शनिबार, २४ जेठ २०८२
ताजा लोकप्रिय
राजनीति

लुम्बिनीमा गीता गुरुङको राजीनामापछि प्रदेशसभा सदस्यको खोजी

शुक्रबार, २३ जेठ २०८२, १६ : ५४
शुक्रबार, २३ जेठ २०८२

काठमाडौँ । जनमत पार्टीकी लुम्बिनी प्रदेशसभा सदस्य गीता गुरुङले आफ्नो पदबाट राजीनामा दिएपछि त्यस ठाउँमा अर्को सदस्य पठाउन खोजी भइरहेको छ । गुरुङ आदिवासी जनजाति (महिला) कोटाबाट समानुपातिक सदस्य भएकी थिइन् ।

उनको नाम बन्द सूचीको दोस्रो नम्बरमा थियो । उनले राजीनामा दिएपछि आदिवासी जनजाति कोटामा पुरुषतर्फ राजनकुमार श्रेष्ठ प्रदेशसभा सदस्यमा समानुपातिक उम्मेदवार छन् । सूची अनुसार उनको नाम पठाउनुपर्ने हुन्छ । 

तर जनमत पार्टी लुम्बिनी प्रदेश समितिका सदस्य समेत रहेका श्रेष्ठ भने पार्टीको सम्पर्कमा छैनन् ।  सम्पर्कमा नरहेका कारण उनलाई प्रदेशसभा सदस्यमा सिफारिस गर्ने कि नगर्ने भन्ने कुरा पार्टीभित्रै अन्योल छ । 

पार्टीले जेठ २० गते उनलाई स्पष्टीकरण समेत सोधेको थियो । लुम्बिनी प्रदेश समन्वय समितिको सदस्य समेत रहेका उनी पार्टीको कुनै बैठक तथा गतिविधिमा संलग्न नभएको भन्दै पार्टीले उनीसँग स्पष्टीकरण सोधेको हाे । 

जनमत पार्टीका केन्द्रीय सचिव अनिता साहका अनुसार श्रेष्ठ विगत २ वर्षदेखि जनमत पार्टीको कुनै सम्पर्कमा छैनन् ।  श्रेष्ठलाई सम्पर्क गर्न खोज्दा समेत सम्पर्कमा नआएको उनले बताइन् ।

श्रेष्ठले पार्टीको सदस्यता समेत नवीकरण गरेका छैनन् । स्पष्टीकरण पत्रमा भनिएको छ, ‘जनमत पार्टीको विधानको धारा १० (घ) र १० (ङ) अनुसार तपाईंको सदस्यता समाप्त हुने भएकोले तथा जनमत पार्टीको धारा ३९ (क)–१५ बमोजिम तपाईंलाई पार्टीको साधारण सदस्य र जनमत पार्टीको तर्फबाट लुम्बिनी प्रदेशको समानुपातिक प्रदेश सदस्यको बन्द सूचीबाट समेत किन नहटाउने विषयमा १५ दिनभित्र स्पष्टीकरण पेस गर्नुहुन अनुरोध छ ।’

जवाफ नआएमा प्रक्रिया बमोजिम कारबाही अगाडि बढाइने समेत स्पष्टीकरण पत्रमा उल्लेख छ । 

सो पदका लागि आदिवासी जनजातिको सूचीमा दुई जनाको नाम मात्र छ । श्रेष्ठ सम्पर्कमा नआएपछि सो पदमा कसलाई ल्याउने भन्ने सवालमा जनमत पार्टीले निर्वाचन आयोगसँग छलफल गरिरहेको सो पार्टीका एक नेताले बताए । 

ती नेताले भने– ‘राजनकुमार नआउने भएपछि मात्र अर्को विकल्पको बारेमा कुरा हुन्छ र यो एक दुई दिनमा टुङ्गो लाग्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप