सोमबार, ११ साउन २०८३
ताजा लोकप्रिय

कर्मचारीको आत्मविकासका लागि १७ सूत्र

मङ्गलबार, १७ असार २०८२, १३ : ४९
मङ्गलबार, १७ असार २०८२

 हामी काम विशेषले विभिन्न कार्यालय जाने गर्छौं । त्यहाँ विभिन्न पद अनुसारको जिम्मेवारी वहन गरेका कर्मचारीले कार्य सम्पादन गर्छन् । कतिपय कर्मचारीसँग धेरै वर्षको कार्य अनुभव हुन्छ भने कतिपय कर्मचारी भर्खरै अध्ययन समाप्त गरी नियुक्ति लिएका हुन्छन् । पछिल्लो समय भित्रिएका प्रविधिका कारण कर्मचारीलाई कार्य सम्पादनमा नयाँ नयाँ चुनौती थपिइरहेका छन् । जस्तो कि बैङ्कहरूमा पहिला कागजमा हातले लेखेर हिसाब–किताब गरिन्थ्यो । पैसा निकाल्न बैङ्कमै पुग्नुपर्थ्यो । चेक बोकेर लाइन लागेर पैसा लिनुपर्थ्यो । बिस्तारै हिसाबकिताब कम्प्युटरमा राख्न थालियो । अहिले हाम्रो हातमा भएको मोबाइल र घरको ल्यापटप वा कम्प्युटरबाट पनि आफ्नो रकम हेर्न, पैसा पठाउन, तिर्न र अरुबाट भुक्तानी लिन सकिने भएको छ । एटीएममा गएर जतिखेर पनि पैसा निकाल्न सकिन्छ । यसरी समयसँगै प्रविधि र कार्यसम्पादन शैलीमा तीव्र परिवर्तन भइरहेको देखाउँछ । 

अध्ययन समाप्त गरेर वा अध्ययनकै सिलसिलामा कैयौँ जागिरे जीवनमा लाग्छन् । पढाइ वा सिकाइको सैद्धान्तिक ज्ञान र कार्यस्थलको काम–कारबाहीमा सामञ्जस्य मिलाउन कतिलाई समस्या पर्छ । नियुक्ति पाएर काम सुरु गर्दा विभिन्न चुनौतीको सामना गर्नुपर्ने हुन्छ । त्यसैले कर्मचारीमा आत्मविकास सम्बन्धी केही सूत्र प्रस्तुत गरिएको छ ।

  • १) स्पष्ट लक्ष्य निर्धारण

कार्यस्थलमा आफ्नो कार्यकुशलता बढाउन साथै आफ्नो आत्मविकासका लागि छोटो र लामो अवधिको स्पष्ट लक्ष्य निर्धारण गर्नुपर्छ । सीप विकासको छोटो अवधिको कक्षाहरू लिनुपर्छ । आफूले गर्नुपर्ने जिम्मेवारी सम्पादन गर्न लाग्ने समयलाई छोट्याउने प्रयास गर्नुपर्छ । दोहोरिरहने गल्तीलाई कम गर्न सजग हुनुपर्छ । कार्यस्थलमा राम्रो व्यवहार गर्ने, आफ्नो कार्य सम्पादन शैलीलाई निखार्दै लान प्रयासरत हुने । दुई वर्षभन्दा लामो अवधिको लक्ष्य (जस्तै : अध्ययन कार्य पूरा गर्न, हालको पदभन्दा माथिल्लो पदमा बढुवा हुन गर्नुपर्ने तयारी पूरा गर्न, सम्बन्धित क्षेत्रमा आवश्यकता पर्ने सीप र दक्षता हासिल गर्न आदि) का लागि योजना बनाई कार्य गर्नुपर्छ । 

  • २) निरन्तर अध्ययन र ज्ञान वृद्धि

अहिलेको समय चुनौती नै चुनौतीले भरिएको छ । प्रविधिको विकासको गति तीव्र छ । सेवाग्राहीको इच्छा परिवर्तनशील छ । त्यसलाई पूरा गरी आफ्नो अस्तित्वलाई मजबुत बनाउन व्यावसायिक र सेवा प्रदायक क्षेत्रमा प्रतिस्पर्धा छ । बेरोजगारी बढ्दै जानु पनि रोजगारको क्षेत्रमा प्रतिस्पर्धा बढ्नु हो । यसले कर्मचारीलाई निरन्तर अध्ययन र आफ्नो ज्ञान वृद्धि गर्न संकेत गर्छ, जुन आफ्नो आत्मविकासका लागि अपरिहार्य हो । प्रविधिमा भएको परिवर्तन, समयसँगै कार्य शैलीमा हुने परिमार्जन, आधुनिकीकरण सम्बन्धी ज्ञान र सीप हासिल गर्न सधैँ प्रयासरत हुन जरुरी छ । 

  • ३) सञ्चार कौशल सुधार 

अहिले एउटै कम्पनीको धेरै ठाउँमा कार्यालय हुन्छ, व्यवसाय हुन्छ । कार्यालयमा पनि विभिन्न तहका कर्मचारीसँग कुराकानी वा सूचना प्रवाह गर्नुपर्ने हुन्छ; चिठी तथा प्रतिवेदन तयार गरी प्रेषण गर्नुपर्ने हुन्छ । अहिलेको समय कर्पोरेट संसारको समय हो । छोटो समयमा धेरै र प्रभावकारी कार्य गर्नुपर्ने हुन्छ । त्यस्तै सेवाग्राहीको माग र चाहना अनुसारको व्यवहार र सेवा दिन सकिएन भने त्यसले व्यवसायमै नकारात्मक असर पुर्‍याउन सक्छ । यसर्थ कर्मचारीमा राम्रो सञ्चार कौशल हुन जरुरी हुन्छ । यसलाई सुधार गर्दै जानुपर्छ । फोन, सामाजिक सञ्जालका प्लाटफर्मका माध्यम, वेबसाइट, इमेल, सफ्टवेयर जस्ता सञ्चारमाध्यम सहज रूपमा चलाउन सक्ने, लेखनमा परिपक्वता, बोलीवचन सभ्य, सटीक हुनुपर्ने जस्ता आधारभूत सीप हुन जरुरी छ । समयमै गरिएका सूचनाले तत्काल सम्बोधन गर्नपर्ने कार्यलाई समयमै सम्पादन गर्न सकिन्छ र त्यसले संस्थाको कार्य क्षमतामा सकारात्मक प्रभाव पार्छ । 

  • ४) समय व्यवस्थापन

कार्यालयका जिम्मेवारीलाई प्राथमिकीकरण गरेर कार्यसम्पादन गर्न सकिएन भने समयसीमाभित्र कार्यसम्पन्न हुन सक्दैन । आएको सबै काम अन्दाज नगरी वा समय तालिकाविना गर्न थाल्दा महत्त्वपूर्ण काम छुट्न जान्छन् र पछि गर्दा पनि हुने कामले समय खाइदिन्छ । समय व्यवस्थापनको सही प्रयोगले कर्मचारीको कार्य व्यवस्थित र चुस्त बन्न जान्छ, जसले समग्र कार्यालयलाई नै चुस्त र व्यवस्थित बनाउने गर्छ । समय व्यवस्थापनमा ध्यान दिँदा व्यक्तिको आफ्नो दिनचर्या, स्वास्थ्य र व्यक्तित्वमा समेत सकारात्मक प्रभाव पार्छ । 

  • ५) प्रतिक्रिया लिन नडराउने र सुधार गर्नु तत्पर हुने

हामीलाई कसैले केही भनिदियो भने तत्काल प्रतिक्रिया दिने गर्छौं । अझ नकारात्मक प्रतिक्रिया भयो भने त पारो तात्छ । आत्मविकासका लागि प्रतिक्रिया वा सुझाव लिनु अत्यन्त जरुरी छ । आफ्नो कार्यशैली, बानी–व्यवहार, कार्यसम्पादन गर्ने तरिका र आफूले गरेका कार्यका बारेमा आफूभन्दा माथिका, आफ्ना सहकर्मी, सहायक र ग्राहकबाट प्रतिक्रिया वा सुझाव लिन हिचकिचाउनु हुँदैन । उनीहरूले गरेका प्रतिक्रियालाई मनन गरेर सुधार गर्न प्रयासरत हुनुपर्दछ । यसले हामीमा संयमता, विश्लेषण क्षमता र सही सुझावलाई सहज रूपमा आत्मसात गर्न मद्दत गर्छ ।

आत्मविकासका लागि प्रतिक्रिया वा सुझाव लिनु अत्यन्त जरुरी छ । आफ्नो कार्यशैली, बानी–व्यवहार, कार्यसम्पादन गर्ने तरिका र आफूले गरेका कार्यका बारेमा आफूभन्दा माथिका, आफ्ना सहकर्मी, सहायक र ग्राहकबाट प्रतिक्रिया वा सुझाव लिन हिचकिचाउनु हुँदैन ।
  • ६) भावनात्मक बुद्धिमत्ता विकास गर्ने

कार्यस्थलमा कार्य गर्ने क्रममा धेरै जनासँग अन्तक्र्रिया हुने गर्छ । कहिलेकाहीँ त मनमुटाव, वादविवाद समेत हुने गर्छ । विचारमा विभेद भई स्थिति असामान्य हुन सक्छ । कतिलाई दुःख परेको हुन्छ । कैयौँ समयमा आफैँलाई समस्या परेको हुन्छ । मानसिक तनावमा परिएको हुन्छ । यस्तो विविध अवस्थामा पनि आफ्नो कार्य क्षमतालाई र कार्यालयको वातावरणलाई सकारात्मक राख्न भावनात्मक बुद्धिमत्ताको विकास गर्न आवश्यक छ । धैर्यता अपनाउने, जस्तै अवस्थामा पनि विचलित नहुने र वातावरणलाई सामान्य बनाउन सक्ने क्षमताको विकास गर्नुपर्छ । सहानुभूति, आत्मचेतना र धैर्य भएन भने कर्मचारीले सहजतापूर्वक कार्यसम्पादन गर्न सक्दैन । तनाव र विवादलाई शान्त रूपमा नियन्त्रण र समाधान गर्न सक्ने हुनुपर्छ ।

  • ७) परिवर्तनलाई स्वीकार गरी अगाडि बढ्ने

कार्यस्थलमा परिवर्तनलाई स्वीकार गर्न सकिएन भने त्यसले कर्मचारीलाई पछि पार्छ । प्रविधिमा आएको परिवर्तन, कार्यसम्पादन शैलीमा आएको परिवर्तन र कार्यप्रवाहमा हुने परिवर्तनलाई आत्मसात् गरी सोही अनुसारको तयारी भएन भने कर्मचारीले राम्ररी कार्यसम्पादन गर्न सक्दैन । त्यस्तै नयाँ जिम्मेवारी लिन र नयाँ सीप सिक्न कहिल्यै हिचकिचाउनु हुँदैन ।

  • ८) सशक्त कार्य नैतिकता विकास गर्ने

मानिसलाई अगाडि बढाउने एउटा मूल मन्त्र हो, नैतिकता । जस्तै परिस्थितिमा पनि नैतिकतामा आँच आउने कार्य गर्न हुँदैन । आफू अनुशासित भई कार्य गर्नुपर्छ । समयमा आउने, इमानदार र उत्तरदायी हुनुपर्छ तर जानीजानी ढिलासुस्ती गर्ने, दुःख दिने, कार्यमा मन नलगाउने, काम पन्छाउने, प्रलोभनमा पर्ने, आर्थिक हिनामिनामा लाग्ने, पदको दुरुपयोग गर्नेजस्ता कार्यतिर लागेमा त्यसले आफ्नो वृत्तिविकासमा असर पुर्‍याउँछ नै, नैतिकपतन पनि गराउँछ । 

  • ९) समाधान गर्ने क्षमता 

आफ्नो जिम्मेवारीका कार्यसम्पादन गर्दा आइपर्ने समस्याको समाधान गर्ने प्रयास गर्नुपर्छ । समस्याबाट भाग्न खोज्दा, पन्छाउन खोज्दा र अरूकै भरमा चल्न खोज्दा कहिल्यै पनि सिक्न सकिँदैन । समस्या र समस्या सिर्जना हुने परिस्थितिलाई राम्ररी विश्लेषण गरेर समाधान गर्नुपर्छ । 

  • १०) प्राविधिक र कार्यसम्बन्धी सीप

प्रविधिमा भएको परिवर्तन वा परिमार्जनको हेक्का राख्न सकिएन भने समयसापेक्ष ढंगको कार्यसम्पादन गर्ने सीप विकास हुन सक्दैन । तसर्थ प्राविधिक र कार्यसम्बन्धी सीप सुधार गर्ने कार्यमा सधैँ सजग हुनुपर्छ । नयाँ उपकरण, सफ्टवेयर, एप्लिकेसनहरू लगायत प्रविधिमा हुने परिमार्जनलाई आफूले पनि अंगीकार गर्न सक्नुपर्छ र त्यसका लागि तयार हुनुपर्छ ।

  • ११) नेतृत्व गुणहरू विकास गर्ने

कर्मचारीले जहिले पनि आफ्नो सीप विकासका लागि आवश्यक सबै क्षेत्रको ज्ञान राख्नुपर्छ । यसमा नेतृत्व गुण पनि पर्छन् । आफ्नो शाखाको स–साना कार्यहरू, साना प्रोजेक्टहरूमा नेतृत्व लिन तयार वा अग्रसर हुनुपर्छ । समूहमा मिलेर कार्य गर्ने, अरूलाई सहयोग गर्ने, उत्प्रेरणा दिने कार्यहरू गर्नुपर्छ र त्यसमा निखारता ल्याउने प्रयास गर्दै जानुपर्छ । 

  • १२) सकारात्मक सोच राख्ने

मानिसलाई सफल र स्वस्थ बनाउने आधारमा सकारात्मक सोच पनि एक हो । कार्यस्थलमा र आफ्नो जिम्मेवारी वहन गर्ने क्रममा सधैँ सकारात्मक हुनुपर्छ । चुनौतीका बिचमा पनि उत्प्रेरित हुन सकेको खण्डमा विषम परिस्थितिलाई पनि सजिलै नियन्त्रण गर्न सकिन्छ । टिमवर्कलाई उत्प्रेरित गर्न सकारात्मक सोचले धेरै मद्दत गर्छ ।  

  • १३) नियमित रूपमा आत्म विश्लेषण गर्ने

कार्यालयका सहकर्मीहरू र अन्य व्यक्तिसँग गरिएका व्यवहारको र आफूले सम्पन्न गरेका कार्य वा दैनिक कार्यसम्पादनको नियमित रूपमा आत्म–विश्लेषण गर्ने गर्दा आफ्ना कमी–कमजोरी थाहा हुन्छ र त्यसलाई सुधार गर्ने मौका पाइन्छ । सीप विकास र कार्य सम्पादनमा आफूले गरेका उपलब्धिहरूको पनि विश्लेषण गर्दा त्यसमा निखारता ल्याउन थप ऊर्जा मिल्छ । 

  • १४) नयाँ जिम्मेवारी र कार्यलाई अँगाल्ने मनोवृत्ति राख्ने 

कार्यालयमा नयाँ जिम्मेवारी आइपरेको खण्डमा त्यसलाई स्वीकार गर्ने र कुशलतापूर्वक सम्पादन गर्न सक्छु भन्ने आत्मविश्वासका साथ कार्यलाई अँगाल्ने मनोवृत्ति राखेको खण्डमा कर्मचारीलाई नयाँ कुरा सिक्न र नयाँ अनुभव हासिल गर्न अवसर प्राप्त हुन्छ, जसले आत्मविकासमा मद्दत पुग्छ । नयाँ वातावरण र परिस्थितिमा पनि काम गर्न सक्ने क्षमताको विकास हुन्छ । 

  • १५) सञ्जाल विस्तार गर्ने

आफ्नो कार्य, जिम्मेवारीलाई कुशलतापूर्वक सम्पादन गर्न र भविष्यको योजनालाई प्राप्त गर्न आफ्ना सहकर्मी तथा सो पेसामा आबद्ध अन्य अनुभवी व्यक्तिसँग सम्बन्ध बढाउनुपर्छ । यसले गर्दा अनुभव र ज्ञान आदान–प्रदान हुन्छ । कर्मचारीलाई यसले आत्मविकासमा सहयोग पुग्छ ।

  • १६)  स्वास्थ्य र मानसिक सन्तुलनमा ध्यान दिने

स्वास्थ्य र मानसिक सन्तुलन सबैका लागि आवश्यक छ । आफ्नो मानसिक र शारीरिक स्वास्थ्य सन्तुलित रहेको अवस्थामा मानिसको कार्य गर्ने क्षमता प्रबल हुन्छ । तसर्थ कमर्चारीले मानसिक र शारीरिक स्वास्थ्यमा विशेष ध्यान दिनुपर्छ । नियमित व्यायाम, ध्यान, स्वस्थकर खाना, पर्याप्त निद्राले तनावलाई व्यवस्थापन गर्न  मद्दत गर्छ । 

  • १७) अन्तर्निहित क्षमताको विकासमा ध्यान दिने

आफूमा अन्तर्निहित क्षमताको पहिचान गरी त्यसमा आफ्नो अध्ययन बढाउँदा र सोही बमोजिमको पेसा अपनाउँदा वृत्तिविकासमा सफलता मिल्छ । 

कर्मचारीको सीप विकासका लागि कार्यालय, कम्पनी, संस्थाहरूले समय समयमा तालिमको पनि व्यवस्था गरेको हुन्छ । यस्ता तालिमले पनि कर्मचारीलाई कार्यसम्पादन गर्न र आत्मविकासमा सहयोग पुग्नेगर्छ । समयमा गरिएको तयारी र चेतनशील भएर गरिएको प्रयासले नै मानिसलाई सफल बनाउने गर्छ र यो प्रक्रिया निरन्तर चलायमान हुन पनि त्यत्तिकै जरुरी छ ।

(इलाम, हाल विराटनगर ४)
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

दिपेश राई
दिपेश राई
लेखकबाट थप