देउवाको सन्देशले ओलीलाई राहत, प्रचण्डलाई आहत
सारांश
- नेपाली कांग्रेसका सभापति देउवाले वर्तमान सत्ता गठबन्धन पूरा समय चल्ने कुरा प्रष्ट पारेका छन्।
- कांग्रेस बैठकमा गठबन्धनको औचित्यमाथि प्रश्न उठे पनि देउवाको भनाइले एमालेलाई राहत मिलेको छ।
- माओवादी केन्द्रले सरकार ढल्ने आशङ्का गरिरहेको बेला देउवाको भनाइले प्रचण्डलाई धक्का लागेको छ।
काठमाडौँ । सत्तारुढ प्रमुख दल नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा भएको चर्चालाई लिएर वर्तमान सत्ता गठबन्धनको आयु सकिन लागेको हो कि भन्ने आशङ्का बढिरहेको समयमा कांग्रेस सभापति देउवाले तमाम आशङ्कामाथि पूर्णविराम लगाइदिएका छन् ।
केन्द्रीय कार्यसमिति बैठक समापन गर्दै कांग्रेस सभापति देउवाले वर्तमान सत्ता गठबन्धन पूरै समय जाने प्रस्ट पारे । देउवाको उक्त भनाइबाट प्रधानमन्त्री केपी शर्मा ओलीलाई राहत मिलेको छ भने गठबन्धन फेरिनेमा आशावादी रहेको माओवादी केन्द्रलाई आहत पुगेको छ ।
कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा अधिकांश नेताले ओली सरकारको कार्यशैली र गठबन्धनको औचित्यमाथि प्रश्न उठाएका थिए । नेपाली कांग्रेसका इतर पक्षका नेता डा. शेखर कोइरालाले कांग्रेस–एमाले गठबन्धनको सरकार बन्नुपर्छ भन्ने आफू नै रहेको दाबी गर्दै सरकारको नेतृत्वचाहिँ एमालेलाई किन दिइयो भन्नेबारे प्रश्न उठाएका थिए । ‘मैले कांग्रेसको नेतृत्वमा सरकार बन्नुपर्छ भनेको थिएँ । के कारणले कांग्रेसले एमालेलाई सत्ताको नेतृत्व दियो ? यदि संविधान संशोधनका लागि यो सत्ता गठबन्धन हो भने सात बुँदे सहमतिमा लेखिएको संविधान संशोधनको मुद्दा कहाँ पुग्यो ? सभापतिज्यूले यसको चित्तबुझ्दो जबाफ दिनुपर्छ,’ बैठकमा उनले भनेका थिए ।

गठबन्धनको औचित्यलाई लिएर कांग्रेस बैठकमा गरमागरम बहस भएपछि प्रधानमन्त्री ओलीसहित एमालेका नेताहरू सशङ्कित देखिन्थे । तर देउवाको पछिल्लो सन्देशले गठबन्धन झन् बलियो भएको एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले दाबी गरे । सरकारबारे आन्तरिक बैठकमा कुन नेताले के अभिव्यक्ति दियो भन्दा पनि पार्टी वा मूल नेतृत्वले कस्तो निर्णय गर्यो भन्ने महत्त्वपूर्ण हुने गौतमको जिकिर छ ।
‘कांग्रेसका सभापति शेरबहादुर देउवाको अभिव्यक्तिले गठबन्धन सरकार ढुक्कसँग २०८४ सम्म चल्छ भन्ने प्रस्ट सन्देश दिएको छ । कांग्रेसभित्र कुन नेताले के बोल्यो, त्यो मुख्य कुरा होइन,’ उनले भने, ‘गठबन्धन सरकारलाई अझ प्रभावकारी ढंगले अगाडि बढाउने विषयमा दुई पार्टी दृढ छन् । ढुक्कले पूरै समयसम्म यो गठबन्धन सरकार जान्छ । कांग्रेसको निर्णयबाट सत्ता गठबन्धन थप बलियो भएको छ ।’
देउवाको सन्देशले प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रलाई भने धक्का लागेको छ । ओली सरकार बनेको ‘डे वान’ देखि नै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धन लामो समय नजाने बताउँदै आएका थिए । सरकार ढल्ने/नढल्ने विषयमा प्रधानमन्त्री ओली र प्रचण्डबिच दोहोरी नै चल्दै आएको थियो ।

मध्यपहाडी लोकमार्ग केन्द्रित जागरण अभियानको क्रममा देउवाको गृह जिल्ला डडेल्धुराबाट प्रचण्डले देउवालाई गरेको फोन वार्ता होस् या देउवा थाइल्याण्ड भ्रमणमा जानेवेला टेलिफोन कुराकानी गरेर होस् ओलीमाथि प्रचण्डले मनोवैज्ञानिक दबाब सिर्जना गरेका थिए । बुढानीलकण्ठ र राष्ट्रपति भवन (शीतल निवास)मा देउवासँग गरेका भेटबाट पनि प्रचण्डले गठबन्धन तलमाथि हुने त होइन भन्ने आशङ्कालाई बढवा दिने प्रयास गरेका थिए ।
सानेपा बैठकमा कांग्रेस नेताहरूको बहसलाई लिएर हौसिएका माओवादीका उपाध्यक्ष तथा प्रवक्ता अग्निप्रसाद सापकोटाले असार १८ गते पत्रकार सम्मेलन गरी कांग्रेसकै कारण ओली सरकार धेरै समय नजाने जिकिर गरेका थिए ।
पछिल्लो समय देउवा र प्रचण्डबिच भएका औपचारिक र अनौपचारिक भेटघाट तथा गतिविधिका कारण ओली दबाबमा रहेको माओवादीको विश्लेषण थियो । संविधान संशोधन, त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा. केशरजंग बराल, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको बर्खास्ती, विपक्षी दलहरूमाथि दमन, नागरिकस्तरमा देखिएको चरम निराशालाई मुद्दा बनाएर सत्ता गठबन्धन टुटाउन सकिने विश्वास प्रचण्डको थियो ।
देउवाजीको सन्देशले सरकार ढाल्ने र राजनीतिक अस्थिरता सिर्जना गर्ने उहाँको योजना असफल भएको छ । अब गठबन्धनलाई थप प्रभावकारी बनाएर लैजान्छौँ ।
तर देउवाको स्पष्ट सन्देशका कारण प्रचण्डको सपनामाथि धक्का लागेको एमालेको बुझाइ छ । प्रचार विभाग प्रमुख गौतमका अनुसार देउवाको सन्देशले प्रचण्डको सरकार ढाल्ने सपनामा चकनाचुर भएको छ ।
‘प्रचण्डजी सरकार गठन भएदेखि नै भ्रम सिर्जना गरेर सरकार ढाल्ने खेलमा लाग्नुभएको थियो । सत्ता बाहिर हुँदा उहाँमा छटपटी थियो । एमाले र कांग्रेसबिच अविश्वास बढाएर सत्ता ढाल्न सकिन्छ कि भन्ने खेलमा लाग्नुभयो,’ उनले भने, ‘तर देउवाजीको सन्देशले सरकार ढाल्ने र राजनीतिक अस्थिरता सिर्जना गर्ने उहाँको योजना असफल भएको छ । अब गठबन्धनलाई थप प्रभावकारी बनाएर लैजान्छौँ ।’
सरकारको भविष्यबारे एमाले र माओवादीका नेताहरूले आ–आफ्ना धारणा सार्वजनिक गरिरहँदा मंगलबार ओली र देउवाबिच प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भएको छ ।

उपसभापति पूर्णबहादुर खड्का, गृहमन्त्री रमेश लेखकलाई लिएर कांग्रेसका सभापति देउवा बालुवाटार पुगेका थिए । एमालेबाट महासचिव शंकर पोखरेल र उपमहासचिव तथा प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमाल छलफलमा सहभागी थिए । सो अवसरमा कांग्रेस केन्द्रीय समितिको निर्णय, प्रधानमन्त्रीको स्पेन भ्रमण, संसद्मा जारी अवरोध, गठबन्धनलाई थप प्रभावकारी बनाउने विषयमा चर्चा भएको बुझिएको छ ।
प्रतिपक्ष दलले चाहेर मात्रै सत्ता समीकरण फेरबदल हुने अवस्था अहिले देखिँदैन । किनकि ओली र देउवा मिल्दासम्म गठबन्धन तलमाथि हुन सक्दैन । सत्ता समीकरण परिवर्तन गर्नका लागि आवश्यक सङ्ख्या विपक्षी दलहरूमा छैन । सरकारको भूमिकाप्रति असन्तुष्टि जनाउँदै सत्ताधारी दलहरू नागरिक उन्मुक्ति पार्टी(नाउपा)ले समर्थन फिर्ता लिएको छ । जनता समाजवादी पार्टी(जसपा) नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरिसकेको छ । यी दल सरकारबाट बाहिरिँदा पनि सरकारलाई संविधान संशोधनबाहेक अन्यमा केही फरक पर्दैन ।
कांग्रेसको आधिकारिक निर्णयमा पनि नेपालको तत्कालीन राजनीतिक विशेष परिस्थितिमा सरकार गठन सम्बन्धमा भएको नेपाली कांग्रेस र नेकपा एमाले बिचको ७ वुँदे सहमतिप्रति प्रतिबद्ध रहेको स्पष्ट पारेको छ । साथै सरकारको स्थायित्वका लागि जनभावना अनुसार वर्तमान सरकारले विकास, सुशासन एवं समुन्नतिका लागि थप प्रभावकारिताका साथ काम गर्नुपर्ने कुरामा बैठकले सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ ।
यद्यपि माओवादीले वर्तमान सरकार पूर्णरूपमा असफल भएको जिकिर गर्दै आएको छ । ओली सरकारलाई धेरै समय बोक्ने पक्षमा कांग्रेस नरहेको माओवादी केन्द्रका प्रवक्ता सापकोटाको जिकिर छ ।
‘गठबन्धनको औचित्यबारे कांग्रेस बैठकमा नेताहरूले उठाएका प्रश्न सम्बन्धमा हामीले भनेका हौँ । यो सरकार जनताको नजरमा पूर्ण रूपमा असफल भएको छ । नागरिकस्तरमा मात्र नभई कांग्रेस र एमालेभित्र उकुसमुकुस छ । देउवाजीको भनाइले ओलीलाई राहत मिल्यो कि आहत मिल्यो, अहिले नै भन्न सक्ने स्थिति छैन । तर कांग्रेसभित्र अधिकांश असन्तुष्ट छन्’, उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फोहोर सम्झिएर नफाल्नुहोस् तरकारी तथा फलफूलका बोक्रा र चियापत्ती
-
२० मेगावाटसम्मका आयोजना प्रदेश सरकारले निर्माण गर्ने
-
त्रियुगा क्षेत्रमा गर्मीले जनजीवन प्रभावित
-
मुख्यमन्त्री विजयसँग प्रेम सम्बन्धको भाइरल हल्लाबिच तृषाले तोडिन् मौनता
-
तुलसी अधिकारीको थुनछेक बहस सुरु
-
कोरम नपुगेपछि सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण