बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
शिक्षा

एसईई नतिजा : ग्रेड हेर्ने कि ज्ञान–सीप ?

बिहीबार, १९ असार २०८२, ०८ : ४८
बिहीबार, १९ असार २०८२

सारांश

  • माध्यमिक शिक्षा परीक्षा (कक्षा १०) को नतिजामा सुधार आएको छ, तर सिकाइमा सुधारको लागि ज्ञान, सीप र अवधारणामा ध्यान दिनुपर्छ।
  • परीक्षाको नतिजा सुधारको श्रेय प्रधानाध्यापक, शिक्षक, विद्यार्थी, अभिभावक, विद्यालय व्यवस्थापन समिति र स्थानीय निकायलाई जान्छ।
  • शिक्षाको गुणस्तर सुधारका लागि शिक्षकको भूमिका, प्रविधिको प्रयोग र बजेट वृद्धिलाई जोड दिनुपर्छ।

माध्यमिक शिक्षा परीक्षा (कक्षा १०) को परिणाम केही दिनअघि मात्रै प्रकाशित भयो । गत वर्षको तुलनामा परिणाममा राम्रै सुधार भएको देखियो । गत वर्ष ४७.८६ प्रतिशत मात्र विद्यार्थी उत्तीर्ण या भनौँ वर्गीकृत भएका थिए भने यस वर्ष यो प्रतिशत बढेर ६१.८१ पुगेको छ । सुधारको वस्तुगत कारण, विषयगत र क्षेत्रगत अवस्था आदिको साङ्गोपाङ्गो व्याख्या विश्लेषण गरी निष्कर्ष निकाल्ने काम पक्कै पनि राष्ट्रिय परीक्षा बोर्डले गर्नेछ । 

समग्र परिणाम हेर्दा २०७९ मा ३.६० देखि ४ जीपीए प्राप्त गर्ने विद्यार्थी संख्या २२,७७५ थियो भने २०८० मा यो संख्या बढेर ३१,२०९ पुग्यो । यस वर्ष यो संख्या उल्लेख्य रूपमा वृद्धि भएर ४८,१७७ पुगेको छ । २०८० मा ५२.१४ प्रतिशत विद्यार्थी अवर्गीकृत थिए भने यो वर्ष यो प्रतिशत घटेर ३८.१९ मा झरेको छ । यसरी प्रतिशत हेर्दा विद्यालय शिक्षाको गुणस्तर क्रमशः सुधार भएको देखिन्छ । 

हामी के कुरामा प्रस्ट हुनुपर्छ भने पहिलो चरणको र देखिने सुधार विद्यार्थीले प्राप्त गर्ने विषयगत अङ्क र समग्र उत्तीर्ण प्रतिशत नै हो । परिणाम सुधारका कारण नकारात्मक कोणबाट समेत विश्लेषण र व्याख्या भएको सुनिन्छ । यसो गर्नु परिश्रमी विद्यार्थी र लगनशील शिक्षकप्रति अन्याय हुन्छ । अब कमी¬–कमजोरी सुधार गर्ने प्रतिबद्धताका साथ प्राप्त उपलब्धिमा खुसी हुँदै अर्को वर्षको तयारीमा जुट्ने हो ।

परिणाममा आएको यो सुधारको जस लिनलाई एकापसमा होड चलेको देखिन्छ । कसैले मौखिक आदेश दिए रे, कसैले लिखित निर्देशन । यस्ता किसिमका निर्देशनले प्रधानाध्यापक, शिक्षक, विद्यार्थीलाई केही दबाब, केही प्रेरणा वा केही अवसर सिर्जना भएको हुन सक्छ । वास्तविक रूपमा आदेश र निर्देशनले अहिलेको परिणाममा सुधार आएको किमार्थ होइन । 

यो परिणाम सुधारको जस सबैभन्दा बढि प्रधानाध्यापक, शिक्षक र विद्यार्थीलाई जान्छ । त्यसपछि अभिभावक, स्थानीय निकाय र विद्यालय व्यवस्थापन समिति जसको भागिदार हुन् । अन्य वर्गको पनि केही भूमिका रह्यो होला तर उल्लेखनीय रूपमा कसैको योगदान देखिँदैन । 

अङ्क र प्रतिशतमा आएको सुधारले हामी सन्तुष्ट भएर ढुक्कसँग बस्ने अवस्था भने छैन । ३० ल्याउनेले २ अङ्क बढाएर उत्तीर्णको श्रेणीमा पुग्यो होला तर यो वृद्धिले सिकाइमा खासै अभिवृद्धि भएको मान्न सकिँदैन । सिकाइमा आएको सुधार त उत्तीर्ण विद्यार्थीको ज्ञान, सीप र अवधारणाले प्रतिविम्बित गर्छ । उसको बोलीवचन र व्यवहारले देखाउँछ, उसले कति सिक्यो भनेर । 

सिकाइका बारेमा असफल स्कुलका लेखक जोन हल्ट लेख्छन्, शिक्षा प्राप्तिपछि केटाकेटी दुनियाँमा प्रवेश गर्न सके र आफ्नो जीवनका लागि उपयोगी काम गर्न सके भने सिकाइ भएको मान्नुपर्छ । प्रख्यात शिक्षाविद् जे कृष्णमूर्ति भन्छन्, परिवार, समाज, देश र विश्वलाई नै प्रगतिको पथमा अगाडि बढाउन सक्ने ज्ञान, सीपसहितको भयरहित व्यक्ति निर्माणमा सिकाइ प्रतिविम्बित भएको हुनुपर्छ । 

अङ्क र प्रतिशतमा आएको सुधारले हामी सन्तुष्ट भएर ढुक्कसँग बस्ने अवस्था भने छैन । ३० ल्याउनेले २ अङ्क बढाएर उत्तीर्णको श्रेणीमा पुग्यो होला तर यो वृद्धिले सिकाइमा खासै अभिवृद्धि भएको मान्न सकिँदैन । सिकाइमा आएको सुधार त उत्तीर्ण विद्यार्थीको ज्ञान, सीप र अवधारणाले प्रतिविम्बित गर्छ ।

राजनेता नेल्सन मन्डेला भन्छन्— सिकाइका कारण विद्यार्थीमा सत्यको ढोका यसरी उघारियोस्, उसका आँखा यसरी खुलोस् कि त्यसपछिका दिनमा आँखा चिम्लिँदा पनि उसका अगाडि झलझली त्यो सत्यको मार्ग प्रकट भइरहोस् । त्यो मार्ग बिर्सन खोजेर पनि बिर्सन नसकोस् । सिकाइले विद्यार्थीका सीमित जिज्ञासालाई शान्त मात्र पार्ने होइन कि असीमित जिज्ञासाका लागि बाटो खोलिदिनुपर्छ । सिकाइले सत्य यो मात्रै हो भनेर हैकम जमाउनुको सट्टा सत्यको खोजीमा आफैँ लाग्न उत्प्रेरित गर्छ र त्यो खोजीलाई सार्थक बनाउन आवश्यक शिल्प बाँड्छ । 

स्वामी जगत्गुरु डा प्रपन्नाचार्य भन्नुहुन्छ— विद्या र विनयशीलता एक अर्काका परिपूरक हुन् । सिकाइले मानिस सभ्य, सौम्य र सालीन बनाउँछ । महाकवि लक्ष्मीप्रसाद देवकोटा भन्नुहुन्छ, तपाईं जति सिक्नुहुन्छ त्यति नै तपाईंको ज्ञानमा वृद्धि र बौद्धिकतामा निख्खारपन आउने त छँदै छ, सिकाइको कारण तपाईं कर्म क्षेत्रमा पनि त्यतिकै सफल हुनुहुन्छ ।
सिकाइमा ह्रास आएको नेपालको मात्र होइन यो विश्वको नै समस्या हो अहिले । अन्तर्राष्ट्रिय विद्यार्थी मूल्याङ्कन कार्यक्रम (पिसा) को २०२४ को प्रतिवेदनका अनुसार शिक्षामा उत्कृष्ट भनिएका देशमा पनि २०१८ बाट २०२२ सम्म आइपुग्दा गणितमा १५ प्वाइन्ट र पढाइमा १० प्वाइन्ट घटेको छ । 

कतिपय शिक्षाविद्को तर्क छ— कोभिड १९ ले शैक्षिक क्षेत्रमा पारेको प्रभाव क्रमशः देखिन थालेको छ । यसका साथै सामाजिक असमानता, गरिबी, शिक्षकको आपूर्तिमा कमी आदि कारणले शैक्षिक क्षति भएको देखिन्छ । सिकाइ स्तर कमजोर हुनुमा कारण थुप्रै छन् जसको बहस छुट्टै हुन जरुरी छ । 

जब सिकाइमा ह्रास आउन थाल्छ तब शिक्षाप्रति अभिभावकको विश्वास घट्न थाल्छ । अभिभावकले सोध्न थाल्छन् कि पढेर के हुन्छ । एकातिर अभिभावक र समाजमा शिक्षाप्रतिको भरोसा कमजोर हुँदै जान्छ भने अर्कोतिर स्वयं विद्यार्थीले भविष्यमा रोजगारी पाउने, अर्थोपार्जन गर्ने र समाजमा सम्मानजनक जीवन जिउने सम्भावना पनि न्यून हुँदै जान्छ । 

के गर्ने त सिकाइ स्तर सुधार्न 
यो वर्षको माध्यमिक शिक्षा परीक्षाको परिणाममा आएको सुधारको मुख्य जस दिनुपर्ने वर्ग प्रधानाध्यापक, शिक्षक, विद्यार्थी, अभिभावक, विद्यालय व्यवस्थापन समिति र स्थानीय निकाय भएकाले म यस लेखमा यिनै वर्गले के गर्ने भन्ने मात्र चर्चा गर्छु ।

सबभन्दा महत्त्वपूर्ण कुरा प्रधानाध्यापक, शिक्षक र अभिभावकले प्राथमिक तहदेखि नै को सिक्दै छ र को सिकिरहेको छैन भनेर पहिचान गर्न अत्यावश्यक हुन्छ । सिक्ने र नसिक्नेहरूको वास्तविक पहिचान हुन नसक्नु नै अहिलेको विश्वव्यापी समस्या हो भन्छ, युनेस्कोको एक प्रतिवेदन । कुन विद्यार्थीको रुचि कुन विषय र क्षेत्रमा छ भनेर थाहा पाउने मूल व्यक्ति शिक्षक र अभिभावक नै हुन् । 

विद्यार्थीको रुचिको विषय समयमै पहिचान गरी त्यही विषय उसलाई सिकाउन सके उसको मन परेको विषयमा सिकाइ स्तर पक्कै पनि बढी हुन्छ । त्यसैले हाल विश्वका सयौँ देशले प्राथमिक तहदेखि नै मनोसामाजिक परामर्श सेवा प्रदान गर्दै आएका छन् । विद्यार्थीको कमजोर पक्ष र उसको बलियो पक्ष पहिल्याएर उसको लागि उपयुक्त हुने शैक्षिक धारमा उसलाई प्रवेश गराउन थालेका छन् । 

युनेस्कोद्वारा प्रकाशित शिक्षाको दिगो विकाससम्बन्धी लक्ष्यको विश्व अनुगमन प्रतिवेदनले विश्वमै सिकाइमा संकट देखिएको र यसको सुधारका लागि प्रधानाध्यापकको शैक्षणिक नेतृत्व र शिक्षण सिकाइ विधि तथा क्रियाकलापमा आमूल परिवर्तन र सुधारको आवश्यकता आैँल्याएको छ । 

प्रधानाध्यापक समयमा विद्यालयमा आउने, पूरा समय विद्यालयमा बस्ने, कक्षाकोठमा समयमै पस्ने र पूरा समय बिताउने, शिक्षक विद्यार्थी र अभिभावकसँग नियमित अन्तक्र्रिया गर्ने विद्यालयका विद्यार्थीको २७ प्रतिशतसम्म सिकाइमा वृद्धि भएको र शिक्षकको कार्य सम्पादनमा पनि उल्लेख्य सुधार भएको बताउँछ, युनेस्को प्रतिवेदन । त्यसैले यो प्रतिवेदनको प्रमुख सुझाव प्रधानाध्यापकको पेसागत अभिवृद्धिका लागि सरकारले लगानी गर्नुपर्दछ भन्ने छ ।  

प्रविधिको क्षेत्रमा भएको विकास (कृत्रिम बौद्धिकता, गुगल) का कारण शिक्षक भन्दा विद्यार्थी पो अगाडि लागे कि भनेजस्तो भएको छ । विषयवस्तुको ज्ञान प्राप्तिमा शिक्षकको मात्र भर पर्नुपर्ने दिन गएका छन् तर प्रविधिको उचित प्रयोग गर्न, आर्जित ज्ञानलाई व्यवहारमा उतार्न, सीपमा प्रदर्शन गर्न र आफ्नो परिवेश अनुसार ग्रहण गर्न शिक्षकले सहजकर्ताको भूमिका खेल्नुपर्छ । 

आजको विद्यार्थी मोबाइल, कम्प्युटर र टीभीको स्क्रिनमा रमाउन थाल्यो, पुस्तक पढ्न छाडे उनीहरूले । त्यसैले शैक्षिक सामग्रीको उत्पादन तथा शिक्षकले पढाउने विधि त्यही अनुरूप सुधार हुनुपर्‍यो ।

परिणाममा आएको यो सुधारको जस लिनलाई एकापसमा होड चलेको देखिन्छ । कसैले मौखिक आदेश दिए रे, कसैले लिखित निर्देशन । यस्ता किसिमका निर्देशनले प्रधानाध्यापक, शिक्षक, विद्यार्थीलाई केही दबाब, केही प्रेरणा वा केही अवसर सिर्जना भएको हुन सक्छ ।

परिवार, समाज र राष्ट्रको आवश्यकता अनुसार ज्ञानको उपयोग गर्ने कुरामा विद्यार्थी कमजोर देखिएका छन् । युनेस्कोको प्रतिवेदन भन्छ— सबै राष्ट्रले शिक्षकको शिक्षण विधि र कलाको आधुनिकीकरण र पेसागत विकास तथा शिक्षकलाई विषयगत र प्रविधिगत सहयोगका लागि सरकारले लगानी बढाउनुपर्छ । 

सिकाइ विद्यालयको चार दिवारभित्र मात्र हुन्छ भन्ने हाम्रो धारणालाई कोभिडको प्रकोपमा नेपाल लगायत विभिन्न देशले गरेका सफल अभ्यासले परिवर्तन गरिदिएको छ । सिकाइ परिवारमा हुन्छ, समाजमा हुन्छ, सिकाइ वन–जङ्गल अनि विद्यालय आउँदा बाटोमा पनि हुन्छ । सिकाइ खेतबारी, पाटीपौवा र पँधेरामा पनि हुन्छ । सिकाइ उद्योग कल–कारखाना होटल आदिमा पनि हुन्छ । 

विद्यालयको कर्तव्य हो कि यी र यस्तै विद्यालयभन्दा बाहिर सिकेका विषयवस्तुलाई पाठ्यक्रम पाठ्यपुस्तकसँग जोडिदिनु, त्यसलाई व्यवस्थित र लिपिबद्ध गरिदिनु र सिकेका कुरालाई औपचारिक उपलब्धिसँग तादात्म्य मिलाएर विद्यार्थीलाई हौसला र प्रेरणा दिनु । 

असल अभ्यास हाम्रै देशमा थुप्रै छन् । पशुराम नगरपालिका डडेल्धुराको एक विद्यालयले प्रत्येक महिनाको अन्तिम शुक्रबार अभिभावकसँग विद्यालय कार्यक्रम गर्ने गर्छ । विद्यालय बन्द हुन्छ तर शिक्षक, विद्यार्थी समूह–समूहमा अभिभावकका घर पुग्छन् । त्यहाँ उनीहरू व्यावहारिक, सांस्कृतिक, सामाजिक विषयवस्तु सिक्छन् र त्यसबारेमा विद्यालयमा छलफल, व्याख्या, विश्लेषण गर्छन् । विद्यार्थीले यो बेला समाज पढ्छन्, सामाजिक मूल्य–मान्यता र सामाजिक रहनसहन पढ्छन् । यसले विद्यालयलाई परिवार र समाजसँग जोड्न ठूलो मद्दत पुगेको कुरा त्यस विद्यालयका प्रधानाध्यापकले बताउनुभएको थियो। 

परीक्षा प्रणालीमा पनि सुधारको आवश्यकता छ । लिखित परीक्षा विश्वमै लिने गरिन्छ । कति समय, कति प्रतिशत, कस्ता किसिमका प्रश्न आदि बहसका विषय हुन् र यो क्षेत्रमा सुधार गर्दै लैजानुपर्छ । नेपालमा एसईई परीक्षालाई नियमित परीक्षाजस्तो नबनाएर बढी हल्ला गर्ने, फलामको ढोका आदि भाष्यका कारण पनि विद्यार्थी डराउने, नर्भस हुने र जानेको कुरा पनि सीमित समयमा व्यक्त गर्न नसक्ने समस्या देखिएका छन् । यी समस्यालाई परीक्षा केन्द्रको वातावरण सुधार गरेर हल गर्न सकिन्छ । 

फिनल्यान्डमा परियोजना कार्य गर्ने, प्रतिवेदन लेख्ने, प्रस्तुति गर्ने काममा जोड दिइन्छ र परीक्षामा पनि त्यस्तै प्रश्न सोधिन्छ । जसले गर्दा आफूले अनुभव गरेका विषय विद्यार्थीले सहजै अभिव्यक्त गर्छन् । 

हाम्रो प्रश्न निर्माण गर्ने तरिका विद्यार्थीले के जानेका छन् भन्नेतिर भन्दा विद्यार्थीले के जान्दैनन् भन्ने अवधारणाले पो निर्देशित छ कि भन्ने लाग्छ । परीक्षामा जानेका कुरा लेख्ने हो भनेर विद्यार्थी ढुक्क र निर्धक्क हुनै सक्दैनन् । ऊ नजानेको, नपढेको वा शिक्षकले नपढाएको कुरा आउँछ अनि लेख्न सकिँदैन भनेर चिन्तित हुन्छ र फेल हुने डरले उसलाई सताइरहन्छ । यही डरका कारणले परीक्षा हलमा कतिपय जानेका र थाहा पाएका उत्तर समेत प्रस्ट लेख्न नसकेको अनुभव हाम्रा सयौँ विद्यार्थी सुनाउँछन् । 

फिनल्यान्डमा परियोजना कार्य गर्ने, प्रतिवेदन लेख्ने, प्रस्तुति गर्ने काममा जोड दिइन्छ र परीक्षामा पनि त्यस्तै प्रश्न सोधिन्छ । जसले गर्दा आफूले अनुभव गरेका विषय विद्यार्थीले सहजै अभिव्यक्त गर्छन् । 

सिङ्गापुरका निर्माता लि क्वान पहिलोपटक सत्तामा आएपछि उनको प्राथमिकता थियो शिक्षा सुधार । उनले यो सुधार एकैपटक तीन क्षेत्रबाट सुरु गरे— प्राथमिक तह, विश्वविद्यालय र शिक्षकको पेसागत विकास । नेपालमा सिकाइ सुधारका लागि प्रारम्भिक बाल बालविकास तहमा योग्य, तालिम प्राप्त र लगनशील शिक्षक, पर्याप्त शैक्षिक सामग्री र उपयुक्त शैक्षिक वातावरण आदिमा ध्यान दिनु जरुरी छ । 

शिक्षक उत्पादन गर्ने विश्वविद्यालयको सुधार पनि आजको आवश्यकता हो । विश्वविद्यालयका विज्ञ विद्यालय शिक्षाको गुणस्तर ह्रास आउनुमा विद्यालयका शिक्षकलाई दोष दिन्छन् र ती शिक्षक आफ्नै उत्पादन हुन् भन्ने तथ्य बिर्सन्छन् । साथै शिक्षकको पेसागत विकासको जिम्मेवारी पाएको शैक्षिक तालिम केन्द्रको स्तरोन्नति गर्नु अत्यावश्यक छ । कर्मचारी तन्त्रको पकडमा रहेका यो केन्द्र विज्ञ, प्राज्ञिक र व्यावसायिक व्यक्तिले भरिपूर्ण भएको एक सिकाइ संस्थाको रूपमा रूपान्तरण हुन आवश्यक छ । 

शिक्षकले विद्यार्थीलाई सिकाइप्रति जिम्मेवार बनाउनुपर्छ । व्यक्तिगत र स–साना समूहगत सिकाइमा उत्प्रेरित गर्नुपर्छ । विद्यार्थीको सिक्ने क्षमता छ, त्यसैले शिक्षकले तिमी सक्छौ, प्रयास, लगनशीलता र एकाग्रताको आवश्यकता छ भनेर उत्प्रेरित र उत्साहित गराइरहनुपर्छ । शिक्षक मात्र सहजकर्ताका भूमिकामा रहनुपर्छ । विद्यार्थीलाई सिकाइ मेरा लागि हो भनेर आत्मानुभूति हुनु वा गराउनु जरुरी छ जुन काम शिक्षकले मात्र गर्न सक्छन् । 

संघीय सरकारले अरु धेरै केही गर्नुपर्दैन मात्र शिक्षाको बजेट बढाइदिए पुग्छ । सुधारका कार्यक्रम र क्रियाकलाप विद्यालय र पालिकाले आवश्यकता अनुसार निर्माण गर्छन् र कार्यान्वयन गर्छन् तर बजेट वार्षिक घट्दो छ । आर्थिक वर्ष २०६७–६८ मा १७.११ पुगेको शिक्षा बजेट अहिले १०.७९ छ ।

यो वर्षको परिणाममा सुधार आउनुमा विद्यालय व्यवस्थापन समिति र स्थानीय निकायको योगदान पनि महत्त्वपूर्ण पाइयो । कतिपयले अवर्गीकृत नील गर्ने, कतिपयले वर्गीकृतको प्रतिशत बढाउनेजस्ता लक्ष्य तोकेर काम गरेको पाइयो । विद्यालयमा अतिरिक्त कक्षा सञ्चालन गर्ने, विद्यार्थीलाई खाजाको व्यवस्था गर्ने, विद्यालयलाई प्रशासनिक खर्च उपलब्ध गराउने, पुस्तकालयमा नियमित गोरखापत्र उपलब्ध गराउने, अभिभावक शिक्षा सञ्चालन गर्ने, विद्यार्थीका आवश्यकता र समस्याका बारेमा उनीहरूसँग छलफल गर्ने आदि कार्यले परिणाम सुधारमा प्रत्यक्ष प्रभाव पारेको कुरा प्रधानाध्यापकहरू बताउनुहुन्छ । 

त्यसै गरी अन्तिम तीन महिना विद्यालयले परीक्षा केन्द्रित तयारी (प्रश्नपत्रको पूर्ण जानकारी, परीक्षामा समय व्यवस्थापन, उत्तरको नमुना) गरेको पाइयो । यी र यस्तै कार्यहरू आगामी वर्ष पनि नियमित गर्नु अनिवार्य देखिन्छ । 

संघीय सरकारले अरु धेरै केही गर्नुपर्दैन मात्र शिक्षाको बजेट बढाइदिए पुग्छ । सुधारका कार्यक्रम र क्रियाकलाप विद्यालय र पालिकाले आवश्यकता अनुसार निर्माण गर्छन् र कार्यान्वयन गर्छन् तर बजेट वार्षिक घट्दो छ । आर्थिक वर्ष २०६७–६८ मा १७.११ पुगेको शिक्षा बजेट अहिले १०.७९ छ ।

अन्त्यमा यो सुधार अर्को वर्ष पनि कायम राख्नु प्रधानाध्यापक र शिक्षकका लागि चुनौतीपूर्ण भएको अवस्थामा म प्रधानाध्यापक र शिक्षक साथीहरूलाई केही अनुरोध गर्दै लेखको बिट मार्न चाहन्छु । 

स्थानीय सरकारको लगानी र नेतृत्व, विद्यालय व्यवस्थापन समितिकोे साथ र सहयोग समेत पाएको अवस्थामा अरुलाई दोष दिएर जिम्मेवारीबाट नपन्छनुहोस् ।

प्रधानाध्यापकज्यूले रूपान्तरणको सुरुवात आफैँबाट गर्नुहोस् (समयमा विद्यालयमा आउने, घन्टी लाग्नेबित्तिकै कक्षामा पस्ने, पूरा समय कक्षामा बस्ने, गृहकार्य परीक्षण गर्ने, विद्यालय समयमा विद्यालय नछाड्ने, समूहमा काम गर्ने आदि) । तपाईंले गरेपछि अरुले पनि ढिलो चाँडो तपाईंलाई पछ्याउँछन् । 

विद्यालयलाई सिकाइ संस्थाका रूपमा विकास गर्नुहोस् । जस्तै मसिना कार्यमूलक अनुसन्धान, प्रकाशन, पेसागत विकास, छलफल र अन्तक्र्रिया साथै शिक्षक विद्यार्थी दुवैमा पठन संस्कृतिको विकास ।

पेसागत हक–अधिकारको विषयमा चासो र संलग्नता राख्नुहोस्, विचार बोक्नुहोस्, मताधिकार प्रयोग गर्नुहोस्, पेसागत संगठनको सदस्यता लिनुहोस् तर दलका कार्यक्रमा सहभागी नहुनुहोस् । अझ पनि गाउँपालिका अध्यक्ष, माननीय आदि हुने रहर छ भने शिक्षण पेसा छाडेर राजनीति गर्नुहोस् ।

शिक्षा नीति, पाठ्यक्रम आदि जो तपाईं हामीले चाहेर मात्र फेर्न सक्दैनौँ, त्यसमा धेरै चिन्ता नगरौँ । आफूले गर्न सक्ने (नवीन शिक्षण सिकाइ क्रियाकलाप, शैक्षिक सामग्री निर्माण र प्रयोग, प्रविधिको प्रयोग आदि) कुरामा ध्यान केन्द्रित गर्नुहोस् ।

विश्वमै बहस हुन थालिसक्यो Reimagining pedagogy । तपाईंले पनि परम्परागत शिक्षण विधिमा सुधार ल्याउनैपर्छ । विद्यार्थीको सीप, क्षमता र चाहनालाई ख्याल गर्दै तथा विश्वबजारमा बिक्ने नागरिक उत्पादन गर्न प्रविधिमा आधारित नवीन शिक्षण विधिको प्रयोग गर्नुहोस् ।

देशका विभिन्न पालिकाहरूमा प्रधानाध्यापक र शिक्षक साथीहरूसँग छलफल गर्दा तपाईंहरूमा परिवर्तन गर्ने, विद्यालय सुधार्ने, आफू पनि रूपान्तरण हुने हुटहुटी देखेको छु । तपाईंलाई सहयोग गर्न स्थानीय निकाय र विद्यालय व्यवस्थापन समिति तत्पर पाएको छु । त्यसैले पक्कै पनि आउँदो वर्षको परिणाम पनि यो वर्षको भन्दा सुधार हुनेछ भन्ने विश्वास जागेको छ ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

डा. बलराम तिमल्सिना
डा. बलराम तिमल्सिना
लेखकबाट थप