आइतबार, ०१ असार २०८२
ताजा लोकप्रिय

निर्वाचन पद्धति र शासन प्रणालीबारे बढी बहस हुन जरुरी छ ः सभामुख घिमिरे

शनिबार, ३१ जेठ २०८२, १६ : ५४
शनिबार, ३१ जेठ २०८२

समाचार सारांश

  • सभामुख देवराज घिमिरेले निर्वाचन पद्धति र शासन प्रणालीबारे बहस आवश्यक रहेको बताए।
  • उनले निर्वाचनलाई निष्पक्ष, पारदर्शी र सहभागितामूलक बनाउन आवश्यक रहेको उल्लेख गरे।
  • सभामुखले शासन प्रणालीलाई जनमुखी बनाउन र निर्वाचन प्रणालीका दोषबारे छलफल गर्नुपर्ने बताए।

काठमाडौँ । सभामुख देवराज घिमिरेले निर्वाचन पद्धति र शासन प्रणालीबारे बढी बहस हुन जरुरी रहेको बताएका छन् । शनिवार संविधानविद्, लेखक तथा वरिष्ठ अधिवक्ता डा. चन्द्रकान्त ज्ञवालीद्वारा लिखित पुस्तक ‘नेपालमा निर्वाचन प्रणाली’ सार्वजनिक गर्दै सभामुख घिमिरेले के गर्दा शासन प्रणालीलाई प्रभावकारी बनाउन सक्छौँ भन्नेबारेमा बहस गर्न जरुरी रहेको बताएका हुन् । 

उनले अहिलेको शासन प्रणाली र निर्वाचन प्रणालीका दोषहरूका बारेमा बहस गरेर अघि बढ्न आवश्यक रहेको बताए । निर्वाचनलाई निष्पक्ष बनाउने, पारदर्शी बनाउने र सबैको उचित खालको सहभागितामूलक ढङ्गबाट बनाउने, त्यसबाट बनेको जनप्रतिनिधिले आफू शासन प्रणालीमा जाँदा स्थिर र परिणाममुखी ढङ्गबाट कामहरू गर्ने विधि के हुनसक्छ ? भन्ने विषयमा छलफल चलाउन जरुरी रहेको उनले जिकिर गरे । 

सभामुख घिमिरेले भने, ‘अब हामी के गर्दा शासन प्रणालीलाई प्रभावकारी बनाउन सक्छौँ । जनमुखी बनाउन सक्छौँ ? यो शासन प्रणालीमा आएका समस्या हुन् की निर्वाचन प्रणालीका दोषहरू हुन् । निर्वाचन प्रणालीका दोषहरू हुन् की निर्वाचन आचारसंहितासँग गाँसिएका कुराहरू हुन् ? यसलाई प्रयोग गर्ने राजनीतिक दलहरूको भूमिकाको समस्या हो की ? बहुमतीय प्रणालीमा जान सजिलो छ किनभने यसमा लगानी गरेर प्रतिफल प्राप्त गर्न सकिन्छ । त्यसैले पूर्ण समानुपातिकमा जानुपर्छ वा एकल तरिकाहरूमा जानुपर्छ भन्ने जस्ता धेरै बहसहरू चलिरहँदा हाम्रो छलफल खास गरी निर्वाचन पद्धति र हाम्रा प्रणालीहरूको बारेमा बढी विवेचना हुनुपर्छ । नेपालको सन्दर्भमा हामीले समावेशी बनाउने एउटा महत्त्वपूर्ण उपलब्धि प्राप्त गरेका छौँ । दुई वटा आवधिक निर्वाचन गरेर त्यसको परिणाम भोगिरहेका छौँ । निर्वाचनलाई निष्पक्ष बनाउने, पारदर्शी बनाउने र सबैको उचित खालको सहभागितामूलक ढङ्गबाट बनाउने, त्यसबाट बनेको जनप्रतिनिधिले आफू शासन प्रणालीमा जाँदा स्थिर र परिणाममुखी ढङ्गबाट कामहरू गर्ने विधि के हुनसक्छ ? यो नै आजको छलफलको विषय हो । ’

सभामुख घिमिरेले निर्वाचन प्रणालीको बारेमा बहस र छलफल हुन आवश्यक रहेको पनि बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप