पोथी बास्यो, बासिरह्यो
सारांश
- कुन्ता शर्माले ४० वर्षअघि लेखेको 'पोथी बास्नु हुँदैन' कविता महिला अधिकार र स्वतन्त्रतालाई व्यंग्य गर्छ।
- कुन्ता धरानमा हुर्केकी थिइन् र उनले विवाहपछि शिक्षण पेशा अपनाइन्, तर पछि राजनीति र साहित्यमा सक्रिय भइन्।
- विभिन्न कठिनाइ र चुनौतीहरूको सामना गर्दै कुन्ताले ४९ वर्षको उमेरमा पहिलो कविता संग्रह प्रकाशित गरिन्।
‘तौलीतौली बोल्नुपर्छ
शब्दमा आदरभाव घोल्नुपर्छ
पाउमा निहुरिनुपर्छ
दासताको फूल सिउरिनुपर्छ
लक्ष्मणरेखा नाघ्नु हुँदैन
अधिकार माग्नु हुँदैन
पोथी बास्नु हुँदैन ।’
‘पोथी बास्नु हुँदैन’ शीर्षकको कविता कुन्ता शर्मा (जन्म : २००३) ले आजभन्दा ठिक ४० वर्षअघि लेखेकी हुन् । महिला हक–अधिकार र स्वतन्त्रताको धज्जी उडाइरहने ढोँगी समाजलाई यस कालजयी कविताले चोटिलो व्यङ्ग्य गरेको छ ।
कुन्ताको जीवन यो कविताभन्दा पर छैन । उनी आफ्नो अस्तित्व र अधिकारका लागि बास्नुपर्यो, अनि कविताहरू जन्मिए ।
कुन्ता धरानमा जन्मे–हुर्केकी हुन् । गुरुकुलमा पढेर उनका बुवा कविराज (विशिष्ट वैद्य) भएका थिए । पुर्खौली थलो काठमाडौँ भए पनि उनका बुवाले धरानलाई कर्मथलो बनाए । बुवाले ठुल्ठुला रोग निको पार्ने र कमाइ राम्रै भएकाले कुन्ताको पालनपोषण र शिक्षादिक्षामा कुनै कमी हुन पाएन ।
कुन्ताका बुवाले घरमा विभिन्न पुस्तक संग्रह गरेका थिए । बुवाले काव्य पढेको उनले सानैदेखि सुन्थिन्—
‘कुलकुल कुलन्ती चक्रमध्ये फुरन्ती, जयति जयति देवी विन्ध्यवासिनी भगवती ।
विन्ध्याचल मे रहनेवाली तुम कृष्ण कुमारी, मै तुमहे शिरसे प्रणाम करता हुँ ।’
बुवाले यस्ता श्लोक हालेको कुन्तालाई प्रिय लाग्थ्यो । उनको घरमा धार्मिक पत्रिका ‘शान्ति’ आउँथ्यो । त्यसमा साहित्यिक रचना छापिन्थे । कुन्ताले त्यस पत्रिकालाई विशेष रुचिका साथ पढ्थिन् । कविता लेखाँै जस्तो उनलाई सानैदेखि भइरहन्थ्यो । उनले कक्षा ९ मा पढ्दा एउटा कविता लेखिन्, कल्पनाको प्रेमीबारे । कविताको शीर्षक थियो, ‘लाहुर गएको प्रेमीलाई पत्र’ । यस कविताका केही हरफ उनलाई कण्ठ छन्—
पगालिदेउ रातका काला–काला अँगालालाई
मेटिदेउ विवशताका भयावह भित्ताहरूलाई
आउ तिमी स्नेहको वसन्त बनेर
म तिमीभरि छरिनेछु, एक थुङ्गा फूल भएर... ।
‘यो कविता ०२७ सालमा धरानको स्थानीय पत्रिका ‘सम्झना’मा छापियो । पत्रिकाका सम्पादक मलाई प्रेम कविता लेख भन्थे,’ कुन्ता भन्छिन्, ‘मेरो कसैसँग प्रेम थिएन । कल्पना गरेर लेखिन् ।’
कुन्ताले कवितासँगै कथाहरू लेख्न थालिन् । ‘अन्तिम पत्र’ शीर्षकको उनको पहिलो कथा २०२९ सालतिर छापियो तर उनलाई कुन पत्रिकामा छापिएको भन्ने सम्झना छैन ।
२७ वर्षको उमेरमा कुन्ताको विवाह भयो, कवि मञ्जुलसँग । विवाहपछि उनी धरान गइन् र २८ वर्षसम्म शिक्षण गरिन् । यो बिचमा उनी राजनीति, महिला आन्दोलन, साहित्य— सबैमा सक्रिय रहिन् । ‘संकल्प’ नामक साहित्यिक पत्रिका पनि निकालिन् ।
स्नातक गरेर उनी शिक्षण पेसामा लागेकी थिइन् । पछि ६१ वर्षको उमेरमा मात्रै उनले स्नातकोत्तर गरिन् । उनको वैवाहिक सम्बन्ध दीर्घकालीन भएन, २०३९ सालमा उनीहरू छुट्टिए । वैवाहिक सम्बन्ध बिग्रिएपछि उनले तीन छोरालाई एक्लै हुर्काउनुपर्यो । ‘हुन त म राम्रै परिवारकी छोरी हँु तर मलाई जीवनले अनेकौँ कुरा भोगायो,’ उनी आफ्नो निजी जीवनबारे यति मात्रै भन्छिन्, ‘आफ्नै च्वाइसेस र डिसिजनहरूले गर्दा पनि कति भोगिन्छ । मैले जीवनमा गरेका कुनै पनि निर्णयमा कसैको दबाब थिएन । आफ्नै स्वविवेकले गरेकी थिएँ । मेरो जिन्दगीको कथा निकै नरमाइलो छ ।’
- पहिलो कृति
कुन्ताले जबदेखि कविता लेख्न थालिन्, आफूले लेखेका कवितालाई उनले कापीमा मेहनतपूर्वक लेखेर राखेकी थिइन् । २०२६ सालतिर धरानमा उनको नयाँ घर बन्दै थियो । घर बनाउन आउने कामदारलाई केही खान दिने क्रममा उनकी आमाले ती कापीका पानाको प्रयोग गरिछन् । भरे कुन्ता फर्कंदा आफ्ना कविता रछ्यानमा पाइन् । कविता लेखिएका पाना सबै भिजेका र च्यातिएका थिए, कुनै पनि सग्लो र सफा थिएनन् । ‘केही वर्षदेखि लेखेर जम्मा पारेका कविता स्वाहा भएको देखेर म निकै रोएँ । आमाले टेबलबाट झिक्दाखेरि संयोगले दुई पाना टेबलबाट मुनि झरेका रहेछन्,’ कुन्ता भन्छिन्, ‘लाहुर गएको प्रेमीलाई एउटा पत्र र काफलचरी शीर्षकका दुई कविता भने बँचेका रहेछन् ।’
उनकी आमा अक्षरै नचिन्ने भने थिइनन् । स्कुल जानुअघि नै कुन्तालाई अक्षरहरू आमाले घरमै चिनाएकी थिइन्, कुन सुरमा उनले छोरीले लेखेका कवितालाई ध्यान दिइनछन् ।
‘महिला साहित्यकारको पीडा यही छ कि कसैको बाउ कवि छ भने बाउले लेखिदिएको हुन्छ; लोग्ने लेखक छ भने लोग्नेले लेखिदिएको हुन्छ,’ कुन्ता भन्छिन्, ‘सहज त हुँदै हुँदैन महिलाहरूलाई । महिलाहरूलाई, महिलाहरूको व्यक्तित्वलाई कसैले पत्याउँदै पत्याउँदैनन् । व्यक्तित्व नै मान्दैनन् ।’
यसपछि उनले कुन्ताले आफ्ना कवितालाई जतनले राख्न थालिन् । ४९ वर्षको उमेरमा उनको पहिलो कविता संग्रह ‘म उभिएको ठाउँमा’ छापियो । यस कवितामा ‘पोथी बास्नु हुँदैन’ लगायत २५ कविता संग्रहित छन् । ‘हो, निकै ढिला गरी कविता संग्रह निकालेँ । तीन सन्तान हुर्काउनु थियो । अनि आन्दोलन, क्रान्तिजस्ता अनेकौँ अभियानमा सहभागी थिएँ । फुर्सद नै थिएन,’ उनी भन्छिन् ।
ललिजन रावल र राजेन्द्र पराजुलीहरूको अग्रसरतामा कुन्ताको पहिलो कविता संग्रह निस्किएको हो, उनीहरूकै लाली प्रकाशनबाट । कुन्ता भन्छिन्, ‘ती दुई भाइले मलाई सहयोग गरे ।’
पहिलो संग्रहका कविताहरू उनले जीवनको सबैभन्दा तनावको समयमा लेखेकी थिइन् । एउटा छोरा निकै बिरामी थिए । उपचारका लागि सिलगुडी धाइरहनुपथ्र्यो । बल्ल–बल्ल उनले त्यो छोरालाई बचाइन् । ‘त्यतिखेर म हरेक कुराको तनावमा थिएँ । राजनीतिक तनाव, सांस्कृतिक तनाव, पारिवारिक तनाव, लोग्नेको टर्चर, अभाव, गरिबी,’ कुन्ता आफ्नो पहिलो कविता संग्रहको रचना गर्भ सम्झिन्छिन्, ‘मेरा तत्कालीन परिस्थिति ती कवितामा आएका छन्, त्यसैले मैले ‘म उभिएको ठाउँ’ भनेर वैचारिक शीर्षक राखेँ । त्यहाँ एक्जिस्टेन्सको कुरा पनि आयो, वैचारिक प्रतिबद्धता पनि छ ।’
उनलाई आफ्नो कविता मुखाग्र छ—
रुखा सुखा भए पनि
दुःख र कष्ट सहनुपरे पनि
सत्यको गरिमाले आलोकित भएको यो ठाउँ
न्यायको प्रकाशले प्रज्ज्वलित भएको यो ठाउँ
छोड्न कदापि कदापि तयार छैन म
म उभिएको ठाउँ !
वास्तवमा कुन्ताले बिहे भएपछि लेख्ने वातावरण र हौसला पाइनन् । ‘हस्बेन्डले मलाई एकदम डिस्करेज गरे । तिम्रो कविता राम्रो छैन, मान्छेले मन पराउँदैनन् नलेख भन्थे । कथा चाहिँ मान्छेले मन पराउँछन्, लेख भन्थे,’ कुन्ता भन्छिन्, ‘बिहे हुनुभन्दा अगाडि नै पत्रपत्रिकामा मेरा कथा–कविता छापिएका थिए तर उनले मैले बनाएँ, मैले लेखाएँ भनेर श्रेय लिन खोज्थे ।’
कुन्ताले पछिल्लो समय एउटा कविता लेखेकी छन्, ‘भो तिमी कविता नलेख’ शीर्षकको । कविता यस्तो छ—
भो तिमी कविता नलेख
यदि तिमीसँग अर्काको दुःखमा दुख्ने मन छैन भने
मुटु छैन भने
यदि तिमीमा अर्काको दुःखमा दुःखी हुने चेतना छैन भने
भो तिमी कविता नलेख ।
उनको दोस्रो कृति ०७५ सालमा निस्कियो– मेरो मान्छे । अहिलेसम्म उनका तीनवटा कृति निस्किएका छन् । चौथो कृति (कथासंग्रह) भने यतिबेला प्रेसमा छ । यसअघि पत्रपत्रिकामा उनका थुप्रै फुटकर कथा छापिएका थिए, तिनै कथाको संकलन हो, चौथो संग्रह । उसो त संग्रह निकाल्ने हो भने पत्रपत्रिकामा छापिएका थुप्रै निबन्ध छन् ।
एक महिलालाई लेखक बन्न सहज नभएको उनको अनुभव छ । ‘महिलालाई त बैसाखी चाहिने जहिले पनि—बाउको, लोग्नेको, दाजुभाइको, छोराहरूको । महिलाहरूलाई लेख्न कोठा पनि हुन्न,’ कुन्ता भन्छिन्, ‘एउटा लेख्ने कोठा शीर्षकको मैले निबन्ध नै लेखेकी छु । आम महिलासँग हुँदैन लेख्ने कोठा । एउटा सजिलो टेबल हुँदैन ! समय हुँदैन ।’
पहिले कुन्ताले पनि छोराहरू सुतेपछि राति लेख्न–पढ्न बस्थिन् । कविता भने जति बेला फुर्यो, त्यतिबेलै कापीमा टिपिहाल्थिन् । यद्यपि समाजले महिला लेखकलाई नपत्याउने उनको गुनासो छ । ‘महिला साहित्यकारको पीडा यही छ कि कसैको बाउ कवि छ भने बाउले लेखिदिएको हुन्छ । लोग्ने लेखक छ भने लोग्नेले लेखिदिएको हुन्छ,’ उनी भन्छिन्, ‘सहज त हुँदै हुँदैन महिलाहरूलाई । महिलाहरूलाई, महिलाहरूको व्यक्तित्वलाई कसैले पत्याउँदै पत्याउँदैनन् । व्यक्तित्व नै मान्दैनन् ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परम्परागत नेतृत्वको ‘कम्फर्ट जोन’ र पुराना मानक बदल्न विज्ञहरूको जोड
-
यी ६ सहकारीलाई कार्यालय खाली गर्न महानगरको १५ दिने म्याद
-
कंगोमा विद्रोहीको आक्रमणमा ३० जनाभन्दा बढीको मृत्यु, इबोला नियन्त्रण अभियान प्रभावित
-
विपद्ले निम्त्याउँदैछ अर्बौंको क्षति, तर पूर्वतयारीमा सरकारको बेवास्ता
-
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सदस्य स्वार्थ बाझिने बैठकमा सहभागी हुन नपाउने
-
एमालेको २ दिने कार्यशाला : ओलीले उद्घाटन गरे, शंकरले गर्दैछन् समापन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण