शुक्रबार, २३ जेठ २०८२
ताजा लोकप्रिय

बाहिर समर्थकले जीवन गुमाइरहँदा रङ्गशालाभित्र जितको खुसीयाली

घटनाको छानबिन गर्न उच्चस्तरीय समिति गठन
बिहीबार, २२ जेठ २०८२, १० : ०७
बिहीबार, २२ जेठ २०८२

समाचार सारांश

  • रोयल च्यालेन्जर्स बेंगलुरुको जितपछि आयोजित विजयोत्सव समारोहमा भागदौड हुँदा ११ जनाको निधन भएपछि छानबिन सुरु भएको छ।
  • कर्नाटकका मुख्यमन्त्रीले घटनाको निष्पक्ष छानबिन गर्न सुरक्षा निकायलाई निर्देशन दिएका छन्, जसको गल्ती भए पनि कारबाही हुनेछ।
  • एम चिन्नास्वामी स्टेडियममा भएको भागदौडमा बीसीसीआईको सचिवले सुरक्षा व्यवस्थाको कमीलाई दोष दिएका छन्, जसमा धेरै घाइते भएका छन्।

काठमाडौँ । रोयल च्यालेन्जर्स बेंगलुरुको जितपछि आयोजित विजयोत्सव समारोहमा भागदौड हुँदा ११ जनाको निधन भएपछि कर्नाटकको मुख्यमन्त्री सिद्धारमैयाले घटनाको निष्पक्ष छानबिनका लागि सुरक्षा निकायलाई निर्देशन दिएका छन् । 

‘यो निकै दुःखद घटना हो । घटनाको छानबिन गर्न उच्चस्तरीय समिति पनि गठन भइसकेको छ । घटनाको जसको गल्तिले भए पनि कारबाहीको दायरामा ल्याउनु आवश्यक छ । घटनाको निष्पक्ष छानबिनका लागि निर्देशन दिइसकेको छु,’ सञ्चारकर्मीसँगको कुराकानीमा उनले भनेका छन् । 

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) का सचिव देवजित सैकियाले पर्याप्त सुरक्षा व्यवस्थाको अभावले उक्त दुःखद घटना भएको प्रतिक्रिया दिएका छन् । बेंगलुरुस्थित एम चिन्नास्वामी स्टेडियममा बुधबार राति जितको खुसीयाली मनाउने क्रममा भएको भागदौडमा ११ जनाको मृत्यु भएको थियो ।

रोयल च्यालेन्जर्स बेंगलुरुले पहिलो पटक इन्डियन प्रिमियर लिग (आईपीएल) को उपाधि जितेपछि क्लबका समर्थहरु उत्साही बनेका थिए । अहमादाबादस्थित नरेन्द्र मोदी स्टेडियममा मंगलबार राति खेलिएको फाइनल खेलमा पञ्जाब किङ्सलाई हराउँदै बेंगलुरुले उपाधि चुमेको थियो ।

सन् २००८ मा आयोजित पहिलो संस्करणदेखि नै सहभागिता जनाउँदै आएको बेंगलुरुले पहिलो पटक उपाधि जितेको हो । त्यसैले बेंगलुरुका समर्थक बढी नै उत्साही देखिएका थिए । उपाधि जितेपछि बुधबार राति एम। चिन्नास्वामी स्टेडियममा खुसीयाली मनाउने कार्यक्रम राखिएको थियो ।

निर्धारित समयभन्दा निकै अघिदेखि स्टेडियम परिसरमा समर्थकहरूको ओइरो लागेको थियो । समर्थकहरू रङ्गशालाभित्र प्रवेश गर्न तछाड–मछाड गरिरहेका थिए । यसै क्रममा भाडदौड हुँदा ११ जनाले ज्यान गुमाएका हुन् । 

उक्त घटनामा थुप्रै समर्थक गम्भीर रुपमा घाइते भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । समाचारमा जनाइए अनुसार, स्टेडियमको गेट निकै सानो थियो । एकैपटक ठुलो सङ्ख्यामा समर्थकहरू भित्र प्रवेश गर्न खोज्दा यो घटना भएको हो ।

उक्त रंगशालाको दर्शक क्षमता ३५ हजार हो । तर, दुईदेखि तीन लाख समर्थक रङ्गशाला परिसरमा भेला भएका थिए । जितको खुसीयाली मनाउन रङ्गशाला पुग्नेमा ठुलो सङ्ख्यामा नाबालिग पनि थिए । भारी वर्षा र ट्राफिक जामका कारण उद्धारमा समेत ढिलाइ भएको बताइएको छ ।

बाहिर भागदौडमा समर्थकहरूको मृत्यु भइरहँदा रङ्गशालाभित्र भने जितको खुसीयाली मनाइँदै थियो । त्यतिबेला रङ्गशालाभित्र करिब २५ हजार समर्थक रहेको बताइएको छ । रङ्गशाला बाहिर भागदौड सुरु भएपछि स्थानीय प्रहरीले आयोजकलाई कार्यक्रम छोट्याउन पटक–पटक आग्रह गरेको दाबी पनि समाचारमा गरिएको छ । 

भागदौड भएको र धेरैको मृत्यु भएको समाचार फैलिएपछि आयोजकले कार्यक्रम खोट्याएका थिए र खेलाडीहरूलाई सकुशल बाहिर निकालेका थिए । त्यसको केही समयपछि आरसीबीले प्रेस विज्ञपित जारी गर्दै घटनाप्रति दुःख व्यक्त गरेको थियो । 

‘हामी यो दुर्भाग्यपूर्ण घटनाबाट निकै दुःखी छौँ । यो घटनामा जीवन गुमाउनेहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौँ । मृतकका आफन्तजनप्रति समवेदना प्रकट गर्छौँ,’ रोयल च्यालेन्जर्स बेंगलुरुद्वारा जारी विज्ञप्तिमा भनिकएको छ । 

घाइतेहरूको उचार भइरहेको अस्पतालमध्येको एकले घाइतेमध्ये अधिकांशमा पानीको कमी, शरीरका विभिन्न भागमा चोटपटक, टाउकोमा चोट, थकावट, हड्डीमा चोट, मानसिक आघातजस्ता समस्या देखिएको बताएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप