रोहित शर्मा भन्छन्, ‘टेस्ट क्रिकेटबाट सन्न्यास लिएपछि नराम्ररी बुवाको गाली खाएँ’

समाचार सारांश
- भारतीय क्रिकेटर रोहित शर्माले टेस्ट क्रिकेटबाट सन्न्यास लिएपछि पिताबाट गाली खाएको खुलासा गरे।
- रोहितले चेतेश्वर पुजाराकी पत्नीको पुस्तक विमोचन समारोहमा आफूले सन्न्यास लिएपछिको अनुभव सुनाए।
- रोहितका पिता टेस्ट क्रिकेटका पारखी भएको र सीमित ढाँचाको क्रिकेटलाई मन नपराउने कुरा उनले बताए।
काठमाडौँ । केही समयअघि भारतीय टोलीका प्रभावशाली खेलाडी रोहित शर्माले टेस्ट क्रिकेटबाट अप्रत्याशित रूपमा सन्न्यास लिए । भारतको इङ्गल्यान्ड भ्रमणअघि रोहितले अचानक सन्न्यास लिएपछि यो ठुलै चर्चाको विषय पनि बन्यो ।
त्यसअघि उनले तत्काल टेस्ट क्रिकेटबाट सन्न्यास नलिने बताउँदै आएका थिए । उनले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटबाट पनि त्यसअघि नै सन्न्यास लिइसकेका थिए । अहिले रोहित भारतको एकदिवसीय अन्तर्राष्ट्रिय टोलीका सदस्यमात्र हुन् ।
अहिले आएर पूर्वकप्तान रोहितले टेस्ट क्रिकेटबाट सन्न्यासको विषयलाई लिएर एउटा रमाइलो प्रसङ्ग सार्वजनिक गरेका छन् । आफूले टेस्ट क्रिकेटबाट सन्न्यास लिएर घर फर्किएपछि पिताबाट नराम्ररी गाली खानु परेको बताएका छन् ।
क्रिकेटर चेतेश्वर पुजाराकी पत्नी पूजाद्वारा लिखित पुस्तक ‘द डायरी अफ ए क्रिकेटर वाइफ’ को विमोचन समारोहमा रोहितले यस्तो खुलासा गरेका हुन् । उनले आफ्ना पिता गुरुनाथ शर्मा टेस्ट क्रिकेटको पारखी भएको पनि बताए ।
‘मेरो बुवा टेस्ट क्रिकेट भनेपछि हुरुक्कै गर्नहुन्छ । सीमित ढाँचाको क्रिकेट उहाँलाई मन पर्दैन । त्यसैले मैले टेस्ट क्रिकेटबाट अचानक सन्न्यास लिएपछि उहाँ निकै रिसाउनु भयो । मैले टेस्ट क्रिकेटबाट सन्न्यास लिन हतार गरेको उहाँको बुझाई थियो,’ रोहितले भनेका छन् ।
सीमित ढाँचाको क्रिकेटमा आफूले जतिसुकै राम्रो प्रदर्शन गरे पनि पिता कहिल्यै खुसी नभएको पनि उनले बताए । ‘मेरो बुवा ट्रान्सपोर्ट कम्पनीमा काम गर्नुहुन्थ्यो । उहाँले हाम्रो भविष्य राम्रो बनाउन निकै सँघर्ष गर्नुभयो । सीमित ढाँचाको क्रिकेटलाई उहाँ नयाँ जमानाको क्रिकेट भन्नुहुन्थ्यो,’ उनले भने ।
यस क्रममा रोहितले एउटा घटनाको स्मरण पनि गरेका छन् । ‘मलाई त्यो दिन अझै याद छ, जब म एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा दुई सय ६४ रन बनाएर घर फर्किएको थिएँ । उहाँले मलाई केवल ठिकै खेलिस् भनेर बधाई दिनुभयो । तर, टेस्ट क्रिकेटमा ३० वा ४० रन बनाउँदा पनि उहाँ निकै खुसी देखिनुहुन्थ्यो र लामो समयसम्म त्यसको चर्चा गर्नुहुन्थ्यो । त्यसैले मैले टेस्ट क्रिकेटबाट सन्न्यास लिएपछि उहाँ निराश हुनुभएको थियो,’ रोहितले भनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: कांग्रेसको मधेस प्रदेश सरकार नेतृत्वमा दाबीदेखि, कोरोनाको जोखिमसम्म
-
आलम सफाइ प्रकरण र पतञ्जली जग्गा प्रकरणमा युवराज सफलकाे दुई छुट्टाछुट्टै उजुरी
-
बङ्गलादेशमा चुनावको सम्भावित मिति घोषणा
-
दोलखाको झ्याँकुमा बोलेरो दुर्घटना, १ जनाको मृत्यु
-
भारतमा कोभिड सङ्क्रमितहरूको सङ्ख्या पाँच हजार नाघ्यो
-
उत्तेजनाको राजनीति कांग्रेसको शैली होइन: महामन्त्री थापा