आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

१० बजे १० समाचार : जग्गामा कांग्रेसको लगानीदेखि बैरागी नेतृत्वको समितिलाई औपचारिक पत्रसम्म

शुक्रबार, १३ असार २०८२, २२ : ००
शुक्रबार, १३ असार २०८२

काठमाडौँ । आज मिति २०८२ साल असार महिनाको १३ गते शुक्रबार । आज दिनभरका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुती रातोपाटी ब्रिफिङमा आज पनि हामी ‘१० बजे १०’ समाचार लिएर उपस्थित भएका छौँ–

१. एसईईको नतिजा सार्वजनिक

२०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा प्रकाशित भएको छ ।  राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले शुक्रबार नतिजा प्रकाशित गरेको हो । 

गत २०८१ सालको चैत ७ गतेदेखि १९ गतेसम्म सञ्चालन भएको एसइईमा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेड वृद्धितर्फ ६७ हजार ७१५ गरी जम्मा ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी भएका थिए । 

२. शिक्षा समिति

विद्यालय शिक्षा विधेयकमा सहमति जुटेको छ । निजी विद्यालयको सञ्चालन तथा व्यवस्थापन, प्रारम्भिक बाल विकास शिक्षा लगायतका विषयमा विवाद देखिएको थियो । लगातार दुई दिनको छलफलपछि प्रतिनिधिसभा अन्तर्गतको शिक्षा समितिले दुवै विवादित विषयमा सहमति जुटाएको हो ।

३. मन्त्रिपरिषद्को निर्णय

सरकारले सहकारी सहकारी संस्थाहरूको कर्जा असुलीसम्बन्धी मुद्दाको कारबाही र किनारा लगाउन कर्जा असुली न्यायाधिकरण गठन गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले कीर्तिबहादुर बस्नेतको अध्यक्षतामा ३ सदस्यीय न्यायाधिकरण गठन गरेको हो ।

४. महानगर विवाद

काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) र प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाइँबिचको विवादका कारण पहिलो पटक महानगरको बजेट समयमा आउन सकेन । विवादकै कारण बालेन र गुरागाइँबिच प्रत्यक्ष भेट नभएको ६ महिना नाघिसकेको छ ।

काठमाडौँ टावरको नक्सापास विवादपछि बालेन प्रमुख प्रशासकीय अधिकृतको रूपमा  गुरागाइँलाई स्वीकार नगरेकै कारण विवाद बढेको हो ।

गुरागाइँलाई अस्वीकार गर्दै आएका बालेनले प्रमुख प्रशासकीय अधिकृतलाई नै सम्बोधन गरेर दुई दर्जनभन्दा बढी फाइल भने तोक लगाएर पठाएको खुलेको छ । यस्तै गुरागाइँले पनि त्यसैगरी मेयर बालेनलाई फाइल पठाइरहेका छन् ।

 

५. जग्गामा कांग्रेसको लगानी

नेपाली कांग्रेसले सानेपामा रहेको पार्टी कार्यालय विस्तार गर्न १३ करोडको जग्गा किन्ने सम्झौता गरेको छ । पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले शुक्रबार विज्ञप्ति जारी गर्दै १९ आना जग्गा पार्टी कार्यालय विस्तारका लागि खरिद गर्ने निर्णय पार्टीले गरेको जानकारी दिएका छन् ।

६. भिजिट भिसा प्रकरण

‘अध्यागमन र भिजिट भिसा सम्बन्धमा विगतदेखि देखिएका समस्या समाधान गर्न गठित उच्चस्तरीय अध्ययन एवं छानबिन समिति’का पदाधिकारीलाई सरकारले औपचारिक पत्र प्रदान गरेको छ ।

असार ९ गते बसेको मन्त्रिपरिषद् बैठकले पूर्वमुख्यसचिव शंकरदाश बैरागीको नेतृत्वमा ७ सदस्यीय समिति बनाएको बनाएको थियो । शुक्रबार गृह मन्त्रालयमा आयोजित कार्यक्रममा उनीहरूलाई पत्र प्रदान गरिएको हो । 

७. अपराध समाचार

सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका–५ कोलगाउँमा १६ वर्षीया निशा तामाङको हत्यामा संलग्न ५ जनालाई प्रहरीले सार्वजनिक गरेको छ । निशा असार ११ मा घरबाट करिब ४ सय मिटर पर जङ्गलमा मृत भेटिएकी थिइन् ।

८. चर्चा विद्याको

नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारीको ७४ औँ वार्षिकोत्सवका अवसरमा शनिबार मदन भण्डारी फाउन्डेसनले वृहत् कार्यक्रम गर्दै छ ।

भण्डारीको ७४ औँ जन्म जयन्तीको अवसर पारेर फाउन्डेसनले राष्ट्रिय सभा गृहमा आयोजना गरेको कार्यक्रमको प्रमुख अतिथि प्रधानमन्त्री केपी शर्मा ओली रहेका छन् ।

विशिष्ट अतिथिमा भने पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी रहने छिन् । फाउन्डेसनका संरक्षकसमेत रहेका ओली सो कार्यक्रममा जाने नजाने निश्चित भैसकेको छैन किन भने ओली शनिबार नै  स्पेन जाने कार्यक्रम रहेको छ । फाउन्डेसनका अध्यक्ष महेन्द्र पाण्डे प्रधानमन्त्री ओली शनिबार साँझ ६ स्पेन प्रस्थान गर्ने भएकाले कार्यक्रममा सहभागी हुनसक्ने बताउँछन् ।

९. मन्त्रालयको अटेरी

 संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई विभिन्न मन्त्रालयले आफू मातहतका निकायमा रहेका कर्मचारीको विवरण पठाउन अटेर गरेका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले दरबन्दीभन्दा बढी कर्मचारी कार्यरत निकाय र कार्यरत कर्मचारीलाई सात दिनभित्र दरबन्दी बमोजिम व्यवस्थापन गरी त्यसको जानकारी गराउन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्र लेखेको थियो ।

१०. एकीकृत समाजवादीको बैठक

नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय सचिवालय बैठकमा अध्यक्ष माधवकुमार नेपालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेपछि नेपालको अध्यक्ष पद र दलको नेता के हुने भन्नेबारे छलफल भएको छ ।

थप समाचार

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप