बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

आर्थिक कारोबार गर्दा बेरुजु नै नआउने गरी गर्नुपर्छ: सभामुख घिमिरे

आइतबार, १५ असार २०८२, १२ : ४७
आइतबार, १५ असार २०८२

सारांश

  • सभामुख देवराज घिमिरेले सार्वजनिक वित्तीय व्यवस्थापनमा समस्या औंल्याए।
  • उनले बेरुजुलाई समयमै टुंग्याउन तीनै तहका सरकारलाई जिम्मेवार बन्न आग्रह गरे।
  • स्थानीय तहमा वित्तीय अनुशासन कायम गर्न कार्यसम्पादनमा सन्तुलन आवश्यक रहेको उनको भनाइ छ।

काठमाडौँ । सभामुख देवराज घिमिरेले सार्वजनिक वित्तीय व्यवस्थापनमा समस्या देखिएको बताउँदै यसतर्फ ध्यान जान जरुरी रहेको बताएका छन् ।

महालेखा परीक्षक कार्यालयको ६७ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले  बेरुजुले वित्तीय अनुशासन पक्षमा प्रश्न खडा गरेको बताए । सोका लागि तीन तहका कर्मचारीहरूले जिम्मेवारी पूर्वक कार्यसम्पादन गर्नुपर्ने उनको भनाई छ । 

महालेखापरीक्षकको ६२ औँ वार्षिक प्रतिवेदनमा २०८०/८१ सम्मको अद्यावधिक बेरुजु ७ अर्ब ३३ करोड पुगेको  प्रसङ्ग जोड्दै उनले देखिएको बेरुजुलाई समयमै टुङ्गो लगाउन कानुनमा तोकिएको जिम्मेवारीअनुसार तीनै तहका सरकार, लेखाउत्तरदायी अधिकृत एवं महालेखापरीक्षकले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने उनले उल्लेख गरे । 

स्थानीय तहमा वित्तीय अनुशासन कायम गर्न सबै पक्षबिच कार्यसम्पादनमा सन्तुलन हुनुपर्ने उनले बताए । स्थानीय तहका लागि आर्थिक कार्यविधिसम्बन्धी कानुनको खाँचो देखिएको उनको भनाइ छ । 

उनले नेपाल सरकारको ठुलो लगानी रहेका सार्वजनिक संस्थान, समिति, कोष, परिषद् लगायतका संस्थाको वित्तीय अवस्थाका सम्बन्धमा समेत यस कार्यालयले कैफियतहरू देखाउँदै आएको बताउँदै त्यस्ता संस्थाको सञ्चालन नतिजाको गहनरुपमा अध्ययन विश्लेषण गरी प्राप्त उपलब्धि सम्बन्धमा समेत प्रतिवेदन गर्नुपर्ने बताए । यस्ता संस्थाहरुको सञ्चालन खर्चमा बर्सेनि वृद्धि हुँदै गइरहेको परिप्रेक्ष्यमा सरकारको भूमिका समेत प्रभावकारी हुनुपर्ने उनको भनाइ रहेको थियो । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप