बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

नयाँ पार्टी खोल्ने मस्कको निर्णयलाई ट्रम्पले भने ‘वाहियात’

सोमबार, २३ असार २०८२, ११ : ३६
सोमबार, २३ असार २०८२

सारांश

  • खर्बपति एलन मस्कले नयाँ राजनीतिक दल खोल्ने विषयमा ट्रम्पको प्रतिक्रिया आएको छ, जसले तेस्रो दल खोल्नुलाई वाहियात मानेका छन्।
  • मस्कले अमेरिकामा नयाँ राजनीतिक दल 'अमेरिका पार्टी' खोल्ने घोषणा गरेका छन्, जसलाई ट्रम्पले अमेरिकी प्रणालीको लागि उपयुक्त नभएको बताए।
  • सर्वेक्षणमा ६६% सहभागीले नयाँ दल चाहेको बताएपछि मस्कले २ दलीय प्रणालीबाट मुक्ति दिलाउने दाबी गरेका छन्, तर उनी चुनाव लड्न अयोग्य छन्।

वासिङ्टन डीसी । खर्बपति व्यापारी तथा कुनै समयका निकट मित्र एलन मस्कले नयाँ राजनीतिक दल खोलेको विषयमा अन्ततः अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रतिक्रिया दिएका छन् । ‘मलाई लाग्छ कि तेस्रो पार्टी खोल्नु भनेको वाहियात कुरा हो ।’

आइतबार एयर फोर्स वनमा चढ्नुअघि पत्रकारहरूसँग बोल्ने क्रममा ट्रम्पले भनेका थिए । अमेरिकामा सधैँ दुई दल मात्रै भएको अनि तेस्रो दल सुरु गर्नु भनेको द्विविधा थप्नु मात्रै हुने उनले बताए । पछिल्लो पाँच हप्तायता मस्क पूर्ण रूपमा पटरीबाट झरेर अनियन्त्रित रेल जस्तै भएको भन्दै उनले यो देखेर आफूलाई दुःख लागेको बताए । 

मस्कले अब अमेरिकामा तेस्रो राजनीतिक दल सुरु गर्न चाहेको यो अमेरिकी इतिहासमा कहिल्यै सफल नभएको समेत उनको भनाइ छ ।  ट्रम्पले भनेका छन्, ‘अमेरिकाको प्रणाली त्यस्ता दलहरूको लागि बनेको होइन ।

तेस्रो दलहरूको एक मात्र काम अव्यवस्था र अराजकता फैलाउनु हो । र हामीसँग पहिले नै पर्याप्त अराजकता छ, जुन कट्टरपन्थी वामपन्थी डेमोक्रेटहरूले फैलाइरहेका छन् ।’

मस्कले शनिबार अमेरिकामा नयाँ राजनीतिक दल गठनको घोषणा गरेका थिए । उनले यसलाई अमेरिका पार्टी नाम दिएका छन् । मस्कले बारम्बार अमेरिकाको राष्ट्रिय कर्जा बढाउने सरकारी नीतिको आलोचना गर्दै आएका थिए ।

यसैबिच ट्रम्पसँग उनको सम्बन्ध तिक्त भयो । मस्कले आइतबार आफ्नो सामाजिक पोस्टमा अमेरिकामा नयाँ पार्टी चाहिन्छ कि चाहिँदैन भनेर सर्वेक्षण चलाएका थिए । यसमा सहभागीमध्ये ६६ % ले नयाँ राजनीतिक दल चाहेको बताएका थिए ।

सो सर्वेक्षणको नतिजापछि मस्कले नयाँ राजनीतिक दल पाउने भन्दै अमेरिकाले अब २ दलीय प्रणालीबाट मुक्ति पाउने बताएका थिए । देशलाई बर्बाद गर्ने र भ्रष्टाचार गर्नेमा उनले अमेरिकाका दुवै दल रिपब्लिकन र डेमोक्रेटको नाम लिएका थिए । 

अमेरिकीहरूले स्वतन्त्रता फिर्ता पाउन भनेर अमेरिका पार्टी नामको राजनीतिक दलको गठन हुन लागेको पनि उनले पोस्टमै भनेका थिए । मस्कले अमेरिकाको स्वतन्त्रता दिवस पारेर जुलाई ४ मा माइक्रो ब्लगिङ वेबसाइट एक्समा एउटा सर्वेक्षण चलाएका थिए ।

यसमा उनले सोधे कि के तपाईं दुई–दलीय प्रणालीबाट स्वतन्त्रता चाहनुहुन्छ ? के हामीले अमेरिका पार्टी बनाउनुपर्छ ? भन्ने प्रश्न सोधेका थिए । सर्वेक्षणको नतिजामा ६५ दशमलव ४ प्रतिशतले चाहिन्छ र ३४ दशमलव ६ प्रतिशतले चाहिँदैन भनेका थिए । 

चुनाव लड्न पाउँदैनन् मस्क 

अमेरिकी संविधानअनुसार अमेरिकामा जन्मेको व्यक्तिले मात्र चुनाव लड्न सक्छ । मस्क दक्षिण अफ्रिकामा जन्मेका थिए । यस्तोमा उनी अमेरिकामा चुनाव लड्न सक्दैनन् । तर मस्कले आफ्ना उम्मेदवारहरू खडा गर्न सक्छन् ।

२०२६ नोभेम्बर मा प्रतिनिधिसभाको सबै ४३५ सिट र सिनेटको १०० मध्ये ३४ सिटको लागि चुनाव हुनेछ । मस्कको योजना प्रतिनिधिसभाको ८–१० सिट र सिनेटको ३–४ सिट जित्ने छ । यसो भयो भने उनी ‘किङ्गमेकर’ बन्न सक्नेछन् । 

२०२४ को राष्ट्रपति चुनावमा मस्कले ट्रम्पको चुनावी अभियानलाई करोडौं डलर दान दिएका थिए । ट्रम्पले मस्कलाई सङ्घीय सरकारको खर्च घटाउने नयाँ विभाग डजको प्रमुख बनाएका थिए ।

कार्यकाल बाँकी रहँदै मस्क त्यसबाट अलग भएर ट्रम्पको ‘बिग ब्युटिफूल’ विधेयकको विरोध गर्न थाले । त्यसयता दुवैको सम्बन्ध बिग्रिएको छ ।  

के हो अमेरिकाको दुई–दलीय प्रणाली ?

पछिल्लो १५० वर्षदेखि अमेरिकाको राजनीतिमा केवल दुई दल डेमोक्रेटिक र रिपब्लिकनले प्रभुत्व जमाएका छन् । देशमा राष्ट्रपति चुनावदेखि राज्य सभाहरूसम्म यी दुई दलहरूको प्रभुत्व छ । यो दुई–दलीय प्रणालीलाई अमेरिकी लोकतन्त्रको स्थिरताको कारण पनि मानिन्छ ।

डेमोक्रेटिक पार्टी सन् १८२८ मा एन्ड्रयू ज्याक्सनको युगमा सुरु भएको थियो । यसलाई सुरुमा किसान र आम जनताको पार्टी मानिन्थ्यो । २० औँ शताब्दीमा यो सामाजिक कल्याण, नयाँ सम्झौता र नागरिक अधिकारजस्ता आर्थिक सुधारहरूको वकालत गर्ने पार्टी बन्यो ।

त्यही समयमा दासत्वको विरोधमा १८५४ मा रिपब्लिकन पार्टी गठन भएको थियो र अब्राहम लिङ्कन यसको पहिलो राष्ट्रपति बने । २० औँ शताब्दीमा यो व्यापार र कर कटौतीलाई समर्थन गर्ने पार्टी बन्यो । 

किन सफल भएनन् तेस्रो दल ?

अमेरिकामा तेस्रो दल त धेरै पटक गठन भए, तर तिनीहरू सफल हुन सकेनन् । १९१२ मा राष्ट्रपति थियोडोर रुजवेल्टले बुल मूस पार्टी गठन गरे र ८८ इलेक्टोरल भोटहरू प्राप्त गरे । यद्यपि, पार्टी अर्को चुनावसम्म पनि टिक्न सकेन ।

१९९२ मा, रस पेरोटले १९% लोकप्रिय मत प्राप्त गरे, तर एउटै इलेक्टोरल भोट प्राप्त गरेनन् । यी दलहरूले मिडियामा कोष, सङ्गठन र ठाउँ पाउँदैनन् । मतदाताहरूले तिनीहरूलाई भोट कट्टर पनि मान्छन् ।

यही कारणले गर्दा लिबर्टेरियन वा ग्रिन पार्टी जस्ता दलहरूले अहिलेसम्म राष्ट्रपति चुनावमा ३–४% भन्दा बढी मत प्राप्त गर्न सकेका छैनन् । अमेरिकामा तेस्रो पार्टीहरूको असफलताको मुख्य कारण यसको निर्वाचन प्रणाली हो ।

यहाँको निर्वाचन संरचनाले दुई दलीय प्रणालीलाई समर्थन गर्दछ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप