शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
भिजिट भिसा प्रकरण

भिजिट भिसा प्रकरणको छानबिन गर्न गठित समिति रास्वपाद्वारा अस्वीकार, खारेज गर्न माग

वैरागीको नेतृत्वमा कमजोर र स्वार्थ प्रेरित समिति गठन गरिएको आरोप
मङ्गलबार, १० असार २०८२, १९ : २०
मङ्गलबार, १० असार २०८२

सारांश

  • रास्वपाले पूर्व मुख्य सचिव शंकरदास वैरागीको नेतृत्वमा भिजिट भिसा छानबिनका लागि गठित समितिप्रति आपत्ति जनाएको छ।
  • रास्वपाले भिजिट भिसाको आवरणमा भइरहेको मानव तस्करी र ठगीको छानबिनका लागि कमजोर समिति गठन भएको आरोप लगाएको छ।
  • रास्वपाले सरकारको यो निर्णयले दोषी उम्किने र पीडितले न्याय नपाउने दाबी गर्दै समिति खारेज गर्न माग गरेको छ।

काठमाडौँ । सरकारले पूर्व मुख्य सचिव शंकरदास वैरागीको नेतृत्वमा भिजिट भिसा प्रकरणको छानबिनका लागि समिति गठन गरेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आपत्ति जनाएको छ । 

मंगलबार रास्वपाले एक प्रेस विज्ञप्ति जारी गर्दै भिजिट भिसाको आवरणमा भइरहेको मानव तस्करी र ठगी जस्तो गम्भीर सङ्गठित अपराधको छानबिन गर्न पूर्व मुख्यसचिव वैरागीको नेतृत्वमा स्वार्थ प्रेरित र कमजोर समिति गठन गरिएको बताएको छ । 

निष्पक्ष छानबिनको मर्म विपरीत, कर्मकाण्डी र नागरिकको आँखामा छारो हाल्ने षड्यन्त्रको निरन्तरतामा सरकारद्वारा गठित समिति पूर्णरुपमा अस्वीकार गरिएको रास्वपाका प्रवक्ता मनिष झाले बताए । 

प्रवक्ता झाद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ,'भिजिट भिसा प्रकरण सामान्य प्रशासनिक त्रुटि थिएन, होइन । यो राजनीतिक र प्रशासनिक संरक्षणमा फस्टाएको सङ्गठित अपराधको सञ्जाल थियो, छ । जसमा गृहमन्त्रीकै परोक्ष संलग्नताको आशङ्का र प्रत्यक्ष संरक्षणको प्रारम्भिक प्रमाण एवं कार्यान्वयन तहका कर्मचारीहरूको सक्रिय सहभागिता प्रस्टै देखिएको छ । तर, पछिल्लो प्रकरण छानबिनको कार्यादेशसमेत नदिई सरकारको बफादार आदेशपालक र शक्तिका सदाबहार समर्थकको नेतृत्व र छानबिन गरिनुपर्ने मन्त्रालयहरूकै उच्चपदस्थ कर्मचारीको संलग्नतामा समिति बनाइनु समस्याको दीर्घकालीन समाधान खोज्न होइन, सम्भावित दोषी उम्क्याउन हो भन्ने हाम्रो ठहर छ । सरकारको यो निर्णयले न दोषी पहिचान हुन्छन्, न पीडितले न्याय पाउँछन् । नत पद्धतिमा नै सुधार हुन्छ ।'

भिजिट भिसा प्रकरणमा ठुला भनिएका नेता र उच्चपदस्थ कर्मचारीसमेत तानिन सक्ने सम्भावनाका कारण स्वार्थवश कमजोर समिति बनाएर छानबिन ढिसमिस पार्ने सरकारको उद्देश्यप्रति खबरदारी गर्दै गठित समिति तत्काल खारेज गर्न रास्वपाले माग समेत गरेको छ । 

rsp

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप