बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
किन कविता

दर्जनौँ पुरस्कृत कविता फेरि किन गुन्जिन्नन् ?

शनिबार, १४ असार २०८२, १९ : ३५
शनिबार, १४ असार २०८२

‘बर्सेनि आयोजना हुने कविताका दर्जनौँ प्रतियोगितामा दर्जनौँ कविता पुरस्कृत हुन्छन् तर ती कविताले खै समाजमा प्रभाव पारेको ? फेरि किन गुन्जिन्नन् ती कविता ?’ अस्मिता दाहाल प्रश्न गर्छिन् । उनका लागि असलमा ती कविता विजयी हुन्, जसले समाजमा लामो समयसम्म प्रभाव पार्छन् । 

पोखरा घर भई काठमाडौँको सिग्मा कलेजमा स्नातक पढिरहेकी अस्मितालाई लाग्छ— अहिले कविताको माहोल त्यति राम्रो छैन ।

सहरका विभिन्न गोष्ठी र कार्यक्रममा कविता भट्याइरहने एकाधलाई त कविताको परिवेश ठिकठाकै लाग्ला । ‘यथार्थमा आम रूपमा न कविताको वातावरण ठिक छ, न सीमित केही अनुहार बाहेकले अवसर पाएका छन्,’ उनी भन्छिन्, ‘केही बाठा कवि पहुँचका कारण एकै कविता लिएर पटक–पटक स्टेज चढ्छन् । एक दुई लाइन मिलाएर वाह–वाहको चर्चामा कविता भासिँदै गएको छ । खास कविता लेख्नेलाई भने त्यति सम्मान छैन ।’ 

उनको बुझाइमा यसो हुनुका दुई कारण छन्— १) साहित्यमा मञ्च आदान–प्रदानको बेथिति छ र हुन सक्छ हामीकहाँ कविता नै त्यति स्तरीय लेखिएका छैनन् । २) हाम्रा प्रतियोगिता पनि कर्मकाण्डी छन् । 

‘बर्सेनि आयोजना हुने कविताका दर्जनौँ प्रतियोगितामा दर्जनौँ कविता पुरस्कृत हुन्छन् तर ती कविताले खै समाजमा प्रभाव पारेको ? फेरि किन गुन्जिन्नन् ती कविता ?’ अस्मिता दाहाल प्रश्न गर्छिन् ।

जेहोस्, अस्मितालाई कविता लेख्नु छ, लेखिरहनु छ । मञ्च, चर्चा र वाहवाही गौण कुरा मान्छिन् उनी । कलमबाट परिवर्तन सम्भव हुने विश्वास उनी गर्छिन् । त्यही परिवर्तनका लागि कविता लेखिराखुँ भन्ने चाहना उनको छ । कम शब्दले धेरै अर्थ खुलाउने साहित्यको सजिलो विधा कविता चेतन–अवचेतन समाजको यथार्थ भएको उनी बताउँछिन् । 

‘कवितामा प्रयोग हुने विम्बले छुट्टै आनन्द दिन्छ । कल्पनाको छुट्टै संसारमा पुर्‍याउँछ,’ उनी भन्छिन्, ‘कविता पाठ कम मनन धेरै गर्ने विषय हो ।’

अध्ययनसँगै अमृत सेकेन्ड्री स्कुलमा अध्यापन गर्ने अस्मिताले स्कुल पढ्दादेखि नै कविता लेख्थिन् । उनले पढ्ने स्कुलमा कविताको माहोल थियो, प्रतियोगिता भइरहन्थे । स्कुलले वार्षिक रूपमा स्मारिका समेत निकाल्थ्यो, जसका विद्यार्थीका कविताले स्थान पाउँथे । नेपाली पढाउने शिक्षक नारायण भण्डारी र शालिग्राम ढुंगानाले पनि कविता लेख्ने भएकाले अस्मिताले सिक्ने–बुझ्ने अवसर पाइन् । ‘मलाई पछिसम्म प्रभाव पार्ने गरी पहिलोपटक पढेको कविता स्कुलको स्मारिकामा थियो, निर्मला दाहालको सहिदलाई श्रद्धाञ्जली शीर्षकको,’ उनी भन्छिन्, ‘त्यो कविता पढेपछि मलाई पनि कविताको रस बस्यो, लेख्ने प्रयास गर्न थालेँ ।’

८ कक्षामा पढ्दा पोखरामा भएको निबन्ध प्रतियोगितामा जाँदा पोखराकै कवि परिविक्रमको कविता सुनेपछि उनीमा झन् कविता लेख्ने उत्साह थपियो । सिग्मामा प्लस टु पढ्दा कवि हेमन्त शिशिरको मनिटरिङका कारण उनका कवितामा झन् निखारता आए । उनले अघिल्ला पुस्ताका कविका कविता नपढेकी होइनन् तर आफूलाई मन पर्ने पाँच कविता भन्नुपर्दा उनी पछिल्लो पुस्ताका कविहरूलाई सम्झन्छिन्— परिविक्रमको ‘सुटकेस’, रोशन तिमिल्सिनाको ‘चिरिएका पैताला’, सुदेश सत्यालको ‘फर्केर आऊ घर’, नवराज पराजुलीको ‘रुख’ र कल्पना जोशीको ‘माफी’ उनलाई सबैभन्दा प्रिय लागेका कविता हुन् । 

हाल उनको डायरीमा ३० भन्दा बढी कविता छन् तर तत्काल पुस्तक निकाल्ने हतारोमा छैनन् ।  ‘सम्पादन र परिमार्जन गरी केही वर्षमा संग्रह निकाल्छु कि !’ उनी भन्छिन् । 

प्रस्तुत छन्, उनको डायरीबाट तीन कविता ।

१) टुक्रिएको आकाशको चित्कार

तिमी चिन्छौ मलाई ?
म त्यही घाम हुँ 
जसलाई उदाउन नदिई बादलले च्यापेको छ ।

म त्यही बिरुवा हुँ
जसलाई बगरमा रोप्यौ तिमीले 
छोराको आशामा बसेको गर्भमा
छोरी भएर जन्मिनु हो फूलहरूको काँडाजस्तो 
ऋणखाता जस्तो बाबुको निधारका नक्साहरू
जीवन उराठिला पथजस्तै हुन्
आमाको ओठबाट हाँसो नदी सुकायौ
अनि दिदीको निधारमा सजिने टीका
बेरंग क्यानभासमा मिसिन नपाएको चित्रजस्तै छ ।

तिमी चिन्छौ मलाई, दैव ? 
म त तिम्रो त्यो अधुरो कविता हुँ 
जहाँ अन्तिम हरफ लेख्न नपाउँदै तिम्रो मसी सकियो
सम्झन्छौ मलाई ?
म त ती सपनाका टुक्रा हुँ 
जसलाई तिमीले गरिबीको चुल्होमा पोल्यौ,
र असफलताको खरानी आँखाभित्र । 

तिमीले मलाई नाङ्गो शरीर मात्र होइन
नाङ्गो चेतनाको घाउ पनि साथमा दिएर पठायौ
जसरी शून्य आकाशमा चढाइएको पतङ्ग 
जसको डोरी सधैँ अरूको हातमा हुन्छ ।

मस्तिष्कमा भविष्यका रेखाहरू कोर्न खोज्दा 
तिमीले मसी नै दिएनौ
मेरो भाग्य तिम्रो नक्साविनाको यात्रा बन्यो ।
ए दैव, सुन न मलाई
म ती शब्द हुँ 
जसलाई पुस्तिका पढ्न नपाउने भाग्यले 
मौनताभित्रै सीमित बनायो
जिन्दगीको सानो उज्यालो थाम्न खोज्दा 
तिमीले विवाहको नाममा 
मेरा सपना र आकांक्षा सबैलाई 
सात फेरोको धागोमा बाँधेर बलि चढायौ
म त्यो शिरीषको फूल हुँ 
जसलाई बहार लाग्नुअघि नै 
तिमीले आँधी पठाएर भुइँमा झार्‍यौ
जसमा कथा त लेखिएको छ, 
तर लेखक नै म होइन ।

मलाई तिमीले छोरी बनायौ 
तर आत्मा त सधैँ बाँच्न चाहन्थ्यो 
सपना देख्न चाहन्थ्यो 
उड्न चाहन्थ्यो... । 

अब म ती अधुरा कविता, अधुरा सपना होइन
अब म मेरो अस्तित्वको नक्सा आफैँ कोर्छु
अब म पतीत भित्तामा झुन्डिएको चित्र होइन 
म रंगीन आकाशको बिजुली हुँ 
चम्किन्छु, कराउँछु र आफैँले उज्यालो बनाउँछु ।

अब तिमी मेरो भाग्य होइनौ
इतिहासको गुमनाम अक्षर मात्रै हौ ।
(कक्षा १२ मा पढ्दा लकडाउनका बेला लेखेको कविता । चार दिदीबहिनी र एक भाइमध्ये अस्मिता साइँली हुन् । दुई छोरीलाई जन्म दिएपछि उनका बाबुआमालाई छोरा जन्माउनैपर्ने सामाजिक र पारिवारिक दबाब थियो । छोराको आशामा आफू जन्मिएको अस्मिताले सुनेकी थिइन् । त्यो परिवेशमा यो कविता लेखेको अस्मिता बताउँछिन् ।)
००

२) याद : बासी गिलासका चिसा घुट्का

विश्वासको धारिलो हतियारले 
भरोसाको शरीर च्यात्यौ तिमीले
युद्धका डोबहरूजस्तै
विस्फोट भयो मनको न्यानोपन
म न यादका छिटामा भिज्न पाएँ
न न्यानो ओभानोमा बस्न
पिरतीको घर अब घर होइन
स्याउलाको भारी हो
जहाँ भावनाहरू गन्हाएका छन्
कुहिएको स्पर्श मात्र बाँकी छ ।

मनको आँगनमा
तिमीले पीडाको मुहान फुटायौ
ममाथि यादहरूको मुसलधारे पानी बर्सियौ
किताबका कागज धमिराले खाएजस्तो
कुटुकुटु खायौ मेरो मुटु तिमीले ।

जहाँ आत्मा कहिल्यै नरोई सुरक्षित निदाउँथ्यो
तिमीले सम्बन्धको त्यो ढोका भत्कायौ 
अब के बाँकी छ र त्यहाँ ? 
केही पुराना डायरीजस्तै मुस्कानका बुट्टाहरू 
जसले न गीत गाउन सक्छ
न चोट मेटाउन
स्वार्थको ज्वालामुखी फुटेपछि
तिमीले मेरो न्यानो मुटुलाई घाँटीमा राख्यौ
पग्लिने, तातिने, अनि अन्ततः 
सघन र ठुला चोटमा रूपान्तरण हुने गरी ।

यादहरू अहिले न प्रेम हुन्
न बिर्सन सकिने इतिहास
यी त हुन् घाउका घुट्काहरू
म प्रेमको ओदानभित्रको बरफ हुँ
सुनसान, चिसो, अनि भित्रभित्रै टुक्रिँदै गरेको ।

सोध्न छ
जब यादहरू फेरि फेरि प्यास लागेजस्तो लाग्छ
के फेरि पनि म उठाइरहुँ ती बासी गिलासहरू ?
जसमा तिमीले छोडेर गएका 
अर्धघुट अर्धघाउ मिसिएको छ ।
(यो कविता साथीको ब्रेकअपपछि असफल प्रेमको काल्पनिक क्षणलाई समेटेर लेखिएको उनी बताउँछिन् ।)
००

३)  छायामा भविष्य

देश त सिङ्गो बगैँचाजस्तो थियो 
जहाँ हाम्रा सपना फूल बन्ने थिए
मालीहरू बदलिइरहे
विषाक्त हातले छोइरहे फूलहरू
र फूल फुल्नै नपाई झरिरहे
चुपचाप ।

माली छन् बादलका आकृतिजस्ता 
सुक्खा बन्जरमाथि घुम्दैघुम्दै
गरिरहन्छन् वर्षात्को वाचा 
तर माटोमा पानी होइन, चट्याङ मात्रै खसालिरहन्छन् ।

सत्ताका जरा गहिरा छन्
जे कुहिएको निराशामा परिवर्तन भइसके
सपनाका गरा सुक्खा छन्
हाम्रो भविष्यमा रासायनिक धोका छर्किइएको छ ।

बेरोजगारी अँध्यारोजस्तो व्याप्त छ
तर बत्ती यहाँ
चुनावको अघिल्ला साँझहरूमा मात्रै चम्किन्छ ।
हाम्रो नदीजस्ता यात्रामा
तटबन्ध गरिएको छ 
हाम्रो गन्तव्यमा
धोकाका पर्खाल उभ्याइएका छन् 
र भनिरहनेछन्
जीवन त पोखरी हो
जम्नु बग्नुभन्दा उचित छ ।

यहाँ शैक्षिक डिग्री काँचको चुराजस्तो छ
जो चमकदार त छ
तर फुट्छ नाडीमा चढ्न नपाउँदै
र बिझाउँछ मात्रै सधैँ । 

सत्यको छाला जलाइएको छ
हामी बिजुलीका स्पार्क हौँ
तर जोडिएका छैनौँ सही तारमा 
देशको सर्किट बिग्रिएको छ
र अँध्यारो झन् बाक्लिँदै गएको छ ।

कोही खाडीमा उँट चराउँदै छन्
कोही मलेसियामा महल बनाउँदै छन्
हाम्रा आफ्ना औँला हराउँदै गएका छन्
चियाको चस्कीमा राजनीति चुस्दै
भोलि बिहान बास्ने भालेको पर्खाइमा छौँ हामी

देश घण्टाघरको बिग्रिएको घडी हो
जसको काँटाले न सही समय देखाउँछ, न दिशा
ब्याट्रीजस्ता युवा पनि छन् देशमा
तर वर्षौैंदेखि फेरिएको छैन सडिसकेको घडीको ब्याट्री
र एकदिन 
खण्डहरबाटै बग्नेछ एक नयाँ नदी
भत्काउनेछ तट
उर्लिनेछ पोखरी 
र, हाम्रो रगतले लेखिनेछ युगको नयाँ इतिहास ।
(नातावाद, कृपावादका कारण कतिपय योग्य नागरिकले देशमा अवसर नपाएर परदेसिनुपरेको र देशमा भएकाहरू पनि बेरोजगार हुनुपर्ने बाध्यता रहेको अवस्थालाई नियालेर यो कविता लेखिएको अस्मिता बताउँछिन् ।)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

काशीराम बजगाई
काशीराम बजगाई
लेखकबाट थप