बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
विपत्ति

डोल्पाको काइकेमा लेदोसहितको पहिरो, ८ घर पुरिए

मोटरबाटो खन्दा निस्किएको माटो र ढुङ्गासहितको लेदो बगेर बस्तीमा
शुक्रबार, १३ असार २०८२, १२ : ५२
शुक्रबार, १३ असार २०८२

सारांश

  • अविरल वर्षापछि डोल्पाको काइके गाउँपालिका-४ मा लेदोसहितको पहिरो जाँदा ८ घर पुरिएका छन् र ५३ घरमा क्षति पुगेको छ।
  • पहिरोले एउटा विद्यालय भवनमा पूर्ण क्षति पुगेको छ भने उद्धार टोलीले स्थानीयलाई सुरक्षित स्थानमा सार्न र पुनस्र्थापनामा सहयोग गरिरहेको छ।
  • पहिरो बस्तीभन्दा माथिबाट आएको र मोटरबाटो खन्दा निस्किएको माटो र ढुङ्गासहितको लेदो बगेर बस्तीमा पसेको डीएसपीले बताए।

 सुर्खेत । अविरल वर्षासँगै डोल्पाको काइके गाउँपालिका–४ स्थित रिवा गाउँमा लेदोसहितको पहिरो गएको छ ।  गएराति साढे १२ बजेतिर बस्तीभन्दा माथिबाट लेदोसहितको पहिरो खस्दा ८ घर पुरिएका छन् । यस्तै ५३ घरमा क्षति पुगेको छ । 

जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायव उपरीक्षक (डीएसपी) रुकबहादुर खड्काले पहिरोका कारण ८ घर पुरिएर पूर्ण रूपमा क्षति भएको जानकारी दिए । यसैगरी १२ घरमा मध्यम क्षति पुगेको छ । 

यस्तै, पहिरोले एउटा विद्यालय भवनमा पनि पूर्ण क्षति पुर्‍याएको उनले बताए । बाँकी घरहरूमा सामान्य क्षति पुगेको उनले बताए ।

डीएसपी खड्काले भने, ‘बस्तीभन्दा करिब ५०० मिटर माथिबाट लेदोसहितको पहिरो आएको हो ।  मोटरबाटो खन्दा निस्किएको माटो र ढुङ्गासहितको लेदो बगेर बस्तीमा पसेको देखिन्छ ।’

घटनालगत्तै स्थानीय प्रहरी चौकी तथा जिल्ला सदरमुकाम दुनैबाट नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली घटनास्थलमा खटिएको छ । सशस्त्र प्रहरीका सईको कमान्डमा ११ जनाको टोली घटनास्थल पुगिसकेको छ ।

उद्धार टोलीले स्थानीयलाई सुरक्षित स्थानमा सार्ने, घरभित्रका सामान निकाल्ने र पुनस्र्थापनामा सहयोग गरिरहेको छ । 

काइके गाउँपालिकाका अध्यक्ष अंगद कुमार राना पनि प्रभावितहरुका लागि खाद्यान्न र बासको व्यवस्था मिलाउन घटनास्थलतर्फ लागेको डीएसपी खड्काले बताए ।

पहिरोका कारण अधिकांश घरहरु बस्न नमिल्ने भएका छन् । घरभित्र लेदो पसेकाले स्थानीय बासिन्दा विस्थापित भएका छन् । पहिरो आउन सुरु भएसँगै स्थानीय भाग्न सफल भएकाले  मानवीय क्षती भने भएको छैन ।

डीएसपी खड्काका अनुसार पहिरो प्रभावित क्षेत्रमा बर्खाको समयमा मात्रै बग्ने तीनवटा खहरे खोला छन् । माथिबाट पहिरो खस्न सुरु भएपछि ती खोलाहरूमा ठूलो आवाजसहित ढुङ्गामाटो बग्न थालेको थियो ।

यही गडगडाहटको आवाजले तल्लो तटीय क्षेत्रका बासिन्दालाई सम्भावित खतराको पूर्वसंकेत दियो । खतराको संकेत पाउनासाथ स्थानीय बासिन्दाहरू तुरुन्तै घरबाट बाहिर निस्केर सुरक्षित स्थानतर्फ भागेका थिए भने उनीहरू घरबाट निस्केको केही समयमै पहिरोले क्षति पुर्‍याएको खड्काको भनाइ छ । 

 उक्त स्थान जिल्ला सदरमुकाम दुनैबाट करिब ६ देखि ७ घण्टाको पैदल दूरीमा पर्दछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप