बुधबार, २१ जेठ २०८२
ताजा लोकप्रिय
विश्वकप लिग–२ क्रिकेट

स्कटल्याण्डविरुद्ध नेपालले पहिले बलिङ गर्ने

सोमबार, १९ जेठ २०८२, १५ : ३४
सोमबार, १९ जेठ २०८२

समाचार सारांश

  • नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ त्रिकोणात्मक शृङ्खलामा स्कटल्याण्ड र नेदरल्याण्ड्ससँग प्रतिस्पर्धा गर्दैछ, जसमा टस जितेर बलिङ गर्ने निर्णय गरेको छ।
  • शृङ्खला स्कटल्याण्डमा हुँदैछ, जहाँ नेपालले नेदरल्याण्ड्स र स्कटल्याण्डसँग खेल खेल्नेछ, र यो खेल २०२७ को विश्वकपका लागि छनोटको आधार हो।
  • जारी लिग-२ मा नेपालको प्रदर्शन कमजोर छ र अंक तालिकामा आठौं स्थानमा छ, तर शीर्ष चारमा रहने टोली विश्वकप छनोटमा पुग्नेछन्।

काठमाडौँ । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ त्रिकोणात्मक शृङ्खलामा नेपालले आज स्कटल्याण्ड र नेदरल्याण्ड्ससँग प्रतिस्पर्धा गर्दैछ। खेलमा नेपालले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ । खेल नेपाली समयअनुसार अपरान्ह ३ बजेर ४५ मिनेटमा सुरु हुनेछ ।

स्कटल्याण्डमा हुने यो शृङ्खला २०२५ जुन २ देखि १२ तारिखसम्म डन्डीमा आयोजना हुनेछ। यो त्रिकोणात्मक सिरिज २०२४–२६ विश्वकप लिग २ को तेह्रौँ चरण हो, जसमा सहभागी तीन देशहरू — नेपाल, स्कटल्याण्ड र नेदरल्याण्ड्सले एकअर्कासँग एकदिवसीय अन्तर्राष्ट्रिय खेलहरू खेल्नेछन्। 

नेपालले दोस्रो खेल जुन ४ तारिखमा नेदरल्यान्डसँग खेल्नेछ । नेपालले तेस्रो खेल जुन ८ तारिखमा स्कटल्यान्डसँग खेल्ने कार्यक्रम छ । नेपालले चौथो खेल जुन १० तारिखमा नेदरल्यान्ड्ससँग खेल्नेछ । 

नेपालले स्कटल्याण्डसँगको पछिल्लो लिग २ खेलहरूमा राम्रो प्रदर्शन गरेको छ। २०२४ अक्टोबरमा डलासमा भएको खेलमा नेपालले स्कटल्याण्डलाई ५ विकेटले पराजित गरेको थियो । 

जारी लिग–२ प्रतियोगितामा भने हालसम्म नेपाली टोलीको प्रदर्शन निराशाजनक देखिएको छ । नेपाली टोली १२ खेलबाट ६ अंक बटुल्दै तालिकाको अन्तिम अर्थात, आठौँ स्थानमा आसीन छ ।

लिग–२ तालिकामा २० खेलबाट २८ अंक बटुलेको अमेरिका पहिलो स्थानमा छ । २० खेलबाट २६ अंक जोडेको नेदरल्यान्ड्स दोस्रो स्थानमा छ । तेस्रो स्थानको ओमानले २० खेलबाट २४ अंक जोडेको छ ।

१६ खेलबाट २० अंक जोडेको स्कटल्यान्ड चौथो, २० खेलबाट २० अंक जोडेको क्यानडा पाँचौँ, २० खेलबाट १४ अंक जोडेको नामिबिया छैटौँ, १६ खेलबाट ६ अंक हात पारेको यूएई सातौँ स्थानमा छन् । 

सहभागी टोलीहरुका लागि लिग–२ प्रतियोगिता निकै महत्वपूर्ण छ । यो प्रतियोगिता सन् २०२७ मा आयोजना हुने आईसीसी एकदिवसीय विश्वकपका लागि छनोटको आधारका रुपमा पनि रहेको छ । 

लिग–२ प्रतियोगिताको समाप्तिपछि तालिकाको माथिल्लो चार स्थानमा रहने टोली एकदिवसीय विश्वकपको छनोट चरणमा प्रवेश गर्नेछन् । अन्तिम चार स्थानमा रहने राष्ट्रले भने विश्वकप क्वालिफायरको प्ले–अफ चरण खेल्नु पर्नेछ ।

लिग २ सिरिजपछि, ती तीनै टोलीहरू ग्लासगोमा हुने टी-२० अन्तर्राष्ट्रिय त्रिकोणात्मक सिरिजमा पनि सहभागी हुनेछन् । यो जुन १५ देखि २० तारिखसम्म हुनेछ। यो सिरिज जुलाईमा हुने आईसीसी पुरुष टी-२० विश्वकप छनोटको तयारीस्वरूप लिइएको छ। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप