‘सरकारलाई किन र केका लागि समर्थन गर्ने ? भन्ने गम्भीर प्रश्न उठ्यो’
काठमाडौँ । जनता समाजवादी पार्टी नेपालले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ । यद्यपि, पार्टीको संसदीय दलको औपचारिक निर्णय भने हुन बाँकी छ ।
सरकारले आफ्ना प्रतिबद्धता पूरा गर्न नसकेको, देशमा बेथिति बढ्दै गएको, भ्रष्टाचार हटाउन र सुशासन कायम गर्न नसकेको जस्ता आरोप पार्टीले लगाएको छ । दुई ठुला पार्टी मिलेर सरकार बने पनि यो सरकार जुनसुकै वेला विस्फोट हुन सक्ने उक्त पार्टीका अध्यक्ष उपेन्द्र यादव दाबी गर्छन् । सरकार सही दिशामा नगएकाले आफूहरूले समर्थन दिएर बस्न नसक्ने पनि उनले स्पष्ट पारिसकेका छन् ।
उनै यादवलाई हामीले सरकारलाई किन समर्थन दिनुभयो र किन फिर्ता लिनुभयो ? सरकारसँगको विश्वासमा किन कमी आयो ? यसमा कसको दोष छ ? यस्तै सन्दर्भमा रहेर प्रश्न गरेका छौँ । प्रस्तुत छ, रातोपाटीका लागि एसके यादवले गरेको कुराकानीको सम्पादित अंश:
- सरकारलाई दिएको समर्थन फिर्ता लिनुको कारणहरू के–के हुन् ?
– हामीले बाहिरै बसेर समर्थन मात्र गरेका थियौँ । सरकारले हामीसँग समर्थन माग्दा हामीले ‘केका लागि?’ भनेर प्रस्ट सोधेका थियौँ र हामी सरकारमा जाँदैनौँ भनेका थियौँ । त्यो समर्थनका पछाडि मुख्य चार कारण थिए । पहिलो, सुशासन थियो । मुलुकमा धेरै बेथिति र अराजकता बढेकाले अब सुशासन दिन्छौँ, तपाईँहरूले समर्थन गर्नुहोस् भनेर कांग्रेस र एमाले गठबन्धनले भनेको थियो ।
दोस्रो कारण, मुलुकको अर्थतन्त्र थियो । वैदेशिक ऋण मात्रै बढ्ने तर उत्पादन नबढ्ने र आर्थिक रूपले मुलुक धराशायी हुँदै जाँदा अर्थतन्त्रलाई हामी सुधार्छौँ र सही बाटोमा ल्याउँछौँ भनेका थिए । तेस्रो कुरा, उहाँहरूले भ्रष्टाचार, कमिसनतन्त्र, लुटतन्त्र र बिचौलियातन्त्र नियन्त्रण गर्छौँ भनेका थिए ।
_7HBrQmsQ2a.jpg)
अनि चौथो कुरा, संविधान संशोधन थियो । यी चारै कुरा मुलुकलाई चाहिने थिए र हाम्रा पनि एजेन्डा हुन् । ‘ल, त्यसो हो भने हामी साथ दिन्छौँ, तर बाहिरबाट हाम्रो समर्थन रहन्छ, सरकारमा जाँदैनौँ’ भन्यौँ । एक वर्षसम्म साथ दियौँ, तर एक वर्षमा यी चारवटै प्रतिबद्धतामा नतिजा शून्य देखियो । सुशासनको ठाउँमा बरु कुशासन र अराजकता बढ्यो । दण्डहीनता बढेर गयो । कानुनी राज्यको अत्तोपत्तो छैन । मुलुकको अर्थतन्त्र त झन् धराशायी भएर गयो । सरकारले संसद्मा प्रस्तुत गरेको आर्थिक सर्वेक्षणले नै देश आर्थिक रूपले दिवालिया हुने बाटोमा गएको देखाउँछ । धन्य, वैदेशिक रोजगारमा गएकाहरूले पठाएको रेमिटेन्सबाट मात्र देश चलेको छ । देशको त बेहाल भयो, त्यसमा कुनै सुधार हुन सकेन ।
भ्रष्टाचार र कमिसनतन्त्रको खेल अझ बढेर गएको छ । अहिलेसम्म सरकारले संविधान संशोधनसँग सम्बन्धित कुनै कार्य गरेको छैन । कहिले भाषणमा ‘हामी गर्छौँ’ भन्छन्, कहिले ‘८७ पछि गर्छौँ’ भन्छन् । यो त जनतालाई ढाँट्ने कुरा भयो । सरकार आफैँले गरेको प्रतिबद्धतामा अगाडि बढेन । अब के गर्ने त ? हामीले सरकारलाई किन र केका लागि समर्थन गर्ने? भन्ने गम्भीर प्रश्न उठ्यो । त्यसैले पार्टीबाट निर्णय गरेर हामीले सरकारबाट समर्थन फिर्ता लियौँ ।
एमालेको साथमा कांग्रेस भएपछि केही काम हुन्छ कि भनेर हामीले अनुमान गरेका थियौँ । सरकारले राम्रो काम गरोस् भनेर अवसरको रूपमा उहाँलाई साथ दिएको हो । तर त्यसको दुरुपयोग मात्रै भयो, सदुपयोग केही पनि हुन सकेन ।
- यो एक वर्षमा ती चारवटा कुरा पूरा गराउन तपाईँहरूले के–के प्रयास गर्नुभयो ?
– हामी सरकारमा थिएनौँ । हामीले विभिन्न बैठकहरूमा, संसद्मा र विभिन्न मञ्चबाट सरकारले गरेका प्रतिबद्धताहरूबारे कुरा उठायौं, तर त्यसको कुनै सुनुवाइ भएन । उहाँहरूले स्वयंले गरेको प्रतिबद्धता आफैँले पूरा गर्नुपर्ने हो, तर त्यसमा उहाँहरूको कुनै रुचि नै देखिएन । अर्को कुरा, हाम्रो समर्थनले हुनेवाला पनि केही थिएन । समर्थन गरे पनि नगरे पनि उस्तै हो । कांग्रेस र एमाले पहिलो र दोस्रो पार्टी मिलेपछि दुई–तिहाइ बहुमतको नजिक हुनुहुन्छ । हाम्रो सानो समर्थनले केही हुनेवाला पनि छैन, केही बिग्रिनेवाला पनि छैन, केही बन्नेवाला पनि छैन । उल्टै जनताको नजरमा हामी पनि मतियार हुन्छौँ । यो अवस्था आएपछि पार्टीको कार्यकारिणी समितिको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गर्यो । अब चाँडै संसदीय दलको बैठक बसेर औपचारिक पत्र पठाएर समर्थन फिर्ता लिन्छौँ ।
- विगतमा एमालेको क्रियाकलाप हेरेर आन्दोलन गरेर सरकार नै ढाल्नुभयो, फेरि उसैको नेतृत्वको सरकारलाई किन समर्थन दिनुभयो ?
– यसअघि प्रधानमन्त्री रहेकै वेला केपी ओलीले संसद् विघटन गर्नुभएको थियो । त्यसविरुद्ध हामी कांग्रेसलगायत दलहरू मिलेर आन्दोलन गरेका थियौँ । त्यसपछि सर्वोच्च अदालतले संसद् विघटनको विरुद्धमा फैसला सुनायो र ओली सरकार छाड्न बाध्य हुनुभयो । अहिले फेरि उहाँ सरकार बनाउँदा सुध्रिएर आउनुभयो कि, देश र जनताका लागि केही गर्नुहुन्छ कि भन्ने हामीलाई लाग्यो ।
अर्को कुरा, एमालेसँग कांग्रेस पनि थियो । एमालेको साथमा कांग्रेस भएपछि केही काम हुन्छ कि भनेर हामीले अनुमान गरेका थियौँ । सरकारले राम्रो काम गरोस् भनेर अवसरको रूपमा उहाँलाई साथ दिएको हो । तर त्यसको दुरुपयोग मात्रै भयो, सदुपयोग केही पनि हुन सकेन । त्यही भएर हामीले सरकारबाट समर्थन फिर्ता लियौँ ।
- यो एक वर्षमा सरकारले जे–जति काम गर्यो, जस्ता बेथितिहरू बाहिर आए, त्यसको जस–अपजस तपाईँलाई लाग्छ कि लाग्दैन ?
– हामी सरकारमा छैनौँ । सरकारको नेतृत्व त हामीले गरेका छैनौँ, न त हामी भागीदार नै छौँ । हामीले त बाहिरबाट समर्थन मात्र गरेको हो, ‘ल, काम गर, हामी सपोर्ट गर्छौँ’ भनेको हो । जसले सरकारको नेतृत्व गर्छ, जसले नीति निर्माण गर्छ, जसले बजेट बनाउँछ र कानुन विधेयकहरू तयार गर्छ, त्यो त राज्यको नेतृत्व गर्ने पार्टी र सरकारले हो । त्यसैले यसको जस–अपजस उसैले लिनुपर्छ ।
_AfBLzQ7jLJ.jpg)
- देशका ठुलाठुला नेताहरू जोडिएका बेथितिहरू लाइन लागेर बाहिर आइरहेका छन् । पछिल्लो समय यी बेथितिहरू किन बढे ?
– होइन, यो कुनै नयाँ कुरा होइन । यो वर्षौँदेखि हुँदै आएको हो, तर पहिले बाहिर आइरहेको थिएन । यस्ता बेथितिहरू पहिला पनि हुन्थे तर तिनलाई दबाइन्थ्यो, लुकाइन्थ्यो । अहिले सामाजिक सञ्जाल र मिडिया जगत अलि बढी सचेत भएकाले यी कुराहरू बाहिर आएका हुन् । त्यसैले अहिले बढी भएको हो कि जस्तो देखिएको छ । पहिला मिडिया जगत् यति सजग थिएन, जति अहिले छ । सामाजिक सञ्जाल यति परिपक्व भइसकेको थिएन, जति अहिले देखिन्छ । त्यसैले यो बाहिर आएको हो ।
ठिक छ, बाहिर आयो । बाहिर आएका सबै कुरा सत्य वा सबै असत्य हुन्छन् भन्नु हुँदैन । तर सत्य र तथ्य के हो ? त्योचाहिँ सरकारले जनतासमक्ष राख्नुपर्छ । त्यो नराख्दा र ढाकछोप गर्दा असत्य पनि सत्य हो जस्तो लाग्छ र सत्य पनि हराएर जान्छ । सरकारले यसमा गम्भीरताका साथ छानबिन गर्नुपर्छ ।
- अहिले प्रायः घटनालाई ढाकछोप गरेको देखिन्छ, किन ?
– रोगलाई ढाक्यो भने, छोप्यो भने के हुन्छ ? अझ फैलिएर जान्छ र त्यसले थप विषाक्त बनाइदिन्छ । यस्ता घटनाहरूलाई विषाक्त बनाउनु हुँदैन, निको पार्ने प्रयास गर्नुपर्छ ।
कुनै पनि व्यवस्था राम्रो वा नराम्रो, यदि त्यसले जनताको आकाङ्क्षालाई सम्बोधन गर्छ भने जनताले त्यसलाई नै रुचाउँछन् ।
- यो विषाक्तताले गर्दा देश र व्यवस्थाप्रति जनताको सोच र दृष्टिकोण पनि परिवर्तन हुन सक्छ, होइन?
– जनताको दृष्टिकोण त परिवर्तन भइरहेको छ । हिजोको दिनमा कांग्रेस–कम्युनिस्ट भन्ने बित्तिकै जनता बलिदान दिनसमेत तयार भए, ठुलो सङ्घर्ष पनि गरे । आज जनता त छोड्दिनुस्, आफ्नै नेता–कार्यकर्ताले ती पार्टी र सरकार असफल भइसके, नेतृत्व असफल भइसक्यो जस्ता गम्भीर आरोप लगाउन थालेका छन् । भ्रष्टाचारमा देश डुब्यो, कमिसनतन्त्रमा देश डुब्यो भन्ने कुरा सत्तारुढ दलहरूकै नेताहरूको मुखबाट आइरहेको छ । भनेपछि त जनतामा झन् ठुलो आक्रोश छ ।
अहिले जनतामा जुन आक्रोश छ, यस्तो आक्रोश सरकार र पार्टीहरूप्रति कहिल्यै देखिएको थिएन । त्यो हुनुको कारण सरकारमा देखिएको अपारदर्शिता, सुशासनको कमी र जनताले भोगिरहेका समस्याप्रति बेवास्ता हो ।
- व्यवस्था परिवर्तनतिर जनताको मुड जान सक्छ कि सक्दैन ?
– कुनै पनि व्यवस्था राम्रो वा नराम्रो, यदि त्यसले जनताको आकाङ्क्षालाई सम्बोधन गर्छ भने जनताले त्यसलाई नै रुचाउँछन् । सैद्धान्तिक रूपमा व्यवस्थालाई राम्रो भन्ने तर जनता गरिबी, बेरोजगारी, भ्रष्टाचार र अशिक्षाले पिल्सिएका छन् भने उनीहरूले राम्रो व्यवस्था छ भनेर अनुभूति नै गर्न पाउँदैनन् । राम्रै व्यवस्था भए पनि जनताले त्यसलाई रुचाएनन् भने त्यो काम लाग्दैन । धेरै देशहरूमा राम्रा व्यवस्थाहरू थिए, तर जनताले अनुभूति गर्न नपाएपछि त्यसलाई फालिदिए ।
- अहिलेको व्यवस्था फालिने अवस्था कत्तिको देख्नुभएको छ तपाईंले ?
– यो व्यवस्था जनताले सङ्घर्ष गरेर नै ल्याएका हुन् । तर यो व्यवस्थामाथि खतरा नेताहरूबाटै छ, खास गरी कांग्रेस–कम्युनिस्टका भ्रष्ट नेताहरूबाट । बाहिरबाट कुनै खतरा छैन ।
- मबाट पनि गल्ती भयो जस्तो तपाईँलाई लाग्दैन ? तपाईँको कारणले पनि व्यवस्थामाथि खतरा भएको होइन र ?
– हामी देशको नेतृत्वमा र नीति निर्माण गर्ने ठाउँमा पुगेका छैनौँ । हामीले कहिले सरकारमा रहेर, कहिले बाहिरबाट सहयोगीको भूमिका निर्वाह गर्यौँ । एकाध मन्त्रालय पाउँथ्यौँ, कहिले दुई महिना त कहिले पाँच–छ महिना सरकारमा बस्थ्यौँ, त्यसभन्दा बढी कहिल्यै भएन । त्यसले गर्दा हामी पनि दोषी छौँ भन्ने कुरालाई स्वीकार गर्छौँ, हामीबाट पनि कमीकमजोरी भएको होला ।
हामी अहिले विकल्प बनिसकेका छैनौं, तर विकल्प बन्ने प्रयास गरिरहेका छौँ । हामीबाट पनि केही कमीकमजोरी भएका छन् ।
तर मुख्य जो ड्राइभिङ सिटमा बसेको हुन्छ, त्यसले गाडीलाई जता पनि लैजान सक्छ । यदि मिसड्राइभ भयो भने दुर्घटना हुन्छ र त्यसको जिम्मेवारी ड्राइभरको हुन्छ, सहयोगी वा खलासीको हुँदैन । कांग्रेस–कम्युनिस्टले लामो समयदेखि राज्य सञ्चालन गरेका छन्, तर उनीहरू राज्य सञ्चालनमा असफल भएका छन् । त्यसैको परिणाम अहिले देखिएको छ ।
३५ वर्ष अगाडि देशमा प्रशस्त उद्योगधन्दा थिए, शिक्षा, स्वास्थ्य क्षेत्र पनि ठिकठाक चलिरहेको थियो । तर जब कांग्रेस–कम्युनिस्टको हातमा देश आयो, अवस्था यस्तो भयो । व्यवस्था ठिकठाक भए पनि ड्राइभर ठिक भएन । उद्योगधन्दा सबै बन्द भए, शिक्षा चौपट भयो, स्वास्थ्य खतम भयो, गरिबी र बेरोजगारी बढेर गयो । युवापिँढीले नेपालमा आफ्नो भविष्य देख्न छाडे । यो राज्य नै असफल भएको जस्तै हो ।
- तपाईंले ड्राइभर सिटको कुरा गर्नुभयो, तपाईँहरू पनि १७–१८ वर्षदेखि निरन्तर मूलधारको राजनीतिमा हुनुहुन्छ । ड्राइभर सिटमा पुग्न अझै कति लामो यात्रा तय गर्नुपर्छ ?
– यो जनतामा निर्भर गर्ने कुरा हो । जनताले हामीलाई जुन म्यान्डेट दिएका छन्, हामीले पाएको म्यान्डेट र हैसियतअनुसार भूमिका खेलिरहेका छौँ । ३५ वर्षको अवधिमा न देशको समस्या हल हुन सक्यो, न त आर्थिक विकास र समृद्धि नै अगाडि बढ्यो । देशका जनताले बेरोजगारी, अशिक्षा, गरिबी, अराजकता, कमिसनतन्त्र र भ्रष्टाचार मात्र पाए । अब जनताले यसलाई कति दिनसम्म बोक्छन्, यो मुख्य प्रश्न हो । व्यवस्थाको भित्रबाट सुधारको कार्य नगर्ने हो भने जनताको आन्दोलन अर्कोतिर पनि जान सक्छ ।
- जसरी तपाईंले भन्नुभयो, ‘जनताको आक्रोश कांग्रेस–कम्युनिस्टप्रति छ।,’ त्यसरी नै तपाईंहरूको पार्टीप्रति जनताको आकर्षण र विश्वास पनि कम हुँदै गएको होइन र ?
– हामी अहिले विकल्प बनिसकेका छैनौं, तर विकल्प बन्ने प्रयास गरिरहेका छौँ । हामीबाट पनि केही कमीकमजोरी भएका छन् । अहिले जनता विकल्प खोजिरहेका छन् तर त्यो पाइरहेका छैनन् । यस्तो अवस्थामा विस्फोट हुन्छ । यदि विस्फोट भयो भने हामीले कल्पनै नगरेका व्यक्ति र शक्ति आउन सक्छन् । उदाहरण हेरौं न, पहिलो संविधानसभामा माओवादी ठुलो परिवर्तनकारी शक्ति भएर आयो । तर दोस्रो संविधानसभाको चुनाव गराउन बहालवाला प्रधानन्यायाधीशलाई सरकारको नेतृत्व सुम्पिनुपर्यो । यस्तो हुन्छ भनेर कसैले कल्पना गरेको थियो ?
बंगलादेशमा शेख हसिनाको शक्तिशाली पार्टी थियो, अर्को खालिदा जियाको बीएनपी । जब जनता सडकमा आए, ठुलो क्रान्ति भयो । ती दुई तिहाइको सरकार, संवैधानिक निकाय, सेना, प्रहरी सबै कब्जामा लिएका शक्तिहरू कहाँ भागे, अत्तोपत्तो छैन । श्रीलंकामा दुई तिहाइ बहुमत पाएको सरकारको कामकाजबाट आजित भएर जनता सडकमा उत्रिए, अनि नेताहरू र मन्त्रीहरू भागाभाग भए । त्यसकारण, खास गरी कांग्रेस–कम्युनिस्टले ‘जनताले हामीलाई भोट दिइहाल्छन्, जनता हाम्रा दास हुन्, हामी मालिक र शासक हौँ, जे गरे पनि हुन्छ’ भनेर हेप्न थाल्यो भने यहाँ पनि विस्फोट हुन्छ ।
अहिलेको मुलुकको बेहाल हुनुको कारण गलत नीति नै हो । विगत ३५ वर्षदेखि कांग्रेस–कम्युनिस्टले ल्याएको गलत नीतिको कारण देशको अवस्था यस्तो भएको हो ।
- भनेपछि श्रीलंका र बंगलादेशजस्तो हुन्छ देश ?
– त्योभन्दा भयंकर हुन सक्छ । त्यो विस्फोटले मुलुकलाई कता लान्छ, कुन शक्ति आउने हो, कता जाने हो, भन्ने कुरा अनुमान गर्न सकिन्न । तर एउटा कुरा पक्का छ, त्यतिखेर अहिलेका नेता र पार्टीका हातमा केही पनि रहँदैन । यस्तै अवस्था रहे मुलुक नै नरहन पनि सक्छ । त्यसैले यो मैले तर्साएको होइन, मौका छ, पहिला आफू सुध्र, अनि मुलुकमा सुधार गर र जनताको हितमा काम गर भनेको हो ।
- यो अवस्था आउनुमा मुख्य दोषी कांग्रेस, एमाले, माओवादी मात्र हुन् कि अरू पनि छन् ?
– जसले ड्राइभिङ सिटमा बस्छ, सरकारको नेतृत्व गर्छ, बजेट र नीति कार्यक्रम बनाउँछ, देश उसैको हातमा हुन्छ । उही शासक हुन्छ । देशलाई ठिकठाक सञ्चालन गर्ने र जनतालाई सुविधा दिने दायित्व उसकै हुन्छ । उनीहरू नै गलत भए, नीति नै गलत आयो, काम गर्ने व्यक्तिहरू सही भएनन् भने मुलुक बर्बाद हुन्छ ।
अहिलेको मुलुकको बेहाल हुनुको कारण गलत नीति नै हो । विगत ३५ वर्षदेखि कांग्रेस–कम्युनिस्टले ल्याएको गलत नीतिको कारण देशको अवस्था यस्तो भएको हो । नेपालमा अत्यधिक मुनाफामा रहेका १८० वटा उद्योगहरू थिए, तर कांग्रेस–कम्युनिस्टले निजीकरण र उदारीकरणको जुन नीति ल्यायो, त्यसले देशलाई कहाँ पुर्यायो ? सारा उद्योग ध्वस्त, युवा–युवती खाडीमा, देश वैदेशिक ऋणमा । यो त गलत नीतिको परिणाम हो नि ।
- अहिलेको परिणाममा भू–राजनीतिको प्रभाव कस्तो पाउनु भएको छ ?
– प्रभावभन्दा पनि नेपाल ऐतिहासिक रूपमा चुक्यो भन्नुपर्छ । यहाँका नेतृत्वको कमीकमजोरी र क्षमताको अभावले गर्दा नेपाल ठुलो अवसरबाट चुकेको छ । जसरी भारत र चीनले आर्थिक क्षेत्रमा प्रगति गरे, त्यो दुवैतर्फको प्रगतिबाट नेपालले फाइदा लिन सक्थ्यो । दुवै देशको विकासको साझेदार भएर आफूलाई समृद्ध बनाउने अवसर नेपालले गुमायो । त्यहाँ नेपाल चुक्यो, नेतृत्व असफल भयो । भारतजस्तो विशाल बजार र चीनजस्तो संसारको लगानी भएको ठाउँबाट हामीले आफ्नो मुलुकमा कृषिको आधुनिकीकरण, उद्योगधन्दाको विकास गरेर नेपाललाई समृद्ध बनाउन सक्थ्यौँ, तर त्यस्तो सोच भएका नेता नै भएनन् ।
- यी सबै कुरा सुधार गर्न त राज्य पुनर्संरचना र नीति–नियम पुनर्लेखन गर्नुपर्छ जस्तो लाग्छ, होइन ?
