शुक्रबार, ०६ असार २०८२
ताजा लोकप्रिय

घरेलु श्रमिक सम्बन्धी महासन्धि सी– १८९ अनुमोदन गर्न श्रममन्त्रीलाई ध्यानाकर्षण

बिहीबार, ०५ असार २०८२, १७ : ११
बिहीबार, ०५ असार २०८२

समाचार सारांश

  • पौरखी नेपालले श्रममन्त्रीको ध्यानाकर्षण गराउँदै घरेलु श्रमिक सम्बन्धी महासन्धि १८९ अनुमोदन गर्न माग गरेको छ।
  • अन्तर्राष्ट्रिय घरेलु श्रमिक दिवसको अवसर पारेर पौरखी नेपालले उक्त महासन्धि अनुमोदनका लागि ध्यानाकर्षण गराएको हो।
  • घरेलु श्रमिकको अधिकार सुनिश्चित नहुँदा उनीहरू श्रम शोषण, मानव तस्करी, यौन शोषण, ज्यालामा विभेद लगायतका समस्याबाट पीडित छन्।

काठमाडौँ । पौरखी नेपालले घरेलु श्रमिक सम्बन्धी महासन्धि १८९ अनुमोदन गर्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीको ध्यानाकर्षण गराएको छ । श्रममन्त्री शरतसिंह भण्डारीलाई ध्यानाकर्षण पत्र बुझाउँदै अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आईएलओ) को महासन्धि १८९ (डोमेस्टिक वर्कर्स कन्भेन्सन, सी–१८९) अनुमोदन गर्न माग गरेको हो । 

आज अन्तर्राष्ट्रिय घरेलु श्रमिक दिवसको अवसर पारेर विश्वभर विभिन्न कार्यक्रम मनाईंदैछ । दिवसको अवसर पारेर पौरखी नेपालले उक्त महासन्धि अनुमोदनका लागि श्रम मन्त्रीको ध्यानाकर्षण गराएको हो । 

घरभित्र सेवा प्रदान गर्ने श्रमिकहरूलाई विश्वभर श्रमिकको रूपमा आधिकारिक मान्यता दिने उद्देश्यले सन् २०११ मा आईएलओले महासन्धि सी–१८९ पारित गरेको थियो । आजसम्म यो महासन्धिमा विश्वका ३७ देशले मात्र अनुमोदन गरेको छ । एसियाबाट फिलिपिन्सले मात्रै अनुमोदन गरेको हो । 

नेपालले अझैसम्म यो महासन्धि अनुमोदन नगर्नु श्रम अधिकार प्रति नेपालको प्रतिबद्धता कमजोर भएको स्पष्ट सङ्केत देखिएको पौरखी नेपालको ठहर छ । नेपालबाट वैदेशिक रोजगारीमा गएका मध्ये उल्लेख्य सङ्ख्यामा महिला श्रमिकहरू घरेलु (स्याहार) श्रममा संलग्न रहेको पौरखीले बुझाएको ध्यानाकर्षण पत्रमा उल्लेख छ ।

खाडी मुलुक, मलेसिया तथा अन्य गन्तव्य राष्ट्रमा घरेलु श्रमिकका रूपमा पुग्ने महिलाहरू बढी असुरक्षित, अनौपचारिक, अमर्यादित र विभेदयुक्त अवस्थाको सामना गरिरहेको पौरखी नेपालकी अध्यक्ष सत्रकुमारी गुरुङको नाममा जारी गरिएको ध्यानाकर्षण पत्रमा उल्लेख छ । 

घरेलु श्रमिकको अधिकार कानुनी रूपमा सुनिश्चित नहुँदा उनीहरू श्रम शोषण, मानव तस्करी, यौन शोषण, ज्यालामा विभेद, करारविहीन काम र सामाजिक सुरक्षाबाट वञ्चित भइरहेको उनको भनाइ छ । 

उक्त महासन्धि पारित गर्ने विषयमा पौरखी नेपालले विभिन्न ८ बुँदे माग अघि सारेको छ । महासन्धि सी–१८९ तत्काल अनुमोदन गरी घरेलु श्रमिकलाई श्रम अधिकारको पूर्ण उपभोग गर्ने वातावरण सुनिश्चित गर्नुपर्ने माग गरेको छ । 

हाल विद्यमान अनौपचारिक, असुरक्षित, अमर्यादित र शोषणयुक्त घरेलु (स्याहार) श्रम प्रणालीलाई औपचारिक नीतिगत संरचनामा समेटी, सुरक्षित, मर्यादित र सम्मानजनक श्रमको रूपमा रूपान्तरण गर्न समेत माग गरेको छ ।

2505696565_678263705045950_3250016446727668217_n

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप