चीनसँगको मुख्य व्यापारिक नाका नै बाढीको सिकार, कस्तो होला दसैँको अर्थतन्त्र ?
सारांश
- आर्थिक वर्षको पहिलो ११ महिनामा चीनबाट १६ खर्ब बढीको आयात, रसुवागढी नाकाको मितेरी पुल बाढीले भत्कियो।
- बाढीले पुल भत्काएपछि दसैँका लागि सामान आयातमा समस्या, तातोपानी नाकालाई विकल्पका रूपमा हेरिएको छ।
- पुल मर्मतमा समय लाग्ने र तातोपानी नाकाको संरचना अपुग हुँदा दक्षिणी नाकाबाट सामान ल्याउनुपर्ने अवस्था छ।
काठमाडौँ । आर्थिक वर्ष २०८१/८२ को पहिलो ११ महिनामा नेपालमा कुल १६ खर्ब ४४ अर्ब ७९ करोड रुपैयाँ बराबरका मालवस्तु आयात भए । यसमध्ये चिनियाँ दुई भन्सार कार्यालयबाट मात्रै ३ खर्ब १४ अर्ब ५७ करोड रुपैयाँ बराबरको सामान आयात भएको छ । यसमा पनि रसुवागढी नाकाबाट ८० अर्ब ९१ करोड रुपैयाँ बराबरको आयात भएको छ भने तातोपानी नाकाबाट ४६ अर्ब ८९ करोड रुपैयाँ बराबरका मालवस्तु आयात भएका छन् ।
चीनबाट आयातित उक्त वस्तुको परिमाण हेर्दा कुल आयातको २५.७१ प्रतिशत हिस्सा रसुवागढी नाकाबाट आउने गरेको देखिन्छ भने तातोपानी नाकाको हिस्सा १४.९७ प्रतिशत रहेको देखिन्छ ।
बाँकी करिब ६० प्रतिशत हिस्सा कोलकत्ता हुँदै भारतीय सीमासँग जोडिएका अन्य नाका हुँदै भित्रिने गरेका छन् । चीनसँगै सीमा जोडिएका अन्य भन्सार नाकाहरूबाट पनि सामान्य आयात हुने गरेको भए पनि यसको हिस्सा नगन्य देखिन्छ । त्यसैले चीनबाट प्रत्यक्ष आयातको लागि यो नाका सबैभन्दा प्रमुख नाकाको रूपमा रहेको छ । तर मंगलबार आएको बाढीले मितेरी पुल बगाएको छ । यो पुल भत्किँदा तत्काल मालसामान आयात गर्ने अवस्थाबाट वञ्चित हुनुपर्ने अवस्था देखिएको छ ।
समयमा आयात सुचारु हुने के छ सम्भावना ?
सोमबार गएको बाढीले रसुवागढी नाका क्षतिग्रस्त भएको छ । त्यहाँको पुलदेखि ड्राइपोर्ट र नाका हुँदै काठमाडौँ आउने स्याफ्रुबेँसी–रसुवागढी सडकमा समेत ठुलो क्षति पुगेको छ । त्यसैले अबको केही महिना उक्त नाकाबाट सामान्य रूपमा आयात हुन नसक्ने अनुमान सरकारी अधिकारीको छ ।
खासगरी, बाढीले बगाएको मितेरी पुल निर्माणका लागि सबैभन्दा धेरै समय खर्च हुने अवस्था छ । विगतमा करिब ५ महिनामा पुल बनाइए पनि त्यसको पूर्वतयारीका लागि समय लाग्ने भएकोले आगामी दसैँ तिहारसम्म पुल बन्ने सम्भावना छैन । त्यसो त, व्यापारीहरूले दसैँ तिहारका लागि साउनको सुरुदेखि नै आयातलाई तीव्रता दिने गर्छन् । राष्ट्रिय व्यापार संघका पूर्वअध्यक्ष नरेश कटुवाल दसैँका लागि लत्ताकपडाको आयात अहिलेदेखि नै सुरु हुन थालेको र साउनदेखि यसले झनै तीव्रता पाउने बताउँछन् । यसको अर्थ आयात सुरु हुने समयमै बर्खाले पुल बगाएको देखिन्छ ।

उक्त पुलको विकल्पका लागि उक्त नदीमा बेलिब्रज बनाउनुपर्छ । नेपाली पक्षले बनाउँदा बेलिब्रिजकै लागि करिब तीन महिना समय लाग्ने अवस्था रहेको सडक विभागका प्रवक्ता प्रभातकुमार झा बताउँछन् । हामी इन्स्टलेसनको काम त १५ दिनमै सक्छौं तर फाउन्डेसन बनाउन समय लाग्छ,’ उनले भने ।
त्यसो त, आयातका लागि नदीमा हिमपाइप राखेर अस्थायी पुल बनाउने सम्भावना पनि छ, यस्तो पुल ८/१० दिनमै तयार हुन सक्छ । तर, बर्खा भर्खरै सुरु हुँदै गरेको अवस्थामा यस्तो संरचना बनाउनु झनै जोखिमपूर्ण हुनसक्ने विश्लेषण समेत गरिएको छ । यसो हुँदा दसैँका लागि आयातका लागि यो नाकाको विकल्प खोज्नुपर्ने अवस्था रहेको विज्ञहरूको अनुमान छ ।
दसैँको सामान दक्षिणी नाकाबाटै भित्र्याउनुपर्ने बाध्यता
खासगरी यसको विकल्पको रूपमा तातोपानी नाकालाई हेरिएको छ । रसुवागढीमा पुल बन्नुअघि चीनतर्फको नाकामध्ये सबैभन्दा ठुलो हिस्सा ओगट्दै आएको यो नाकाले अहिले पनि करिब ४६ अर्बको मालवस्तु जाँचपास गर्दै आएको छ । चीनको सिगात्सेबाट केरुङ हुँदै रसुवागढी आउने बाटो निकै छोटो हुुँदा पनि यो नाकाले सर्भाइभ गरिरहनुले पनि यसको महत्त्वलाई उजागर गर्न सक्छ । तर, के यसले रसुवागढीको विकल्प धान्न सक्ला त ? भन्नेबारे चासो छ ।
व्यवसायीहरू कानुनी एवं प्रक्रियागत रूपमा रसुवागढीको विकल्पको रूपमा तातोपानीलाई प्रयोग गर्न कुनै समस्या नरहेको बताउँछन् । ‘हामीले सामान किन्न एलसी खोल्दा पहिले रसुवागढी नाका खोल्थ्यौं, अब तातोपानी भनेर खोल्न सक्छौं, यो बैंकले गरिदिने कुरा हो । त्यसो भयो भने यो नाकाबाट भन्सार जाँचपास गर्न खासै समस्या छैन,’ एक भन्सार एजेन्ट भन्छन् ।
तर, लागत र संरचनागत हिसाबले भने यसमा समस्या देखिन्छ । अहिले तातोपानी नाकाको भन्सार यार्ड निकै साँघुरो छ । नेपालतर्फ मात्रै नभएर खासातर्फको भूभागसमेत केरुङको जस्तो व्यवस्थित छैन । त्यसैले यो नाकाबाट भन्सार जाँचपास हुनुअघि र भइसकेपछि समान राख्न निकै अप्ठ्यारो छ । तातोपानी भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत राजेन्द्र चुँडाल यही कारणले रसुवागढीको सबै सामान तातोपानीबाट आउन नसक्ने बताउँछन् ।

‘हामीले भन्सारको भौतिक संरचना बनाउने भनेको आयातको अनुमानको आधारमा हो । धेरै आयात हुने अनुमान हुँदा ठुलो संरचना बन्छ, भन्सारको लक्ष्य निर्धारण पनि त्यही अनुसार हुन्छ । कर्मचारीको दरबन्दी पनि त्यसैगरी तोकिएको हुन्छ,’ प्रमुख भन्सार अधिकृत चुडाल भन्छन्, ‘यहाँ यसै पनि यार्ड सानो छ, सबै संरचना बन्नुपर्छ । त्यसैले केही वृद्धि हुन सक्ला, सबै धान्न सक्ने अवस्था भने देखिँदैन ।’
त्यसो त, चीनबाट आयात हुनसक्ने अर्को मुख्य नाका भनेको किमाथांका हो । तर, त्यहाँसम्म पुग्ने संरचना र भन्सार संरचनासमेत पूर्ण रूपमा तयार भइसकेको अवस्था छैन । मुस्ताङको कोरला नाका सञ्चालनका लागि तयार भए पनि अहिलेसम्म कालीगण्डकी करिडोर राम्रोसँग सञ्चालन हुन सकेको छैन । उक्त नाकाबाट आउने सामानको हिस्सा अहिले पनि नगन्य छ ।
अर्को हुम्लाबाट तिब्बतलाई जोड्ने हिल्सा नाका केही दिनअघि मात्रै राष्ट्रिय राजमार्गसँग जोडिएको छ । तुलनात्मक रूपमा आफैँमा लामो रहेको सडक काठमाडौं केन्द्रित आयातका लागि त्यति उपयुक्तसमेत मानिँदैन । त्यसो त, कर्णाली करिडोरको अवस्था अहिले पनि जीर्ण नै छ, हुम्ला क्षेत्रको नाकामा अझै पनि सडक स्तरोन्नतिको काम बाँकी नै छ । यस्तो अवस्थामा नेपाल चीन जोड्ने नाकाबाट यसको प्रतिस्थापनको सम्भावना निकै कम देखिन्छ ।
यी सबै कारण यसपालिको दसैँका लागि हुने आयातको विकल्प फेरि पनि कोलकत्ता बन्दरगाहबाहेक नरहेको व्यवसायीहरू बताउँछन् ।
दक्षिणी नाकाबाट ल्याउँदा कस्तो हुन्छ असर ?
तर, यसरी समान ल्याउँदा तुलनात्मक रूपमा धेरै समय लाग्छ । यसले आयातकर्ता व्यापारीको लागत बढ्छ । खासगरी लामो ल्याउने समय धेरै लाग्दा बैंकको ब्याज, ढुवानी तथा गोदाम भाडालगायत वृद्धि हुन जान्छ । यसले गर्दा बजारमा आइपुग्ने सामान केही महँगो हुने सम्भावना छ ।
यद्यपि बजारमा टिकाउ सामानको अभाव हुने सम्भावना भने हुँदैन । अहिले सामानका आयातका लागि तयारी गर्दै गरेको अवस्थामै पुल क्षतिग्रस्त भएकोले वैकल्पिक बाटोबाट समान ल्याउन सक्ने सम्भावना प्रशस्त छ । एक महिनापछि बाढी आएको अवस्थामा भने यो सम्भावना समेत कम हुन्थ्यो । यो अवस्थामा दसैँकेन्द्रित बजारमा पर्याप्त सामान नै नपाउने अवस्था हुन सक्थ्यो ।
यद्यपि कम टिकाउ वस्तुको अभाव तथा मूल्यवृद्धि हुने सम्भावना भने छ । खासगरी उपभोग्य वस्तु आलु, प्याज, फलफूललगायत वस्तुको मूल्यमा यसले असर पार्ने अवस्था देखिन्छ ।

नाका परिवर्तनको सम्भावना कति ?
अहिले रसुवागढी ड्राइपोर्टमा आइपुगेका सामानहरू धेरैजसो बाढीले बगाएको देखिन्छ, यद्यपि यसको एकीन तथ्यांक आउनै बाँकी छ । तर, त्यसैगरी केरुङ लगायत चिनियाँ भुभागमै रहेर नेपाल भित्रिन तयार भएको सामान पनि कति छ भन्ने यकिन छैन । तर, त्यस्ता सामान कसरी भित्रिन्छन् भन्ने अर्को समस्या छ ।
रसुवागढी नाका नजिक आइसकेका सामानलाई नेपाल भित्र्याउने सबैभन्दा सजिलो विकल्प भनेको तातोपानी नै हो । यद्यपि यसका लागि केही प्रक्रिया मिलाउनुपर्ने हुन्छ । खासगरी बैंकको एलसीमा खोल्दा रहेको नाकालाई परिवर्तन गरी तातोपानी कायम गरेर यसलाई ल्याउन सकिन्छ ।
यद्यपि एउटा नाकाबाट अर्को नाकासम्म पुग्न चिनियाँ भूमिमा करिब १० घण्टाको समय लाग्ने अवस्था रहेको देखिन्छ । तातोपानीका भन्सार प्रमुख चुँडाल भन्छन्, ‘उताबाट पास हुन नसकेर आउने कन्टेनरको जाँचपास गर्न यता आएको अवस्थामा हामीलाई जाँचपास गर्न कुनै समस्या छैन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक सातापछि मृत्यु जितेर फर्किएका दावा शेर्पा, तस्बिरहरू
-
विज्ञहरूको पर्याप्त सुझावविना विधि विज्ञान प्रयोगशाला विधेयक अघि बढ्दैन: मन्त्री पोखरेल
-
भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० जना घाइते
-
राजेन्द्र लिङ्देनले पार्टी छोड्न बाध्य बनाएको धवलशमशेरको आरोप
-
नेपालगञ्जमा चराचुरुङ्गी बचाउ अभियान
-
स्थलयुद्धमा प्रगति हुन नसकेपछि युक्रेनमाथि हवाई आक्रमण तीव्र बनाउँदै रुस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण