सुत्केरी गराउन भरतपुर जाँदै गर्दा श्रीमान र सासूसहित अस्ताइन् रेणुका
सारांश
- हेटौँडाकी २७ वर्षीया रेणुका कँडेल पहाडीको चितवनमा दुर्घटनामा मृत्यु, दोस्रो सन्तान जन्माउन जाँदै गर्दा श्रीमान् र सासुको पनि मृत्यु भयो।
- दुर्घटनामा रेणुका सवार माइक्रोबस र यात्रुवाहक बस ठोक्किएका थिए, जसमा ७ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
- दुर्घटनामा मृत्यु हुने अन्यमा हेटौँडाका सोमप्रसाद रुपाखेती, माइक्रोबस चालक राजु थिङ र रौतहटका सीता चौधरी रहेका छन्, एक युवतीको सनाखत हुन सकेको छैन।
हेटौँडा । प्रसूति सेवा लिन चितवनस्थित भरतपुर अस्पताल जाँदै गरेकी हेटौँडा–५ की २७ वर्षीया रेणुका कँडेल पहाडीको दुर्घटनामा मृत्यु भएको छ । दोस्रो सन्तान जन्माउनका लागि प्रसूति गराउन भरतपुर हिँडेकी रेनुकाले शनिबार भएको दुर्घटनामा श्रीमान ३५ वर्षीय सरोज र सासुआमा ५५ वर्षीया मैयाकुमारीसँगै ज्यान गुमाएकी छिन् ।
शनिबार बिहान १०ः १५ बजेको समयमा पूर्व–पश्चिम राजमार्गअन्तर्गत चितवन जिल्लाको राप्ती नगरपालिका–४ मा भएको दुर्घटनामा उनीहरूको मृत्यु भएको थियो । हेटौँडाबाट नारायणगढतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ज २९९ नम्बरको रेणुका सवार माइक्रोबस धनगढीबाट काँकडभिट्टातर्फ जाँदै गरेको प्रदेश १–०१–००१ ख ३५८३ नम्बरको यात्रुबाहक बस आपसमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनामा परी ७ जनाको मृत्यु भएको छ ।
हेटौँडामै नियमित स्वास्थ्य जाँच गराउँदै आएकी रेणुका सन्तान जन्माउनका लागि परिवारसहित चितवन जाँदै थिइन् । चिकित्सकले रेनुकाको सुत्केरी हुने मिति आइतबार तोकिदिएका थिए । रेनुकाका श्रीमान सरोजलाई मामा नवराज पहाडीले आफ्नो गाडी लिएर जान भनेका थिए । तर, सरोजले सुत्केरी भएपछि २÷४ दिन अस्पतालमै बस्नुपर्ने हुनसक्ने भन्दै सार्वजनिक माइक्रो बसमा यात्रा गर्ने निर्णय लिएका थिए ।
सरोजले ३ वर्षीया छोरीलाई बुबासँग घरमै छाडेर गर्भवती श्रीमतीसँगै आमालाई साथी लिएर भरतपुर हिँडेका थिए । तर, सरोजले दोस्रो सन्तान हेर्ने सपना पूरा हुन सकेन । उल्टै गर्भमा रहेको भ्रूणसँगै श्रीमती रेणुका र आमाको साथमा ज्यान गुमाउन बाध्य भए ।
श्रीमती, छोरा, बुहारी र गर्भमा रहेको नाति पुस्ताको एक चिहान हुँदा रेवती पहाडी अचेत अवस्थामा रहेको छिमेकी विजय पुडासैनीले जानकारी दिए । ‘श्रीमती, छोरा, बुहारी र गर्भमा रहेको भ्रूण पनि गुमाउनु परेपछि बुबा रेवती पहाडी अचेत हुनुभएको छ । बेलाबेलामा बर्बराइरहनुभएको छ । छिमेकमा बज्रपात परेपछि चितवन पुग्नुभएका पुडासैनीले भने, ‘रेवती सर अचेत हुनुहुन्छ । पहाडी परिवारमा ठुलो दुर्घटना भो । हामी पनि शोकमा छौँ ।’
दुर्घटनामा परी हेटौँडा–४ का ५५ वर्षीय सोमप्रसाद रुपाखेती, माइक्रोबस चालक हेटौँडा–१० का ३१ वर्षीय राजु थिङ र रौतहट जिल्लाको चन्द्रनिगाहपुर–६ की ३५ वर्षीया सीता चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ । चितवन प्रहरीले रुपाखेतीको ठेगाना साविक हटिया गाविस–३ उल्लेख गरे पनि उनी हाल हेटौँडा–४ मा बस्दै आएका थिए ।
दुर्घटनामा परी मृत्यु भएकी एक युवतीको सनाखत हुन सकेको छैन । अन्दाजी १९ वर्षीय युवतीको सनाखत हुन नसकेको प्रहरीले उल्लेख गरेको छ । दुर्घटनामा परी घाइते भएकाहरू भरतपुरस्थित पुरानो मेडिकल कलेज, एलाईभ अस्पताल भरतपुरमा उपचार भइरहेको छ ।
घाइतेमध्ये हेटौँडा–४ का ३१ वर्षीय विष्णु लम्साल, हेटौँडा–१२ का ३२ वर्षीय सिंहवीर घलान र हेटौँडा–१३ का १६ वर्षीय सक्षम थापा मध्यम घाइते रहेको प्रहरीको भनाई छ । हेटौँडा–८ की ३४ वर्षीया गंगा घलान गम्भीर घाइते भएकी छन् ।
बस चालक मोरङ जिल्लाको बेलबारी नगरपालिका–७ का २७ वर्षीय सुमन चौधरी प्रहरी नियन्त्रणमा रहेको छ । बस चालक चौधरी सामान्य घाइते भएको र उपचारपछि डिस्चार्ज भएर प्रहरी नियन्त्रणमा रहेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनुमति लिएर मात्र अन्तःशुल्कजन्य वस्तुको कारोबार गर्न आग्रह
-
‘सैयारा’ को सफलतापछि पुनः पर्दामा जोडिँदै अहान र अनीत
-
छिन्नमस्ता गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतमाथि कार्यकक्षमै दुर्व्यवहार, कर्मचारीद्वारा विरोध
-
हिमालयन लिटरेचर फेस्टिभल एण्ड राइटर्स वर्कशप २०२६ सुरु
-
राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो
-
चलचित्र ‘काला हिरण’ विवाद : निर्माता भन्छन्, ‘यो सलमान खानको बायोपिक होइन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण