बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

प्रधानमन्त्री ओलीले चार वटा प्रतिबद्धता पूरा नगरेको कारण समर्थन फिर्ता लिएका हौँ : मनिष सुमन

शनिबार, २१ असार २०८२, १८ : ३७
शनिबार, २१ असार २०८२

सारांश

  • जनता समाजवादी पार्टीले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिने घोषणा गरेको छ।
  • पार्टी प्रवक्ताका अनुसार सरकारले भ्रष्टाचार नियन्त्रण, विधिको शासन र संविधान संशोधनको प्रतिबद्धता पूरा नगरेको आरोप छ।
  • जसपाले प्रतिपक्षमा रचनात्मक भूमिका निर्वाह गर्ने र माओवादी केन्द्र र रास्वपासँग मोर्चा नबनाउने जनाएको छ।

काठमाडौँ । जनता समाजवादी पार्टी, नेपालका प्रवक्ता मनिष सुमनले आफ्नो दलले वर्तमान सरकारलाई दिएको समर्थन औपचारिक रूपमा आजबाट फिर्ता लिने घोषणा गरेका छन् । उनले भने,‘वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिने घोषणा गरिसकेको छ । संसदीय दललाई समर्थन फिर्ताको लागि निर्देश गरेको छ । अहिले संसदीय दलको बैठक पार्टी हेडक्वार्टर बालकुमारीमा जारी छ । यो बैठकले औपचारिक निर्णय गरेर जानकारी दिनेछ ।’

शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिएको समर्थन फिर्ता लिने विषयमा सङ्घीय संसद् सचिवालय र सभामुखलाई जानकारी गराउने बताए । उनले भने,‘आज प्रधानमन्त्रीलाई दिएको समर्थन फिर्ता लिएको जानकारी गराउँदैछौं । हामीले समर्थन फिर्ता लिँदैमा यो सरकारलाई केही भइहाल्छ, हामी वैकल्पिक गठबन्धनमा लागिहाल्यौँ भन्ने केही पनि होइन । जतिबेला प्रधानमन्त्री ओली विश्वासको मत माग्न संसद्को रोष्ट्रममा उभिनुभएको थियो, हामीसँग र सदनमा चार वटा प्रतिबद्धता गर्नुभएको थियो, त्यो भनेको भ्रष्टाचार निर्मूल पार्छु, विधिको शासन लागु गर्छु, संविधान संशोधन गर्छु र आर्थिक प्रगतिको लागि महत्त्वपूर्ण कदम चाल्छु भन्नुभएको थियो । यी प्रतिबद्धतामा सरकारले कहीँ कतै केही गरेको छैन ।’

साक्षात्कारलाई सम्बोधन गर्दै उनले अहिले भ्रष्टाचार तलसम्म व्याप्त भएको र मुलुकमा विधिको शासनसमेत नभएको टिप्पणी गरे । उनले भने,‘कुलमानलाई किन हटाइयो ? संविधान संशोधनसम्बन्धी केही काम भएन । आर्थिक रूपमा प्रगतितर्फ लैजान्छु भन्नुभयो, तर आर्थिक अगतितर्फ लागिरहेका छौँ । उहाँले गर्नुभएको चार वटा कुरा पूरा नगरेको कारण हामीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो । यो सरकारले राम्रो काम गरेको याद छैन । हामी सरकारमा थिएनौँ । तर, समर्थन मात्रै थियो । त्यही पनि यो सरकारले गरेका नराम्रा कामको अपजस लिनुपरेको थियो । अब त्यसबाट मुक्ति मिलेको छ । जसपा नेपालले अब रचनात्मक भूमिका निर्वाह गर्छ । हामी प्रतिपक्षमा बसेर रचनात्मक भूमिका खेल्छौँ ।’

तर, प्रतिपक्षमा बस्दैमा नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय स्वतन्त्र पार्टीसँग भने नलसपसिने उनको टिप्पणी छ । उनले भने,‘हामी माओवादी र रास्वपासँग लस्पसिँदैनौं । हामी माओवादीसँग कुनै मोर्चा बनाउँदैनौ । तर, इस्युवाईज हामी विपक्षी गठबन्धनमा रहन सक्छौँ ।’

सरकारमा सहभागी नागरिक उन्मुक्ति पार्टीले पनि आजै सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको स्मरण गराउँदै यो सरकारसँग कांग्रेस र एमालेकै नेताहरू पनि असन्तुष्ट रहेको बताए । उनले भने,‘नाउपाले पनि समर्थन फिर्ता लिने निर्णय गरेको छ । शेरबहादुर देउवाले एक्लै कांग्रेसको तर्फबाट सरकारलाई थेगेकोजस्तो लाग्छ । एमालेकै साथीहरू पनि भित्रभित्रै पनि यो सरकारको विकल्पमा छन् । नत्र एमालेको नेतृत्वको विकल्प किन खोज्थे ? सत्ता गठबन्धनका दलहरू पनि यो सरकारसँग खुसी छैनन्, कांग्रेसभित्र उकुसमुकुस देखिएको छ । एमालेभित्र पनि उकुसमुकुस देखिएको छ ।’

उनले मुद्दा र समान विचारको कारण सङ्घीय लोकतान्त्रिक मोर्चा बनेको र त्यसमा आफ्नो दल पनि आबद्ध रहेको बताए । उनले सरकारलाई अवरोध गर्नको लागि सङ्घीय लोकतान्त्रिक मोर्चा भने नबनेको स्पष्ट पारे । उनले भने,‘हामी समान विचार र उद्देश्य राख्ने दलहरूको यो मोर्चा बनेको हो । बेथितिहरूको सुधारको लागि पनि यो मोर्चा बनेको हो ।’ उनले मुलुक आर्थिक रूपले थिलथिलो रहेको बताए । उनले भने,‘कहीँ कतै राम्रो वातावरण बनेको छैन ।’

फरक प्रसङ्गमा उनले मधेस प्रदेशको धनुषाको स्कुलमा चीनले पानी वितरण गरेको विषयमा केन्द्र, प्रदेश र स्थानीय सरकारसँग अनुमति लिएको हो कि होइन भनेर जिज्ञासा राखेका छन् । उनले भने,‘चाहे त्यो भारतले वा चीनले हाम्रो भूभागमा सहयोग गर्न किन नखोजोस्, नेपाल सरकारसँग, मधेस प्रदेश सरकारसँग, स्थानीय तहसँग सहमति लिएर वितरण गर्नुपर्छ । अनुमति नलिएको हो भने आन्तरिक रूपमा हस्तक्षेप गरेको मानिन्छ ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप