सुरक्षामा असर पर्न सक्ने सम्भावनालाई आधार बनाउँदै निर्णय लिएको स्पष्ट पारेको छ। साथै, जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरेर हुने विरोध कार्यक्रम भने गर्न पाइने व्यवस्था गरिएको छ।  प्रशासनले यस्तो निषेधाज्ञाको अवधि प्रारम्भमा २ महिनासम्म कायम रहने पनि स्पष्ट पारेको छ । 

यसैबिच सरकारले कडाइ थाल्दै गर्दा पक्राउ पर्ने डरले कतिपय राजवादी नेता फोन बन्द गरेर बस्न थालेका छन् । एक नेताले भने, ‘प्रशासनले के गर्छ थाहा छैन । जोगिएर हिँडिरहेका छौँ ।’

उसो त सरकारमात्रै होइन प्रमुख प्रतिपक्षी दलका नेता तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड समेत राजावादी गतिविधिलाई लिएर आक्रोशित भएका छन् । उनलाई शनिबार नुवाकोटमा भएको एक कार्यक्रममा राप्रपाका एक स्थानीय नेताले डिस्टर्ब गर्ने प्रयास गरेका थिए । 

सो विषय उनले आइतबार वाइसीएलको कार्यक्रममा समेत राखेका थिए ।  प्रचण्डले राजावादीहरूले छाडा भएर माओवादीमाथि आक्रमण गर्ने कोसिस गरेको बताउँदै उनीहरू आइलागे नछोड्न वाईसीएललाई निर्देशन समेत दिएका थिए । 

राजावादीहरूले  कताकताबाट पैसा ल्याएर भाडाका मान्छे जुटाउँदै जाँड खुवाएर उफार्ने गरेको आरोप प्रचण्डको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप