बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

गण्डकी प्रदेश महिला टी-२० क्रिकेटको उपाधि स्याङ्जालाई

शनिबार, २१ असार २०८२, १६ : ३१
शनिबार, २१ असार २०८२

सारांश

  • स्याङ्जाले गण्डकी प्रदेश टी-२० महिला क्रिकेट प्रतियोगिताको उपाधि दोस्रो पटक जितेको छ।
  • फाइनलमा कास्कीलाई ७ विकेटले हराउँदै स्याङ्जाले उपाधि जित्यो, नगद १ लाख रुपैयाँ प्राप्त गर्यो।
  • सिमाना केसी उत्कृष्ट खेलाडी घोषित भइन्, उनले खेलमा सर्वाधिक विकेट पनि लिइन्।

पोखरा । स्याङ्जा जिल्लाले गण्डकी प्रदेश टी-२० महिला क्रिकेट प्रतियोगिताको उपाधि दोस्रो पटक जितेको छ । 

प्रादेशिक क्रिकेट सङ्घ गण्डकीको आयोजनामा जारी प्रतियोगिताको फाइनलमा शनिबार कास्की जिल्लालाई ७ विकेटले हराउँदै लगातार दोस्रो उपाधि चुमेको हो । उपाधिसँगै स्याङ्जाले नगद १ लाख रुपैयाँ हात पारेको छ भने उपविजेता कास्कीले ५० हजार रुपैयाँ प्राप्त गरेको छ । 

५७ रनको विजयी लक्ष्य पाएको स्याङ्जाले १०.३ ओभरमा ३ विकेट गुमाउँदै ६० रनका साथ लक्ष्य पुरा गर्‍यो । स्याङ्जाका लागि सिमाना केसीले १७ रनको अविजित पारी खेलिन् । उनले २२ बलमा १ चौका प्रहार गरिन् । 

कुसुम गोदार ११ रनमा अविजित रहिन् । उनले १३ बलमा १ चौका प्रहार गरिन् । ओपनर श्रेया शाह ५, सलिना सेन ६, ज्योत्सनिका मरासिनी ६ रनमा आउट भइन् । कास्कीका लागि रचना चौधरी र यशोदा भुजेलले समान १/१ विकेट लिए । 

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको कास्कीले १६ ओभरमा अलआउट हुँदै ५६ रन मात्रै जोडेको थियो । कास्कीका लागि रेखा तामाङले २४ र रचना चौधरीले १४ बाहेक अन्य ब्याटरले दोहोरो रन बनाउन सकेनन् । रेखाले २८ बलमा २ चौका र १ छक्का प्रहार गरिन् । रचनाले २५ बलमा २ चौका प्रहार गरिन् । ओपनर सिर्जना पौडेल ५, विनीता नेपाली, शिखा दवाडी र रिया तामाङ शून्यमा आउट भए । विनीता सिग्देल २, चन्द्रमाया बराल २ रनमा आउट हुँदा यशोदा भुजेल, सुशीला डिम्टुक पनि शुन्यमै पेभिलियन फर्किए । सोनिमा पुन मगर शून्यमा नटआउट रहिन् । स्याङ्जाका लागि अपेक्षा बुढाथोकीले ३ ओभरमा ६ रन खर्चेर सर्वाधिक ४ विकेट लिइन् । सिमाना केसीले ४ ओभरमा १३ रन खर्चेर ३ विकेट लिइन् । 

स्याङ्जाकी सिमाना केसी सर्वोत्कृष्ट खेलाडी घोषित भइन् । उनी खेलको वुमन अफ दी म्याचसँगै उत्कृष्ट बलर समेत घोषित भइन् । कास्कीका सिर्जना पौडेल उत्कृष्ट ब्याटर र सोनिमा पुन मगर उदीयमान खेलाडी घोषित भइन् । चार दिनसम्म चलेको प्रतियोगितामा स्याङ्जा, कास्की, नवलपुर र पर्वतको सहभागिता रहेको थियो । 

Indian Premier League 2026 Indian Premier League 2026

विस्तृत विवरण

खेल तालिका

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप