मोबाइलमा क्रिकेट हेरिरहेका केशव आफ्नै छोराले ५ विकेट लिएपछि दङ्ग
सारांश
- मलेसियामा जारी यु-१६ इस्ट जोन कपमा दाङका शुभम खनालले जापानविरुद्धको खेलमा ५ विकेट लिए।
- शुभमका बुवा केशव खनालले क्रिकेट खेल्ने आफ्नो सपना पूरा गर्न नसके पनि छोरालाई राम्रो प्रशिक्षण दिलाए, जसले गर्दा शुभम सफल भए।
- शुभमको सफलतामा प्रशिक्षक शक्ति गौचन र दाङ क्रिकेट संघका पदाधिकारीको पनि योगदान रहेको छ।
धनगढी । दाङका शुभम खनालले मलेसियामा जारी एसीसी पुरुष यु–१६ इस्ट जोन कप अन्तर्गत एकै खेलमा ५ विकेट लिए । मंगलबार जापानविरुद्धको खेलमा उनले १० ओभर बलिङ गर्दै १५ रनमात्र खर्चिए ।
खनालको कसिलो बलिङलाई सबैले तारिफ गरे । आजको खेलमा अभय यादव, सुशील, विपिन, सचिन र प्रसिद्धले पनि राम्रो बलिङ गरे । नेपाली प्रतिभावान युवा खेलाडीसामु जापानी टोली धेरैबेर टिकेन । ३४.३ ओभरमा ८० रन बनाएर जापान अलआउट हुन पुग्यो । नेपालले १४.१ ओभरमा १ विकेट गुमाएर यो खेल जित्यो ।
बलिङमा जादुमय प्रदर्शन गर्ने शुभमले सानैदेखि नेपालको जर्सी लगाउँदै देशका लागि खेल्दा लाइभ हेरिरहेका उनका बुवा केशव खनालका आँखा खुशीले रसाएका थिए । छोराको खेल मोबाइलमा हेरेका उनले शिर ठाडो गरेको महसुस गरे ।
शुभमले सानै उमेरमा क्रिक्रेटमा देखाएको प्रदर्शनको पछाडि उनका बुवा केशव खनालको एउटा सपना छ । केशवले आफ्नो रहर पूरा गर्न नसके पनि छोराको सपनालाई आफ्नो आँखामा सजाएर हिँडेका छन् ।
केशवको जन्म अर्घाखाँचीको साविक ढाकावाङ गाविसमा भएको थियो । घरको आर्थिक अवस्था कमजोर भएकाले उनले पढाइलाई निरन्तरता दिन सकेनन् । ११ वर्षको कलिलो उमेरमा उनी परिवारको सहारा बन्न भारत पसे ।

‘मैले पढ्न पाइनँ, घरको परिस्थिति राम्रो थिएन,’ केशवले भने, ‘सानैमा भारत गएँ । त्यहीँ पहिलो पटक क्रिकेट देखेको हुँ ।’
भारतमा बस्दा सुनील गावस्कर र पछि सचिन तेन्दुलकरको खेल हेरेर उनी क्रिकेटप्रेमी बने । क्रिकेटप्रतिको लगाव यतिसम्म बढ्यो कि उनी भारत–पाकिस्तानको म्याच हेर्नका लागि आफ्नो काम नै छाडिदिन्थे । तर, ब्याट–बल किनेर खेल्ने पैसा उनीसँग कहिल्यै भएन । मनको रहर मनमै सीमित भयो । तर क्रिकेटप्रतिको प्रेम कहिल्यै मरेन ।
समय बित्दै गयो । भारतमै विवाह गरेर केशव नेपाल फर्किए । उनी करिब १८ वर्षअघि व्यवसाय गर्न दाङको लमही झरे । त्यतिवेला लमहीमा मोबाइलको टावरसमेत राम्रोसँग टिप्दैनथ्यो । त्यहीँ उनले मोबाइल पसल चलाएर परिवार पाल्न थाले । उनको क्रिकेटप्रतिको अधुरो सपना कतै मनको कुनामा दबिएको थियो तर, सन् २०१४ मा जब नेपालले विश्वकप छनोट खेल्यो, उनको सपनाले नयाँ रुप लियो ।
त्यतिवेला बुवाको काखमा बसेर शुभम प्रोजेक्टरमा देखाइएको नेपालको खेल हेर्थे । ‘त्यही वेलादेखि छोराले म पनि क्रिकेट खेल्छु भन्न थाल्यो,’ केशवले भने, त्यसपछि उसले प्लास्टिकको ब्याटले खेल्न सुरु ग¥यो ।’
छोराको रुचि देखेर केशवलाई आफ्नो अधुरो सपना पूरा हुने आशा पलायो । उनले शुभमलाई राम्रो प्रशिक्षण दिलाउन अनेक प्रयास गरे । सुरुमा दिल्ली लगे तर सानो उमेरका कारण होस्टेलमा राख्न मिलेन ।
पाँच वर्ष अगाडि सुर्खेतमा कर्णाली प्रिमियर लिग हेर्न जाँदा केशवको भेट राष्ट्रिय खेलाडी सोमपाल कामीसँग भयो । सोमपालले नै उनलाई भर्खरै सन्यास लिएर एकेडेमी खोलेका पूर्वकप्तान शक्ति गौचनसँग भेट गर्न सुझाए ।
त्यही सुझाव केशवका लागि मार्गदर्शक बन्यो । उनी छोरालाई लिएर बुटवल पुगे, तर शक्तिलाई भेट्न सजिलो थिएन । होराइजन स्कुलमा पुग्दा उनलाई छोराको भर्नाका लागि आएको ठानियो ।
केशवले भने, ‘म भर्ना गर्न होइन, क्रिकेट खेलाउन आएको हुँ भनेँ ।’ लामो प्रयासपछि अन्ततः उनको भेट शक्तिको अर्को शाखामा भयो ।
‘नेपालको लिजेन्ड खेलाडीलाई भेट्दा नै मेरो छाती चौडा भयो । छोराको त कति भयो होला,’ शक्तिसँगको पहिलो भेट सम्झँदै उनी भन्छन् । शक्तिले शुभमको बलिङ हेरेपछि भने, ‘बाबुमा प्रतिभा छ, सुधार्नुपर्छ ।’
त्यसपछि सुरु भयो शुभमको व्यावसायिक क्रिकेट यात्रा । बुबा केशवको लागि भने यो अर्काे चरणको संघर्षको सुरुवात थियो । अरु केटाकेटी आमाबुवाको काखमा बसेर खाने–खेल्ने उमेरमा शुभमले क्रिकेटका लागि घर छाडे ।

‘छोरा होस्टेल गएको तीन–चार दिनमै मलाई साह्रै नरमाइलो लाग्यो । हामी बाबुछोरा सँगै सुत्थ्यौँ, सँगै दही खान्थ्यौँ । ऊ गएपछि दही खाने मान्छे नै भएन,’ केशवले भावुक हुँदै भने, ‘मैले श्रीमतीलाई छोरा लिएर आऊ, सबैका छोराछोरी क्रिकेटर बन्दैनन्, मलाई गाह्रो भयो भनेर पठाएँ ।’
आमा लिन पुग्दा पनि शुभम घर फर्किन मानेनन् । उनले बुबासँग फोनमा क्रिकेट सिकेरै आउने जिद्दी गरे । हरेक हप्ता छोरालाई भेट्न आउने गरी आमा पनि छोराको दृढतालाई बल थपेर फर्किइन् ।
छोरालाई क्रिकेटर बनाउन आर्थिक रुपमा पनि सहज थिएन । सुरुमा त निकै गाह्रो भयो । अहिले केशवको गार्मेन्ट व्यवसाय राम्रो चलेको छ, तर पनि छोराको लागि मासिक ४० देखि ५० हजार रुपैयाँ खर्च हुन्छ ।
‘सुरुमा गाह्रो भयो, तर छोराछोरीको इच्छा पूरा गर्नुभन्दा ठुलो कुरा केही होइन भन्ने लाग्छ,’ केशवले भने, ‘यसमा श्रीमतीको पूरा साथ छ ।’
केशवले छोराको पहिलो कमाइलाई पनि अविस्मरणीय बनाएका छन् । दाङ क्रिकेट लिग (डीसीएल) मा शुभम ३५ हजारमा बिक्री भए । जुन यु–१६ खेलाडीका लागि कीर्तिमानी रकम थियो । त्यही पैसामा आफ्नो तर्फबाट थपेर उनले आगलागी पीडितलाई राहत बाँडे ।

‘छोरामा सामाजिक उत्तरदायित्वको भावना पनि विकास होस् भनेर उसको पहिलो कमाइ सामाजिक काममा लगाएँ,’ केशवले भने ।
उनको समर्थन कतिसम्म छ भने छोराको एसईई परीक्षा चल्दै गर्दा विज्ञान विषयको परीक्षा दिनुभन्दा अघिल्लो दिन अभ्यास खेल खेल्न जान्छु भन्दा पनि उनले रोकेनन् ।
‘बाहिरबाट हेर्दा कस्तो अभिभावक रहेछ भन्ने लाग्ला, तर उसको खुसी नै मेरो लागि सबथोक हो,’ केशवले भने । छोराले देशको जर्सी लगाएर अन्तर्राष्ट्रिय मैदानमा उत्कृष्ट प्रदर्शन गर्दा केशवको छाती गर्वले फुल्छ ।
अहिले चलिरहेको प्रतियोगिताको पहिलो खेलमा डेब्यु गर्दै शुभमले ब्याटिङतर्फ अविजित ९ रन बनाए र बलिङतर्फ एक विकेट लिएका थिए । दोस्रो खेलमा ५ विकेट लिएर ‘प्लेयर अफ द म्याच’ बन्नु उनको वर्षौंको लगानी र संघर्षको प्रतिफल हो ।
‘आज शुभमकी हजुरआमा जीवित हुनुभएको भए सबैभन्दा धेरै खुसी हुनुहुन्थ्यो होला,’ केशव भन्छन् ।
शुभमको यो सफलताको श्रेय उनी प्रशिक्षक शक्ति गौचन र दाङ क्रिकेट संघका पदाधिकारीलाई पनि दिन्छन् । ‘जे छ, शक्ति सरकै देन हो । जिल्लाबाट यहाँसम्म ल्याउन सञ्जीव रेग्मी (हाल यु–१६ का सहायक प्रशिक्षक) जस्ता व्यक्तिहरूले दिएको हौसला उनले ठुलो सहयोग ठानेका छन् ।
छोरालाई गौचनजस्तै बन्न नसके पनि उनको १० प्रतिशतमात्र भइदिए सफल हुन्छ भन्ने सोच केशवको छ । छोराको सपनालाई आफ्नो सपना बनाएका केशव शुभमसित अहिले मैदानमा खेल्ने कलिला खेलाडीहरू खेल्न पाउने गरी नेपालले टेस्ट राष्ट्रको मान्यता पाएको हेर्न चाहन्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उद्घाटन गरेको १० दिनमै भासियो पुल
-
फ्रेन्च ओपनको फाइनलमा पोल्यान्डकी माजा च्वालिन्स्का
-
एआईले बनाएको ‘विश्वकै पहिलो’ खोपको सफल परीक्षण
-
बिदा सकिएर पनि कार्यक्षेत्रमा नफर्कने कर्मचारीलाई ३ दिनभित्र हाजिर नभए कारबाही गर्ने चेतावनी
-
हिमालय एअरलाइन्सद्वारा शेन्जेन–काठमाडौँ सिधा उडान सुरु, एकै दिन आए १७५ चिनियाँ पर्यटक (तस्बिरहरू)
-
आज पनि घट्यो सुनचाँदीको मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण