शुक्रबार, ३० जेठ २०८२
ताजा लोकप्रिय
परिस्थिति : कथा बाध्यताको

एउटै घटनाले हुन पुग्छ परिवारको सपनाको अन्त्येष्टि

बिहीबार, २९ जेठ २०८२, १२ : ४६
बिहीबार, २९ जेठ २०८२

सर्लाहीका गजेन्द्र मण्डल धानुकले भुइँबाट उठेर आफ्नो व्यवसाय जमाएका थिए । कुनै बेला कविलासीका व्यापारी रहेका उनी अहिले रोडमा आएका छन् ।

कोरोनाकालमा लगाइएको लकडाउनले उनको कोल्डस्टोर र दालमोठ उद्योग बन्द भयो । आफ्नै जग्गामा सञ्चालन गरेको विद्यालय समेत बन्द भयो । बैंकसँग लिएको ऋण तिर्नुपर्ने भयो ।

गाउँका युवाहरूलाई सीप भए विदेश जानुपर्दैन भन्ने गजेन्द्र केही सीप नलागेपछि साहुसँग ऋण लिएर आफैँ विदेश गए । विदेश गएको केही महिनामै कलेजोको क्यान्सर बोकेर फर्किए । आज उनीसँग आफ्नो ओखतीमुलो गर्ने कुरो त परै जाओस् आमा, पत्नी र सन्तानलाई कसरी पाल्ने भन्ने चिन्ता छ । कुनै बेला आफैँ विद्यालय चलाएका गजेन्द्रलाई दुई सन्तानलाई कसरी पढाउने भन्ने चिन्ता छ ।

हिजोका दिनमा जुन जग्गामा उनले विद्यालय सञ्चालन गरेका थिए । साहुको नाममा गरिदिइसकेको त्यही जग्गामा एककोठे छाप्रो बनाएर बसेका छन् ।

243b4b4c-0800-4c78-a609-50898261dc2a

गजेन्द्रको पीडा हामीले ‘परिस्थिति : कथा बाध्यताको’मा संकलन गरेको दुःखका पहाडहरूध्ये एउटा बिसौनी मात्र हो । गजेन्द्रजस्तै नियति भोगेर पीडामा बाँचिरहेका नेपाली यो देशमा असंख्य छन् ।

गोर्खाको खाब्दी भञ्ज्याङकी अञ्जना थापा मगरको पीडा गजेन्द्रको भन्दा फरक छ तर उनको अनुहारबाट पनि अहिले हाँसो गायब छ । घर चलाउन गाह्रै भएपछि अञ्जनाका पति हरिबहादुर थापा मगर बहराइन गएका थिए । उनीहरूको सपना ठुलो थिएन— घर चलाउन पुगोस्, दुई सन्तानलाई पढाउन सकियोस् । श्रम स्वीकृति सकिनुभन्दा दुई महिनाअगाडि हरिबहादुर बहराइनमा गायब हुन्छन् ।

अघिल्लो दिन पत्नीसँग हाँसो–ठट्टा गर्दै ‘मेरो भिसा सकिँदै छ कम्पनीमा फोन गरेर चाँडै फिर्ता पठाइदिन भन् है’ भनेर अञ्जनालाई भनेका पति भोलिपल्ट गायब भए भनेर खबर आउँदा उनले पत्याइनन् । पति फर्केलान् भन्ने आशामा ११ महिना बिते तर उनी फर्केनन् । उनले आत्महत्या गरे भनेर खबर आयो । अनि उनको लास भनेर हाडखोर आयो । काजकिरिया गर्नका लागि अञ्जनाका हातमा राज्यले २५ हजार रुपैयाँ थमाइदियो ।
अहिले अञ्जनाले सासुलाई स्याहारेर बसेकी छन् । सन्तानलाई दुई छाक ख्वाउने बाटो नहुँदा काठमाडौँमा आफन्त कहाँ राखेकी छन् । आमहत्या भनिएको पतिको मृत्युलाई उनी हत्या मान्छिन् तर हरिबहादुरले न्याय पाउन् भनेर कहाँ गुहार्ने उनलाई केही थाहा छैन ।

००

विदेशले सपना पूरा गर्ला, सपना हर्छ पनि विदेशले र एउटा व्यक्तिको अन्त्यसँगै सारा परिवारको सपनाको पनि अन्त्येष्टि हुँदो रहेछ । के विदेशमा काम गर्न गएका र उनीहरूका परिवार खुसी छन् त ? अझ अशक्त भएर घर फर्किनुपरेका, रोजगारदाताले दिने यातानालाई झेल्न नसकेका अनि लास बनेर बाकसमा फर्किएकाहरूको परिवारको अवस्था कस्तो होला ?

यही जवाफ खोज्ने अभियान हो, ‘परिस्थिति : कथा बाध्यताको’, जसमा केही हाँसो अनि अथाह पीडामा बाँचिरहेका भुइँमान्छेहरूको कथा आउँछ । यसलाई हामीले हरेक सोमबार राति ८ बजे एपीवन टीभी र नेपाल विम्बको युट्युब च्यानलमा प्रसारण गरिरहेका छौँ । 

‘परिस्थिति : कथा बाध्यताको’ १३ शृंखलाको पहिलो सिजन तयार पार्दा मैले यो देशमा विपन्न वर्गले बेहोर्नुपरेका पीडाका केही अंश महसुस गर्न पाएँ । मधेसका विभेद र पीडा हेर्न पाएँ । पहाडका दुःख चढ्न पाएँ ।
‘परिस्थिति : कथा बाध्यताको’मा पीडाका कथा मात्र छैन । केही शृखंलाले मुस्कान पनि छर्नेछ । हामीले चलचित्र वा कतै पढेका पात्रहरू ‘परिस्थिति : कथा बाध्यताको’ कै पात्र हुनेछन् । हामीलाई केहीबेर हँसाउनेछन्, केहीबेर रुवाउनेछन् ।

दुःखमा हाँसेका पात्रहरू पनि छन् । रोगलाई भगवानको भरोसामा छाडेर बाँच्छु भन्ने विश्वासमा रहेकाहरू पनि छन् ।

वास्तवमा भन्ने हो भने ‘परिस्थिति : कथा बाध्यताको’ १३ शृंखलाले ऋण काढेर वैदेशिक रोजगारी गएकाहरूको सपना कसरी भताभुंग भयो र अहिले उनीहरूको अवस्था कस्तो छ ? राज्यले महसुस गर्न नसकेको भुइँमान्छेका कथा नै हामीले बाहिर ल्याउनेछौँ । सायद हाम्रो यो अभियानले राज्य यस्ता पीडितहरूको आँसुप्रति केही जवाफदेही बन्न सक्ला कि ! 

किन जन्मियो ‘परिस्थिति : कथा बाध्यताको ?’
साँच्चै भन्नुपर्दा, पत्रकारितामा लागेको ३० वर्षमा मैले केही गर्न सकिनँ । धेरैलाई थाहा छ । मैले यो ३० वर्षमा गर्नुपर्ने के रहेछ ? त्यो पनि आजसम्म बुझ्न सकेको थिइनँ । जहाँ काम पाइयो, लाग्छ इमानदारितापूर्वक कर्म गरियो । सायद त्यसैले धेरै दुस्मन पनि कमाइनँ । मित्र कमाएँ कि कमाइनँ त्यो भने थाहा भएन । यो ३० वर्षको उपलब्धि भनेकै यति रह्यो । 

हुन त जिन्दगीको यही परिधिमा कति न्युजरुम ‘लिड’ गरियो । सम्पादक र प्रधान सम्पादकका रूपमा सूचना विभागमा दर्ता पनि भइयो तर खै ती कुरा कहिल्यै खासै उपलब्धिजस्ता लागेनन् । त्यसैले चिया पसलमा आफूलाई ठुलो बनाएर गफ चुट्ने सक्ने काम एउटै गर्न सकिनँ । त्यसैले पत्रकारको भीड हुने चिया पसलको ग्राहक बन्न सकिनँ । नढाँटी भन्नुपर्दा पत्रकारिता सुरु गर्दा मेरो सामाजिक हैसियत जे थियो, आज पनि त्यही छ ।

फरक बाटोमा हिँड्ने कोसिस नै नगर्नु ठुलो भुल हुँदो रहेछ । तीन दशकभन्दा लामो अवधिपछि यो कुरा बुझ्दै छु ।

अहिले त्यही गल्ती सच्याउने अभियानमा हिँडेको छु । ‘परिस्थिति : कथा बाध्यताको’ लाई काँधमा बोकेर ।

अरुको आँसु महसुस गर्न मात्रै होइन, हेर्न पनि निकै कठिन हुँदो रहेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

चेतन पाण्डे
चेतन पाण्डे
लेखकबाट थप