आइतबार, १० साउन २०८३
ताजा लोकप्रिय

‘म’को  खोजी

मङ्गलबार, १७ असार २०८२, १८ : ०४
मङ्गलबार, १७ असार २०८२

मनन गरौँ, हामी कस्ता चिजवस्तुहरू, कस्तो र कुन अवस्थामा खोजी गर्छौं ? सामान्यतया हामीसँग भएका, हामीले देखेका, भोगेका, चिनेका वा राखेका परिचित वस्तुहरू आवश्यक परेको बेला फेला परेनन् भने मात्र खोज्छौँ । भेटिएन भने विकल्प हुँदासम्म त्यसको प्रतिस्थापन गर्छौं, नत्र त्याग गर्छौं । कहिलेकाहीँ कुनै अपरिचित तत्त्व हराएको महसुस गर्नु र त्यसको खोजीमा लाग्दा आफैँ हराउनु पनि बडो रोचक हुने रहेछ । जसको अस्तित्वबारे नै हामी बेखबर छौँ, त्यही चिज हराएको अनौठो अनुभूति गर्नु र त्यसैको खोजीमा लाग्नु एक हिसाबले मूर्खता पनि हो ।

केही वर्षअघि मलाई एउटा प्रश्नले हैरान पारेको थियो— वास्तवमा म को हुँ ? यो शरीरभित्र मकहाँ छ ? यस प्रश्नको खोजीमा अचेल म लागिरहेको छु । 

तपाईंहरूमध्ये कतिजना यसको खोजीमा लाग्नुभयो वा लाग्नुभएन, त्यसको जानकारी मलाई छैन । 

हिजोआज मलाई लाग्दै छ, मभित्रको ‘म’ के हो भनेर बुझ्नुभन्दा पहिला त्यो हराउनुको अर्थ के हो भनेर जान्न आवश्यक रहेछ । नेपाली शब्दकोशमा ‘हराउनु’ को अर्थ कुनै भौतिक वस्तु बेपत्ता हुनु, गुम्नु, वा अदृश्य बन्नु भनी उल्लेख छ । यहाँ यसको अर्थ त्योभन्दा भिन्न छ । यहाँ भौतिक वा अभौतिक कुनै पहिचान नभएको अपरिचित चिज हराएको सन्दर्भ उठाइएको छ । यहाँ ‘हराउनु’को अर्थ तत्त्वज्ञान (आत्मा र सृष्टिको यथार्थ ज्ञान) प्रतिको अनभिज्ञतासँग जोडिएको छ । जुन ज्ञान हामीसँग कहिल्यै थिएन, जसको खोजी गरिएन र त्यसैले सिकाइएन । यही तत्त्व ज्ञानको अभावमा समाजबाट अपेक्षित वा अनपेक्षित कर्म गरेर बाँचेको जीवनशैली नै साँच्चो अर्थमा हराउनु हो । यहाँ आफूभित्र के छ, ‘म’ को हुँ र त्यो ‘म’ हुनुको उद्देश्य के हो भन्नेबारे अनभिज्ञ रहनु नै हराउनु हो । जब मानिसलाई आफू हराएको छु भन्ने आभास नै हुँदैन तब ऊ यस्तो दुनियाँमा हुन्छ जहाँ उसलाई आफूभित्रको ‘म’ खोज्नुपर्छ भन्ने नै लाग्दैन । ऊ अरूलाई चिनाउने एउटा लोकप्रिय भौतिक ‘म’ निर्माण गर्न संघर्षशील रहन्छ । यो युगको सामाजिक संरचनाले अवलम्बन गरेको स्थापित अभ्यासभित्रै रहेर, सामाजिक प्रचलनबाट सिकेको ज्ञानबाट प्रेरित हुँदै हिजोभन्दा आज र आजभन्दा भोलि आफूलाई परिष्कृत गर्दै लैजानु नै उसको जीवन बन्छ, जुन अधिकांशतः तुलनात्मक र प्रतिस्पर्धामय हुन्छ । कुनै राज्यको स्थापित कानुन र समाजको नैतिकताभित्र रहेर गरिने यी कर्ममा केही दोष छैन, बरु यस्तो कर्मलाई राज्य र समाजले मान्यता दिनु स्वाभाविक पनि हो, किनकि यो ‘म’ हराएको युग हो र हामीले जानेको यही हो ।

अब प्रश्न उठ्छ, ‘म’ हराउने युग यही मात्र हो त ? होइन । सत्य, त्रेता हुँदै युग बदलिए पनि ‘म’ हराउने अनुभूति उस्तै छ । यस सन्दर्भमा विभिन्न धर्मशास्त्रका केही दृष्टान्त स्मरणीय छन् ।

रामायणका पात्र हनुमानलाई नै हेरौँ । हनुमानको बाल्यकाल आजका हामीजस्तै थियो । उनी अद्वितीय शक्तिका धनी थिए, तर ती शक्तिहरूको प्रयोग नियन्त्रणविना गर्थे । यही कारण उनलाई ऋषिहरूको श्राप लाग्यो— जबसम्म तिमीलाई तिम्रो शक्तिको स्मरण गराइँदैन, तबसम्म तिमी आफ्नो शक्ति बिर्सनेछौ ।’ यसरी हनुमानको ‘म’ हरायो । उनी शक्तिशाली थिए, तर आफू को हुँ, किन जन्मिएको हुँ र कुन मार्ग रोज्नुपर्छ भन्ने आत्मबोध थिएन । यो प्रसंग आज हामी प्रत्येकसँग मिल्दोजुल्दो छ । हामी पनि विभिन्न क्षमता लिएर जन्मिएका छौँ, तर युगको दौड र समाजको अपेक्षामा अल्झँदा हामीले आफ्नो ‘म’ हराएका छौँ । श्रीरामसँगको भेटपछि हनुमानको जीवनले मोड लियो । उनले आत्मबोध गरे कि उनको जन्मको उद्देश्य ‘रामसेवा’ हो । त्यो क्षणमा उनको ‘म’ पहिचान भयो र उनी पुनः शक्तिशाली मात्र होइन, सशक्त आत्मचेतनायुक्त बने । आज हामी पनि श्रापित हनुमानजस्तै छौँ— सामथ्र्य छ तर त्यो बिर्सेका छौँ, किनकि हामीले आफूलाई चिन्न सकेका छैनौँ ।

अर्का पात्र अर्जुन, महाभारतका महान् नायक । जब कुरुक्षेत्रको रणभूमिमा आफ्नै गुरु र आफन्तविरुद्ध युद्ध गर्नुपर्ने भयो, तब उनको मनमा एउटा गहिरो द्वन्द्व जन्मियो, ‘के मैले यो युद्ध गर्नैपर्छ ?’ उनले आफ्नो अस्तित्व र कर्तव्यको पहिचान गर्न सकेनन् । जब भगवान् श्रीकृष्णबाट गीता उपदेश प्राप्त गरे तब अर्जुनले आत्मबोध गरे र आफ्नो ‘म’ चिने । उनी एक योद्धा मात्र होइन एक धर्मवीर पनि रहेछन् ।

कर्णको जीवनमा पनि पहिचानको गहिरो संघर्ष थियो । सूतपुत्रका रूपमा निन्दा खेप्दै उनले आफ्नो अस्तित्व खोजिरहे । उनका निर्णयहरू ठिक थिए वा बेठिक, त्यो तपसिलको विषय होला, तर उनको भित्री ‘म’ धनुर्धर र दानवीर थियो । उनको जन्मको उद्देश्य अर्जुनको सशक्त प्रतिस्पर्धी बनेर अर्जुनको उपस्थितिको मूल्य बढाउनु थियो ।

एकलव्यको कथाले निष्ठा र त्यागको शुद्ध मार्ग देखाउँछ । उनको ‘म’ शास्त्रविद्वान् थियो र उनको जन्मको उद्देश्य धर्मभित्रको असमर्थ पक्षलाई उजागर गर्नु थियो । उनले आफ्नो जन्मको उद्देश्य भने पूरा गरे ।
त्यस्तै, इस्लाम धर्ममा नवी युनुसको कथा आत्मपछुतो, आत्मबोध र आध्यात्मिक पुनर्जन्मको कथा हो । सुरुमा उनले मानवीय भावनाका आधारमा निर्णय गरे । जब उनी माछाको गर्भमा परे तब उनले बुझे, ‘मेरो मार्ग र अस्तित्व ईश्वरसँग जोडिएको छ ।’ त्यहीँबाट उनको ‘म’ आत्मचेतनामा फर्कियो ।

बौद्ध धर्ममा सिद्धार्थबाट बुद्धसम्मको यात्राले देखाउँछ कि विलासिता र सत्ताले कहिल्यै पूर्ण सन्तुष्टि दिँदैन । जबसम्म मानिसले आफ्नो ‘म’ पहिचान गर्दैन ऊ अधुरो रहन्छ । बौद्ध धर्मले ‘अनात्मवाद’को कुरा गर्छ, अर्थात् कुनै स्थायी ‘म’ छैन । जब प्राणीले शरीर, भावना, चेतना र संस्कारको अस्थायी संयोजनलाई बुझ्छ, ऊ ‘निर्वाण’ अर्थात् परमानन्दमा पुग्छ । यही हो ‘सच्चा म’— इच्छाविहीन, मुक्त र करुणासम्पन्न ।
बाइबलमा शिष्य पेत्रुसको कथाले पनि आत्मबोधको यात्रा देखाउँछ । डर र संकटको घडीमा उनले आफूभित्रको ‘म’ हराए, तर आत्मग्लानिबाटै उनले आत्मबोधको मार्ग भेटे ।

‘म’को खोज केवल अध्यात्म होइन यो मनोविज्ञान, अस्तित्वको विज्ञान र चेतनाको पुनर्जागरण पनि हो । यही खोजले मानिसलाई मोह, ईष्र्या र द्वेषबाट मुक्त पार्छ र साँचो अर्थमा सन्तुष्टि, सहजता र खुसीको अनुभूति दिलाउँछ ।

‘म को हुँ ?’ यो प्रश्न जति सरल लाग्छ उत्तर त्यति नै जटिल छ । युग फेरिन्छ, धर्मको स्वरूप बदलिन्छ तर आत्मसत्यको खोज कहिल्यै पुरानो हुँदैन । मानव जीवनको यात्रा बाहिरी साजसज्जा, पद–प्रतिष्ठा वा सामाजिक स्वीकृतिमा मात्र सीमित छैन। ‘म’ कुनै बाहिरी पहिचान होइन, न त समाजले दिएको परिचय नै । ‘म’ त त्यो चेतना हो, जो प्रत्येक व्यक्तिको अन्तर्मनमा मौन रूपमा अवस्थित छ । हामी समाजको नियम र संरचनामा यति अल्झिएका छौँ कि आफैँलाई नचिनिकनै बाँचेका छौँ ।

‘म’ को पहिचान गर्नु भनेको खोज्नु नै हो तर यो खोज केही फरक छ । ‘म’ पहिचान गरेर खोज्ने चिज होइन बरु खोजेर पहिचान गर्नुपर्छ । यो खोज कसरी गर्ने त ? ‘म’ कुनै एउटा धर्म वा दर्शनले मात्र खोजेको होइन यो मानव–जागरणको साझा यात्रा हो, जहाँ बुद्धले शून्यताभित्र खोजे, युनुसले समर्पणभित्र खोजे, पेत्रुसले डरपछिको आत्मबोधभित्र खोजे, कृष्ण–अर्जुनले कर्तव्य र विवेकभित्र खोजे र कर्ण–एकलव्यले अस्वीकृति र संघर्षभित्र खोजे ।

‘म’को खोज केवल अध्यात्म होइन यो मनोविज्ञान, अस्तित्वको विज्ञान र चेतनाको पुनर्जागरण पनि हो । यही खोजले मानिसलाई मोह, ईष्र्या र द्वेषबाट मुक्त पार्छ र साँचो अर्थमा सन्तुष्टि, सहजता र खुसीको अनुभूति दिलाउँछ । यसका लागि पहिलो आधार भनेको आफू हराइरहेको यथार्थलाई पूर्ण सामथ्र्यले स्वीकार गर्नु हो, जसका लागि कमसे कम आफूसँग इमानदार बन्ने बानीको विकास गर्न आवश्यक छ । साथै शब्दभन्दा परको मौन अभ्यास, आत्म–अवलोकन, अविराम चिन्तन र आत्मानुशासन प्रमुख आधार हुन् ।

अन्ततः, ‘म’ को खोज कुनै बाह्य गन्तव्य होइन यो अन्तर्मनको सूक्ष्म यात्रा हो । जबसम्म मानिसले ‘म को हुँ ?’ भन्ने प्रश्नलाई गहिरो संवेदनाका साथ आत्मसात् गर्दैन, तबसम्म ऊ समाज, धर्म र प्रविधिको बनावटी घेराभित्र सीमित रहन्छ । मृगले आफ्नै नाभिमा रहेको कस्तुरीको सुगन्ध बाहिर खोजेझैँ मानिसको ‘म’ पनि हराएको छैन, केवल हामीले कोलाहलपूर्ण दुनियाँमा त्यसलाई सुन्न नसकेका हौँ ।
यथार्थमा ‘मभित्रको म’को खोज नै आत्म साक्षात्कारको मूल कुञ्जी हो । हामीले यो खोजको प्रयत्न गर्‍यौँ भने हामी मोह, ईष्र्या र भ्रमको कुहिरोबाट मुक्त भएर जीवनको साँचो मजा लिन सक्छौँ । अब के हामी सबै कामधन्दा छाडेर यसैको पछि लाग्ने त ? त्यसो कदापि होइन तर कम्तीमा महसुस गर्नेसम्मको प्रयास गरेर त हेरौँ ! के थाहा, तपाईंले आफू अझै खुसी हुने ठाउँ पो पाउनुहुन्छ कि ?

(पोखरेल प्रहरी निरीक्षक हुन् ।)
 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मोहन पोखरेल
मोहन पोखरेल
लेखकबाट थप