– होइन, पहिलो कुरा त यो संविधान नै गलत बनाइयो । यो त्यसैको दुष्परिणाम हो । नेपालमा नेताहरूको लक्ष्य सत्ता र सरकारमा पुग्ने मात्रै रह्यो । एउटै व्यक्ति, एउटै जात, एउटै समुदायका व्यक्ति सत्ता र शक्तिमा रहे । अरू जात, समुदाय राज्यसत्ताबाट वञ्चित रहे । मुलुकले प्रतिभावान् व्यक्तिहरूको सेवा पाउन सकेन । संविधानमा समाजवाद उन्मुख लेखियो, तर नीति नवउदारवादी र पुँजीवादी बोकियो । त्यसैले देश पछाडि पर्यो ।
_CI69gaz09L.jpg)
- यी कुराहरू सुधार गर्न के गर्नुपर्छ ?
– पहिलो कुरा, ड्राइभिङ सिटमा जो बसेको छ, ऊ सुध्रिनुपर्यो । गलत नीतिलाई त्यागेर नीतिगत सुधार गर्नुपर्यो । मुलुकको संरचनागत सुधार गर्ने, कार्यप्रणाली सुधार्ने र नेतृत्वले देशका लागि त्याग गर्न सक्नुपर्छ । अनि मात्रै देशले गति लिन्छ, नभए दुर्घटना हुन्छ ।
- तपाईंले सरकारबाट समर्थन फिर्ता लिनुभयो, अब संसद्मा तपाईँको भूमिका के हुन्छ ?
– हामी रचनात्मक भूमिकामा हुन्छौँ । राम्रा कामलाई सहयोग गर्छौँ र नराम्रोको विरोध गर्छौँ । सरकारबाट समर्थन फिर्ता लिने निर्णय पार्टीबाट भइसकेको छ । अब संसदीय दलले निर्णय गरेर सभामुखलाई जानकारी दिएपछि हामी विपक्षी बेन्चमा बस्छौँ ।
- त्यसो भए अब प्रचण्डसँग सहकार्य हुने भयो, होइन ?
– प्रचण्डजीसँग सहकार्य अहिलेको स्थितिमा सम्भवै छैन । उहाँमाथि कसरी विश्वास गर्ने ? छेपारोलाई रङ बदल्न केही समय लाग्छ, तर उहाँलाई त त्यो समय पनि लाग्दैन । उहाँको बोली, कार्य र नीतिको विश्वासै भएन । उहाँ अहिले नेपालको राजनीतिमा सबैभन्दा अविश्वसनीय पात्रको रूपमा हुनुहुन्छ । कसरी विश्वास गर्ने र सहकार्य गर्ने ? यो गम्भीर प्रश्नको समाधान नभईकन सहकार्य सम्भव नै छैन ।
- यो विषयमा प्रचण्डसँग संवाद हुन्छ कि हुँदैन ?
– अहिले कुनै संवाद भएको छैन, न त संवादको आवश्यकता नै छ । उहाँले धोका नदिएको कुन पार्टी, कुन नेता छ ? कांग्रेस, एमाले, जनयुद्धका योद्धाहरू, सबैलाई धोका दिनुभएको छ । त्यो चरित्रमा परिवर्तन नआईकन कसरी विश्वास गर्ने र कसरी सहकार्य गर्ने ? अहिलेको अवस्थामा यो सम्भव छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण