दातृ निकायको सहयोग कटौतीले प्रेप अभाव, एचआईभी संक्रमणको जोखिम उच्च
सारांश
- दातृ निकायको सहयोग कटौतीले गर्दा नेपालमा एचआईभी रोकथामका लागि प्रयोग हुने औषधिको अभाव भएको छ।
- सरकारले एचआईभीको उच्च जोखिममा रहेका समूहलाई निःशुल्क उपलब्ध गराउँदै आएको औषधि अब सीमित व्यक्तिलाई मात्रै उपलब्ध हुनेछ।
- सहयोग कटौतीले गर्दा सन् २०३० सम्ममा एचआईभी नियन्त्रण गर्ने लक्ष्यमा चुनौती थपिएको छ।
काठमाडाैँ । नेपालमा दातृ निकायहरूले सहयोग कटौती गरेपछि एचआईभी संक्रमणको रोकथामका लागि प्रयोग हुँदै आएको प्री–एक्सपोजर प्रोफिल्याक्सिस (प्रेप) नामक औषधिको अभाव हुन थालेको छ ।
जसका कारण एचआईभी संक्रमणको उच्च जोखिममा रहेका समुदायमा संक्रमण फैलिने खतरा बढेको छ । सरकारले यो औषधि एचआईभी संक्रमणको उच्च जोखिममा रहेका समूहहरूलाई निःशुल्क उपलब्ध गराउँदै आएको थियो ।
यी समूहहरूमा यौनकर्मीहरू, तेस्रोलिंगी व्यक्तिहरू, पुरुषसँग यौनसम्पर्क गर्ने पुरुषहरू, रोजगारीका लागि प्रायः भारत जानेहरू र श्रीमान–श्रीमतीमध्ये एक जनामा संक्रमण भएको तर अर्को स्वस्थ रहेको जोडीहरू पर्दथे ।
विगतमा यूएसएआईडी र सेभ द चिल्ड्रेनजस्ता अन्तर्राष्ट्रिय दातृ निकायहरूको सहयोगमा यो औषधि वितरण कार्यक्रम सञ्चालन हुँदै आएको थियो । तर, अमेरिकाबाट प्राप्त हुँदै आएको मुख्य आर्थिक सहयोग बन्द भएपछि कार्यक्रमहरू गम्भीर रूपमा प्रभावित भएका छन्, जसका कारण संक्रमणको जोखिममा रहेकाहरूलाई यो औषधि पाउन मुस्किल भएको हो ।
स्वास्थ्य सेवा विभागअन्तर्गत राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रका निर्देशक डा. सर्वेश शर्माका अनुसार अब यो औषधि केवल सीमित र अति जोखिममा रहेका समूहलाई उपलब्ध गराइनेछ । उनले भने, ‘मुख्यतः एचआईभी संक्रमणको जोखिममा रहेका आमाहरू, जो गर्भवती हुनुहुन्छ वा बच्चालाई स्तनपान गराइरहनुभएको छ, उहाँहरूका लागि मात्र सरकारले प्रेपको व्यवस्थापन गरेको छ ।’ गर्भवती र स्तनपान गराइरहेका महिलाहरूका लागि पनि यो औषधि दातृ निकायकै सहयोगमा वितरण हुँदै आएको थियो ।
केन्द्रकी प्रशासक अस्मिता ओझाका अनुसार सहयोग कटौती हुनुअघि देशभरमा जोखिममा रहेका २ हजार २८ जनाले नियमित रूपमा प्रेप सेवन गरिरहेका थिए । अब यो संख्या घटेर केवल १ सय ३० जनामा सीमित भएको छ ।
जसमा गर्भवती र स्तनपान गराइरहेका महिलाहरू मात्रै पर्छन् । सहयोगमा आएको यो आकस्मिक कटौतीले सन् २०३० सम्ममा एचआईभी नियन्त्रण गर्ने सरकारको राष्ट्रिय प्रतिबद्धता पूरा गर्न गम्भीर चुनौती थपिएको छ ।
यस विषयमा ‘हाम्रो समान पहुँच’ संस्थाकी एचआईभी संक्रमित तथा अधिकारकर्मी ज्योति थापाले संक्रमित व्यक्तिको स्वस्थ पार्टनर प्रेप सेवनबाट वञ्चित हुँदा संक्रमणको जोखिम उच्च भएको बताइन् ।
‘यौनकर्मीहरू, तेस्रोलिंगी समुदाय र संक्रमितका स्वस्थ पार्टनरहरूले प्रेप सेवन गर्न नपाउँदा समस्या झनै बढेको छ । उनीहरू आफैँ किनेर प्रेप सेवन गर्न सक्ने अवस्था छैन र यो औषधि बजारमा किन्न पनि पाइँदैन । सरकारले उपलब्ध गराउन छाडेपछि अब एचआईभी संक्रमण दर बढ्ने सम्भावना प्रबल भएको छ ।’
यता केन्द्रका निर्देशक डा. शर्मा भने अब संक्रमणको उच्च जोखिममा रहेका व्यक्तिहरूका लागि सुरक्षित यौनसम्पर्कको विकल्प नभएको बताउँछन् । ‘हामीले अहिले पनि भन्ने यही हो, प्रिभेन्सन, प्रिभेन्सन, प्रिभेन्सन बाइ कन्डम । सुरक्षित यौनसम्पर्क गरेर आफू र आफ्ना साथीलाई स्वस्थ राखौँ । डोनरले कहिलेसम्म दिन्छ, यो कार्यक्रम कहिलेसम्म दिगो हुन्छ भन्ने कुरा अहिले प्रस्ट भइसक्यो । अब अरूको भर परेर हुँदैन, आफैँ सुरक्षित रहनुपर्छ ।’
उनले तत्कालका लागि सरकारले डलरमा किनेर प्रेप वितरण गर्न सक्ने अवस्था नरहेको स्पष्ट पारे । ‘हाम्रो देशमा कहिलेकाहीँ सिटामोल र जीवनजल पाइएन भनेर हंगामा हुन्छ, यस्तो अवस्थामा डलरमा प्रेप किनेर ल्याएर दिन सक्ने अवस्था हाम्रो छैन,’ उनले थपे ।
प्रेप औषधिको प्रयोगमा केही विकृतिहरू पनि देखिएका डा. शर्मा बताउँछन् । यो औषधि एचआईभी नभएका व्यक्तिले संक्रमणबाट बँच्नका लागि सेवन गर्ने हो, तर पछिल्लो समय यसको अनावश्यक प्रयोग बढेको पाइएको छ ।
केही युवाहरूले असुरक्षित यौनसम्पर्कपछि एचआईभी नसरोस् भनी यसलाई गर्भनिरोधक चक्की (पिल्स) जस्तै गरी प्रयोग गर्न थालेको पाइएको छ । ‘कन्डम प्रयोग नगर्ने र प्रेपमा मात्रै भर पर्दा एचआईभीको संक्रमण झन् बढ्ने देखियो, विशेषगरी यौन व्यवसायीहरूमा यो जोखिम बढी छ,’ डा. शर्माले भने, ‘प्रेपले संक्रमण रोकथामको १०० प्रतिशत ग्यारेन्टी दिँदैन, यसले ९७–९८ प्रतिशत मात्रै रोकथाम गर्ने हो । त्यसैले यसमा चनाखो हुन जरुरी छ ।’
प्रेपको सही प्रयोग विशेषगरी बच्चा जन्माउने योजना बनाएका एचआईभी संक्रमित जोडीका लागि महत्त्वपूर्ण हुन्छ । यदि श्रीमान् संक्रमित छन् तर श्रीमती स्वस्थ छिन् भने श्रीमानले नियमित औषधि खाएर शरीरमा भाइरसको मात्रा नगन्य बनाउनुपर्छ भने स्वस्थ श्रीमतीले गर्भ रहनुअघिसम्म प्रेप सेवन गर्नुपर्छ । डा. शर्मा भन्छन्, ‘जबसम्म गर्भ बस्दैन, तबसम्म यो औषधि खुवाइन्छ । गर्भ रहेपछि औषधि बन्द गरिन्छ र त्यसपछि श्रीमान श्रीमतीबिच असुरक्षित सम्पर्क हुनु हुँदैन ।’
राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रको तथ्यांकअनुसार नेपालमा ३० हजारभन्दा बढी एचआईभी संक्रमित छन् । जसमा ५८ प्रतिशत पुरुष र ४२ प्रतिशत महिला छन् । १४ वर्षमुनिका बालबालिका संक्रमितको संख्या १ हजार ५८ छ भने आमाबाट बच्चामा सरेको संक्रमण (मातृ शिशु संक्रमण) को संख्या २२७ पुगेको छ ।
नेपालमा वार्षिक रूपमा औसत ६ सय १४ जना नयाँ संक्रमित थपिने गरेका छन् भने वार्षिक ५ सय ६९ जनाको मृत्यु हुने गरेको छ ।
कसका लागि हो प्रेप ?
प्रेप सबैका लागि होइन, यो विशेषगरी एचआईभी संक्रमणको उच्च जोखिममा रहेका एचआईभी–नेगेटिभ व्यक्तिहरूका लागि हो । जब प्रेप नियमित रूपमा सेवन गरिन्छ, यसले शरीरको रगत र तन्तुहरूमा एक प्रकारको सुरक्षा कवच बनाउँछ ।
शरीरमा एचआईभी भाइरस प्रवेश गरिहाल्यो भने यो औषधिले भाइरसलाई बढ्न र शरीरमा स्थापित हुन रोक्छ । सही तरिकाले खाए यसले एचआईभी संक्रमणको जोखिमलाई ९९ प्रतिशतभन्दा बढीले घटाउन सक्ने दाबी गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण